arrow

अतिवादतिर ट्रम्प र उनका समर्थक

logo
प्रकाशित २०७७ कार्तिक २२ शनिबार
election-usa.jpg

काठमाडौं । विश्वलाई हाँक्ने हैसियत राख्ने व्यक्तिको चुनाव चानचुने हैन । त्यसैले पनि अमेरिकी राष्ट्रपतिको चुनावले विश्वकै ध्यान खिच्छ । दुर्भाग्य यसपटकको चुनावमा वर्तमान राष्ट्रपति एवं नयाँ राष्ट्रपतिको निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले अतिवाद अंगाले । 

उनले जारी मतगणना प्रक्रियालाई नै दोषी देखाए । हुनत उनले मतदान हुनुभन्दा अघिदेखि नै मतदानको प्रक्रियालाई विश्वास गरिरहेका थिएनन् । हुलाकबाट मतदान दिँदा दुरुपयोग हुने बताइरहेका थिए । 

तर जो पदमा हुन्छ उसैले हो चुनाव गराउने । आफैले चुनाव गराउँदा पनि उनी त्यसलाई विश्वासको आधार मान्न तयार छैनन् भने त्यसले दिने परिणाम के हुन्छ । 

रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका ट्रम्पले यसअघिका बहसमा पनि आफूले हारेमा नतिजा नस्वीकार्ने बताएका थिए । डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले भने मतदाताले दिएको मतले आफूलाई पराजित गरे हार स्वीकार्ने बताएका थिए । 

ट्रम्प अहिले पनि हार स्वीकार्न तयार छैनन् । जबकि जनमत उनीभन्दा निकै टाढा पुगेको छ । बाइडेन जित नजिक पुगेका छन् । ट्रम्पले शुक्रबार बिहान ह्वाइटहाउसमा पत्रकार सम्मेलन गर्दै मतगणना प्रक्रियामाथि प्रहार गरे । 

उनले वैध मतमात्र गणना गरे आफूले जित्ने दावी गरे । मत पनि वैध र अवैध भन्ने हुन्छ र ? आफै राष्ट्रपति भएका व्वक्तिले मेलबाट गर्ने भोटले अमेरिकी सिष्टमलाई नै ध्वस्त पार्ने प्रक्रिया दिए । जबकि उनी त्यही प्रक्रियाबाटै राष्ट्रपति बनेका हुन् । 

यो प्रणालीलाई उनले भ्रष्ट प्रणाली पनि भन्न भ्याए । यसले मानिसलाई पनि भ्रष्ट बनाउने बताए । उनले ७० वटाभन्दा बढी ट्वीट त मतदानको पद्धतिमाथि प्रहार गरी पोष्ट गरेका थिए । 

तर उनले यो प्रणाली भ्रष्ट भएको एउटा पनि प्रमाण पेश गर्न सकेनन् । उनले शुक्रबार बिहान १७ मिनेट गरेको भाषणमा आधारविहीन तरिकाले निरन्तर निर्वाचन प्रणालीमाथि प्रहार गरे । 

आफूले जित्नेबाहेक अरु केही कुरा गरेनन् । उनले बोलेका कुनै पनि कुरामा आधार नभएकाले अमेरिकी तीन टेलिभिजनले प्रत्यक्ष प्रसारण नै रोकेका थिए । 

अमेरिकालाई विश्वकै सबैभन्दा लोकतान्त्रिक देश मानिन्छ । प्रजातन्त्रको उदय नै अमेरिकाबाट भयो भनिन्छ । अमेरिका प्रजातन्त्रका लागि उदाहरणीय राष्ट्र हो । 

त्यहाँको मतदान प्रक्रियालाई पनि सबैभन्दा उत्तम मानिन्छ । चुनावी घोटाला अमेरिकामा सबैभन्दा कम भएको मानिन्छ । सन् २०१७ मा ब्रेन्नान सेन्टर फर जस्टिसले गरेको अनुसन्धानअनुसार अमेरिकामा चुनावी धोकाधडी हुने सम्भावना ०.०००९ प्रतिशत भन्दा कम हुन्छ । 

तर राष्ट्रपति आफैले धोकाधडी हुन्छ भनेर भनिदिए । सामान्यतया यो आरोप प्रतिपक्षी पार्टीले लगाउने हो । तर सत्तारुढ दलले यसरी लगाएको आरोपले अमेरिकामा प्रजातन्त्रमाथि प्रहार भएको रहेछ भन्ने पनि केन्द्रीत गरिरहेको त हैन । 

चुनावमा जित हार हुन्छ । त्यो स्वभाविक प्रक्रिया हो । फेरि यसपटक कोरोना भाइरसको महामारी नियन्त्रणमा अमेरिका असफल भएको भन्दै ट्रम्प प्रशासनको चर्को आलोचना भएको छ । 

ट्रम्प आफै पनि अनुदार राष्ट्रपतिका रुपमा परिचित छन् । उनले लोकतन्त्रमाथि धावा बोल्ने क्रममा मतदानको अन्तिम दिनअघि नै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरे । त्यो आचार संहिता भन्दा धेरै परको कुरा हो । 

आफूले जे गर्यो त्यो ठीक र आफू प्रतिकुल हुने कुनै पनि कदम बेठीक भन्ने अतिवादी प्रवृत्ति हो । त्यसको जवाफ अमेरिकी जनताले मतदानमार्फत दिएका छन् । 

ट्रम्पले मतगणना रोक्नका लागि अदालतमै निवेदन दिए । पुनः मतगणना गर्नका लागि पनि निवेदन पर्यो । त्यतिमात्र हैन ट्रम्पका समर्थकहरुले झण्डा विक्रीमा भनी आन्दोलन गरे । सडकमा उत्रिए । 

जुन देशबाट विश्वले धेरै अपेक्षा गर्छ त्यही देशमा एक राष्ट्रपतिले गरेको विध्वंसात्मक शैलीले अब अरुले सिक्न बाँकी केही भएजस्तो लाग्दैन । 

जसले हुलाकमार्फत मतदान गर्ने प्रक्रिया गलत भन्छ ऊ स्वयंले हुलाकमार्फत नै भोट खसालेको छ । राष्ट्रपति ट्रम्पले फ्लोराडाबाट मतदान गरेका हुन् । 

फेरि त्यस्ता मत कसरी एकतर्फी भए ? विविध प्रश्न उब्जाइदिएका छन् ट्रम्पले । उनका छोराले त ट्रम्पलाई युद्धस्तरमा उत्रन आव्हान नै गरे । 

समर्थकहरुले ठाउँठाउँमा प्रदर्शन गरे । मतगणना चलिरहँदा भएका ती प्रदर्शन भद्दा खालका थिए । विधिको शासनकलाई स्थापित गर्नका लागि पनि ट्रम्पले हार स्वीकार गर्न सक्नुपर्दथ्यो । (एजेन्सीको सहयोगमा)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ