arrow

बाँकेमा अपराधिक समुहमा संलग्न एक दर्जन व्यक्ति पक्राउ

logo
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
police-banke.PNG

नेपालगञ्ज । बाँके प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न एक दर्जन व्यक्तिहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरी पछिल्लो तिन दिनयता पक्राउ परेका ब्यक्तिहरुलाई सार्वजनिक गरेको हो ।

त्यस क्रममा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले रेडपाण्डाको छाला, ठगीधन्दा र लागूपदार्थ कारोबारमा संलग्न ब्यक्ति तथा तिनीहरुको साथबाट बरामद गरिएका अबैध सामग्रीको विवरण सार्वजनिक गर्नुभएको थियो । प्रहरीले नागमणि उपलब्ध गराउने भनी ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका १७ का माधव प्रसाद घिमिरेलाई नागमणि उपलब्ध गराउने भनी १ करोड ८९ लाख ५० हजार असुल गर्ने दैलेख नौमुलेका ३५ वर्षीय धनबहादुर रोका, सल्यान कुमाखका ३१ बर्षीय कृष्ण शाह र सल्यान शारदा नगरपालिकाका ३० बर्षीय डिल्ली बहादुर बोहोरालाई पक्राउ गरिएको रानाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई गत शनिबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बाट नगद ४० लाख रुपैयाँसहित नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

त्यस्तै प्रहरीले आइतबार बाँके र दाङको सीमाना शिवखोलाबाट ३ किलो लागूऔषध अफिम बरामद गरेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्जको संयुक्त टोलीले ३ किलो लागूऔषध अफिम सहित पक्राउ परेका ब्यक्तिलाई मंगलबार सार्वजनिक गरिएको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बाँकेको राप्तीसोनारी गाउँपालिका १ शिवखोलामा शंकास्पदरुपमा बसिरहेका रुकुमको सानीभेरी गाउँपालिका ८ का २७ बर्षीय चन्द्र प्रकाश वलीबाट उक्त परिमाणमा लागूऔषध बरामद गरेको हो । पक्राउ परेको वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

यसैगरी कोहलपुर बसपार्कबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित पक्रउ परेका ४ जनालाई पनि मंगलबारै सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले कोहलपुर ११ बसपार्कको न्यू राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार सादा पोशाकमा ग्राहक बनेर गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सुर्खेत बराहताल ५ वस्ने गणेश नेपाली, सोही ठाउँ बस्ने लाल बहादुर नेपाली, दैलेखको चामुण्डा बिन्द्रासैनी ५ वस्ने दिनेश कार्की र सोही ठाउँ वस्ने उमेश बहादुर थापालाई २ फिट २ इन्च लम्बाई भएको दुर्लभ वन्यजन्यु रेडपाण्डाको १ थान छाला फेला पारी नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक रानाले बताए ।

त्यस्तै पत्रकार सम्मेलनमा ब्राउनसुगरसहित पक्राउ परेका ब्यक्तिहरुलाई समेत सार्वजनिक गरिएको थियो । हिजो दिउँसो पौने १ बजे नेपालगञ्ज उपमहानगरपालिका १३ मा रहेको किसान इट्टाभट्टा नजिकबाट २२ ग्राम ब्राउनसुगर सहित नेपाली तथा भारतीय ४ युवा पक्राउ परेका थिए । पक्राउ पर्नेमा भारतको बहराइच रुपैडिहा थाना बस्ने वर्ष १८ को जुगिन्दर सोनी, सोही ठाँउ बस्ने वर्ष २९ को राकेश सोनी, बाँकेको खजुरा गाँउपालिका १ बस्ने वर्ष १९ को विष्णु थापा क्षेत्री र नेपालगंज उपमहानगरपालिका २ घरबारीटोल बस्ने वर्ष २५ को सागर थापा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ