arrow

शिक्षक र प्रतिष्ठानमा कार्यरत रेडियोग्राफरको संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
bp-hospital.jpeg

राजविराज । कोरोना संक्रमणबाट सप्तरीमा थप दुई पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका-४ बस्ने ५८ वर्षीय पुरुषको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको छ  ।

मोरङ्गमा  जिल्लामा शिक्षण पेशामा कार्यरत उनलाई ज्वरो आउने, टाउको दुखेपछि विराटनगरस्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सो क्रममा परीक्षण गराउँदा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको  थियो  । त्यही उपचारको क्रममा  मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए । लामो समयदेखि मधुमेह, उच्च रक्तचापबाट पीडित उनलाई मिर्गौलामा असर भएका कारण अस्पतालमा भर्ना गरिएको थियो  ।

यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर सप्तरी निवासी ३० वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिका-६ निवासी ती पुरुषको सोमबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए  । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै आकस्मिक कक्षमा भर्नासँगै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

दुवै शवको  व्यवस्थापनको तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  । योसँगै सप्तरी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको जनाइएको छ । 



नयाँ