- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चांग
आज मिति २०७७ कात्तिक १८ गते मंगलबार, इस्वीसंवत नभेम्वर ३ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्ण पक्ष चलिरहेको छ ।
सौरमान अनुसार आज कात्तिक कृष्णपक्षको तृतीया तिथि रहनेछ । आज कृत्तिका नक्षत्र, विष्कुम्भादि योगमा वरियान, करणमा वणिज, आनन्दादि योगमा मातंग रहनेछ ।
सूर्य तुला राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान २७ घटि २९ पला अर्थात ११ घण्टा ४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर १५ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १६ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेषः समय खराब रहनेछ । आज चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । सडे गलेको बासी खाना होटलमा नखानुहोला । पिसाव सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ ।
वृषः समय अत्यन्त शुभ रहनेछ । आज ज्यादै फाइदाको रहेकोछ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका आजै राम्रो हुनेछ ।
मिथुनः समय खराब रहनेछ । गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँ पेशाको थालनीको लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । कुनै पनि काम गर्दा सतर्क रहनु आवश्यक छ ।
कर्कटः समय शुभ छ । स्वास्थ्य पनि भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । वृहस्पति ग्रह मजवुत रहेकाले मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । समयको सही सदुपयोग गर्नुहोला ।
सिंहः समय मध्यम खालको छ । अरुलाई जति राम्रो गर्छु भने पनि जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुने, आफन्त मानिएका व्यक्तिको विरोधले कतिपय कामहरू अधुरो रहनेछन् । जताबाट पनि खर्चमात्रै हुने, यात्रामा समस्या हुने अवस्था रहेको छ ।
कन्याः समय खराब रहनेछ । अनावश्यक कार्यमा खर्च गर्न मन लाग्ने, निरासका भावना मनमा उठ्नेछन् । पति–पत्नीबीच मनमुटाव हुन सक्नेछ । आम्दानी भन्दा खर्च बढी हुनाले पारिवारिक तनाव बढ्न सक्नेछ । गरेको कामबाट जस पाइनेछैन ।
तुला स्वास्थ्य राम्रो रहनेछैन । स्वास्थ्यमा एक्कासी समस्या आउनेछ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ ।
वृश्चिकः स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमप्रस· सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ । आज ४ बजेपछि भने समय खराब रहने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा सतर्क हुनुहोला ।
धनुः समय राम्रै रहनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ ।
मकरः समय खराब छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन निकै सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्च गनुपर्नेछ । दिनमा ४ बजेपछि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।
कुम्भः समय खराब नै रहनेछ । पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ । प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन्। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। दिनमा ४ बनेपछि विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ ।
मीनः आज केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ । मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन् । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अरूको करकापमा गरिएको कामसमेत लाभदायी बन्न सक्छ ।
साइतः चन्द्रमा वृष राशिमा छन् त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ६ः१५ बजेदेखि ७ः३८ बजेसम्म रोग बेला
बिहान ७ः३८ बजेदेखि ९ः०१ बजेसम्म उद्धेग बेला
बिहान ९ः०१ बजेदेखि १०ः२४ बजेसम्म चर बेला
बिहान १०ः२४ बजेदेखि ११ः४७ बजेसम्म लाभ बेला
बिहान ११ः४७ बजेदेखि १ः१० बजेसम्म अमृत बेला
दिनमा १ः१० बजेदेखि २ः३३ बजेसम्म काल बेला
दिउँसो २ः३३ बजेदेखि ३ः५६ बजेसम्म शुभ बेला
दिउँसो ३ः५६ बजेदेखि ५ः१९ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)