arrow

ओरियन्टलबाट ४ अर्व कसरी उठाउने; पीडितले गरे बालुवाटार घेराउ

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
PM-Niews,-baluwatar.jpg.jpeg
काठमाडौँ। ओरियन्टल सहकारी संस्था लिमिटेडबाट पीडित निक्षेपकर्ताले आफ्ना माग पूरा गराउन दबाब दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन्। 
 
आज बिहान ८ बजेदेखि निषेधित क्षेत्र बाहिर धर्नामा बसेका ओरियन्टल पीडितले अपराह्न ५ बजेसम्म धर्ना जारी राख्ने बताएका छन् । 
 
निक्षेप रकम फिर्ताको माग गर्र्दै सहकारी पीडित महिला हकहित संरक्षण समितिले गत वैशाख २० देखि जेठ १० गतेसम्म सहकारी विभागको परिसर नयाँ बानेश्वरमा रिले अनशनसमेत गरेको थियो । 
 
नयाँ सहकारी ऐन पारित हुने प्रक्रियामा रहेको परिस्थितिमा ऐनको व्यवस्था यथाशीघ्र कार्यान्वयनमा ल्याई पीडित पक्षको माग सम्बोधन गर्न मन्त्रालय प्रतिबद्ध हुनेलगायतका विषयमा समिति र सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच दुई बुँदे सहमति भएको थियो । 
 
समितिले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनअनुसार आफूहरूलाई सम्बोधन हुने गरी व्यवस्थापन समिति गठन गर्न माग गरेका छन् । 
 
पीडितले ओरियन्टलका पदाधिकारी, सदस्य र उच्च कर्मचारी तथा तिनका परिवार र नातेदारका नाममा रहेको सम्पत्ति छानबिन गरी सरकारी नियन्त्रणमा लिनुपर्ने माग गरेको समितिका संयोजक कुन्तीदेवी पोख्रेलले बताउनुभयो । 
 
संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष लगानी गरेका परियोजना, जग्गा, हाउजिङ, अपार्टमेन्ट र अग्नि एयरलाई सरकारी आयोजनामा परिणत गरी सरकारले नै बिक्री गरी निक्षेपकर्ताको बचत फिर्ता गर्नुपर्ने पीडितको माग छ । 
 
विसं २०५३ मा दर्ता भई सञ्चालनमा आएको ओरियन्टलले २०६९ साल साउनदेखि करिब ११ हजार बचतकर्ता तथा निक्षेपकर्ताको झन्डै रु चार अर्ब साँवा तथा ब्याज भुक्तानी दिन सकेको छैन । अस्वच्छ प्रतिस्पर्धात्मक होडबाजी, उचित नियमनको अभाव, उद्देश्य विपरीत अनावश्यक क्षेत्रमा लगानी र बिनाधितो ऋण प्रवाहलगायतका कारण ओरियन्टल धरासायी बन्नपुगेको संयोजक पोख्रेलको भनाइ छ । 
 
ओरियन्टल सहकारीमा चर्काे ब्याज पाउने आशामा सर्वसाधारणले रु पाँच लाखदेखि रु १९ करोडसम्म बचत गरेका थिए । सरकारले यसअघि अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल र राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी संयोजकत्वमा छानबिन आयोग गठन गरे पनि समितिका प्रतिवेदन कार्यान्वयनमा उदासीन देखिएको पीडितको गुनासो छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ