arrow

चित्तल बोकेर राजमार्गमा हुइकिदै गर्दा शम्भु बुढाथोकी पक्राउ, छुटाउन दवाव

logo
विवेक मिश्र,
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
dead-buck-dear.jpg

बेलबारी। मोरङको पथरीमा व्यवसाय गर्दै आएका व्यवसायी शम्भु बुढाथोकीले गाडीमा वन्यजन्तु चित्तल बोकेर हुइकिदै गर्दा पक्राउ परेका छन् । बुढाथोकीले मंगलवार कानेपोखरी-७ स्थित लोकमार्गबाट वन्य जन्तु चित्तलाई आफ्नो गाडीमा राखेर पथरीतर्फ हुइकिदै गर्दा कानेपोखरी र पथरीशनिश्चरेको सिमानास्थित मोरङगी खोलाको पुलमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीका अनुसार मंगलवार अन्दाजी दिनको १२ः४० बजेको समयमा प्राप्त सुचनाका आधारमा बुढाथोकीले चलाएको प्रदेश १-०२००२ च ३७०० नं. को कालो महेन्द्रा (जिप) गाडीमा राखेर ल्याउदै गरेको खबर प्राप्त भएपछि उनी सहित गाडीलाई नियन्त्रणमा लिइएको हो। आवश्यक कानुनी कार्वाहीका लागि कानेपोखरी सव-डिभिजन वन कार्यालय कानेपोखरीलाई जिम्मा लगाएको गिरीले बताए ।

पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ भने बुढाथोकीलाई आवश्यक पुर्पक्षका लागि सब डिभिजन बन कार्यालय बेलवारीमा राखिएको छ । ३ वर्ष उमेर अनुमान गरिएको चित्तलको तौल करिब ४० केजी जति भएको सब डिभिजन वन कार्यालय कानेपोखरीका अधिकृत तुलसीलाल यादवले बताए । मृत चित्तलको बुधवार पोष्टर्माटम गरेपछि थप कुराहरु बाहिर आउने यादवले बताए ।

बुधवार आवश्यक कागजात पुरा गरी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाइने र बुढाथोकीलाई वन्यजन्तु चोरी सिकारी अन्तर्गत मुद्धा चल्ने यादवको भनाइ छ । तर बुढाथोकी पक्राउ परे लगतै उनलाई छुटाउन र नियन्त्रणमा नलिन स्थानिय स्तरदेखी प्रदेश स्तरसम्मका जनप्रतिनिधि र पार्टीका नेताहरुको फोन आउन थालेको यादवले बताए । कानुनी प्रकृया अनुसार कार्वाहीका लागि आफ्नो तर्फबाट कुनैपनि कसुर बाँकी नराख्ने यादवले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ