arrow

नारद मुनीले किन भोग्नुपर्यो नर्क ?

logo
गुरुशिष्य,
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
narada-muni.jpg

काठमाडौं।  एक समय नारद मुनी वैकुण्ठबाट फर्किने क्रममा भुलवस वीणा विर्सिए। वाटोमा सम्झिए वीणा त त्यहि छोडियो। वीणा लिन नारद मुनी वैकुण्ठ पुग्दा उनी छक्क परे। जहाँ जहाँ नारद मुनीको पैतला परेको थियो त्यहाँको माटो फालिदै गरेको देखेर नारद सोचमग्न भए।

नारद मुनीले सोचे- 'म त शास्त्रहरुको ज्ञाता हुँ । हरेक समय म भगवानको गुणानुवाद गरि रहन्छु । भगवानको दर्शन र प्रत्यक्ष वार्ता गर्ने सौभाग्य पनि मलाई प्राप्त छ । तर पनि यी प्रभुका दूत जहाँ जहाँ मेरो पैतला परेको छ  त्यहाँ त्यहाँको माटो हटाइ रहेका छन् बडो विचित्रको कुरा छ ।' नारदले भगवानसँग सोधे,' म यति निच त होइन कि जहाँ जहाँ मैले चरण राखेको छु त्यहाँको माटो अपिवित्र भएर होकी किन यसरी उठाइदै छ ?'

भगवान भन्नुहुन्छ,' नारद जी ! यी सबै ठिक छ तपाई बडो विद्वान हुनुहुन्छ, तपाईले अनेकौ शास्त्र पढ्नुभएको छ तर तपाईले केवल पढेको मात्र हो, त्यसको मर्मलाई जान्नु भएको छैन किनभने तपाई अहिले पनि निगुरे हुनुहुन्छ । तपाईले अहिलेसम्म गुरु बनाउनु भएको छैन ।

नारदले भने, ' महाराज ! कुरा यस्तो हो भने म गुरु बनाउछु।  गुरु बनाउन के समय लाग्छ ?'

भगवानले भन्नुभयो, 'विचार गर्नुहोस तपाईलाई त धेरै अहंकार छ, मैलै सारा शास्त्र पढे, भगवानसँग कुराकानी गरे भनेर तपाई कसरी झुक्नुहुन्छ अर्काको चरणमा ?'

नारदले भने, 'होइन प्रभु मैले निश्चय गरे गुरु बनाउनेछु । यदि निगुरा रहनाले मलाई अपवित्र सम्झिन्छ भने भोली नै म गुरु बनाउने छु ।'  उनले प्रभु सामु संकल्प गरे ।

अर्को दिन विहान नारदमुनी उठे प्रभुको वन्दना गरे, निधारमा चन्दनको लेप लगाएर शुद्ध भावबाट निस्किए, जुन व्यक्तिको सबैभन्दा पहिला दर्शन हुनेछ त्यसलाई गुरु बनाउनेछु । प्रभुको केहि यस्तो लिला भयो कि नारद अघि बढ्दै जादा जाल काँधमा बोकेर आइरहेको एक मछुवारासँग भेट भयो ।

नारदले भने, 'ओहो ! यो त गज्जब भयो म यती विद्वान र मेरा गुरु मछुवारा !' तर उनले संकल्प लिइसकेका थिए । उनि  ठिकै छ भन्दै मछुवारा सामु पुगे, प्रणाम गरे र भने, 'महाराज आजदेखि तपाई मेरो गुरु हुनुभयो । कृपा गरेर मलाई आत्मज्ञान प्रदान गर्नुहोस ।'

मछुवारा भन्छन्,' नारदजी तपाई मसँग के ठट्टा गर्नुहुन्छ । कहाँ म एक मछुवारा र कहाँ तपाई यती ठुलो विद्वान ।'  

नारदले भने, 'महाराज म तपाईलाई नै गुरु धारण गर्छु ।'

निकै लामो अनुनय विनय पछि मछुवाराले गुरु बन्न स्विकार गरेर नारदमुनलाई आत्मज्ञान प्रदान गरे । ज्ञान पाएर नारदमुनी निकै खुशी भए । उनले सोचे,'अब म जहाँ पनि जानेछु कम्तिमा त्यहाँको माटो त फालिने छैन ।'

नारद जब वैकुण्ठमा पुगे तब भगवानले भन्नुभयो,' नारद जी आज त निकै प्रशन्न हुनुहुन्छ ।'

नारद मुनिले भने,'प्रभु आज मैले गुरु बनाए अब तपाईको दूतले कष्ट गर्नुपर्ने छैन माटो निकाल्न ।'

भगवानले भन्नुभयो, 'ठिक छ राम्रो भएछ । कस्तो हुनुहुन्छ तपाईको गुरु ?'
नारदले भने, 'महाराज गूरु त ठिक ठाक हुनुहुन्छ आत्मज्ञान पनि उहाँबाट मिल्यो तर मछुवारे हुनुहुन्छ ।' नारदले गुरुमाथि 'तर' शब्दको प्रयोग गरे ।

भगवान विष्णुले भन्नुभयो, 'यो त राम्रो भएन तपाईले गुरुमाथि तर लगाउनुभयो । यसको तपाईले प्रायश्चित गर्नुपर्नेछ । यसका लागि तपाईले नर्क भोग्नुपर्नेछ ।'

नारद दु:खी भए, उदास बनेर साँझ फर्किदै गर्दा गुरुलाई बाटोमा देखे । गुरुले भने, 'नारद जी गुरु बनाएर त मानिसहरु खुशी हुन्छन् तिम्रो त यस्तो अनुहार भएको छ कि रुन लाग्नु भएको छ, कुरा के हो ?'

नारदले गुरुमहाराजलाई सवै वृतान्त बताए र भने, 'मैले नर्क भोग्नुपर्नेछ यो जानेर उदास छु ।' गुरुले भने,' खैर गल्ती त तपाईले गर्नुभयो तर म तपाईलाई यसबाट बच्ने उपाय बताउँछु ।' गुरुले नारदलाई नर्कबाट जोगिने उपाय बताए ।'

अर्को दिन नारद वैकुण्ठ गएर विष्णु भगवानलाई भने,' प्रभु तपाईले भन्नुभएको थियो कि मैले नर्क भोग्नुपर्नेछ म तयार छु तर यति कृपा गर्नुहोस कि नर्क कस्तो हुन्छ मलाई त्यसको नक्सा दिनुहोस ।' भगवानले नक्सा बनाएर देखाउनुभयो । जसै नर्कको नक्स बनाइयो नारदजीले नक्साको बिचमा गएर बसेर भने,' हे भगवान यो नक्साको नर्क पनि तपाईले नै बनाएको हो  । त्यो नर्क पनि तपाईले नै बनाएको हो । अत: म नर्कमा आए, मैले नर्क भोगे ।'

भगवान विष्णु मुस्कुराउदै भन्नुभयो, 'पक्कै तिम्रो गुरुले यो तरिका सिकाएको हुनुपर्छ ।'

यस प्रकार नारदको माध्यमबाट पनि हामीलाई यो शिक्षा मिल्छ कि हामीले जीवनमा गुरु धारण गर्नुपर्छ । जहाँसम्म बाहिरी संसारिक विद्याहरुको प्रश्न छ ती सबै बुद्धिसँग सम्बन्धित छन् । संगीत, शास्त्र, वेद, मीमांसा, श्रृति, स्मृति आदि जति चिज छन् यिनीहरुको सम्बन्ध मस्तिष्कसँग छ । तर ज्ञानको सम्बन्ध आत्मासँग छ । यसकारण चाहे हामी विद्वान,अनपढ जस्तै भए पनि आत्मकल्याणार्थ हामीले सद्गुरु प्राप्त नै गर्नुपर्नेछ । जीवनमा गुरु धारण गर्नुपर्नेछ  ।

महात्मा कबीरलाई पनि गुरु बिना ज्ञान हासिल भएन । शिवाजी मराठा शुरबीर थिए तर समर्थ रामदास विना उनलाई ज्ञान प्राप्ति भएन । महर्षी दयानन्द जसको नाम मूलशंकर थियो उनलाई पनि ज्ञान प्राप्तिको लागि स्वामी बिराजानन्द भएको ठाँउमा जानु पर्‍यो ।  किनकि आत्मज्ञान कुनै मृतक बस्तु, कुनै पढ्ने बस्तु होइन यो त एक जीवित चिज हो । आत्माको सास्वत अनुभुति हो । जुन समयको महापुरुषबाट प्राप्त हुन्छ ।



नयाँ