- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीलाई दशैं तिहार लगायतको चाडवाडको बेला प्रदेश सरकारका तर्फबाट गिफ्ट दिइएको छ । प्रदेश सरकारले सभामुखलाई गिफ्ट पनि सानोतिनो हजार वा लाखको नभइ करोडकै दिएको छ । दुई गाडी उपयोग गर्दै आएका सभामुख घर्तीलाई चाडवाडको उपहारको रुपमा तेस्रो सवारी सवारी साधन उपलव्ध गराइएको छ । अब उनको ग्यारेजमा गाडीका ताती देख्न सकिने भएको छ । सभामुख घर्तीले दशैं तिहारको मौका पारी थपेको समेत गरि ३ वटा महङ्गा सवारी साधनले उनको क्वार्टरको ग्यारेजको ठाउँ साँघुरो भएको छ ।
कोरोना भाईरसका कारण जनजीवनसँगै अर्थतन्त्र नै धरापमा परेको बेला सभामुख घर्ती भने नयाँ सवारी साधन चढ्नै रमाइरहेका छन् । उनले भर्खरै स्कोडा गाडी आफ्नो सवारीको तातीमा थपेका हुन् । सभामुख घर्तीको विलासी जीवनको अहिले प्रदेशभरी चर्चा हुने गरेको छ । गरिव तथा निमुखा वर्गको उत्थानका लागि भनेर सशस्त्र द्वन्द्धका बेला खटिएका योद्धाका प्रतिनिधी घर्तीको विलासी जीवनको बारेमा पूर्व माओवादीकै कार्यकर्ताहरु पनि कुरा काट्ने गर्छन । सभामुख घर्तीसँगै अहिले नेकपा नेतृत्वको सरकारका मन्त्रीहरु सबै एक पछि अर्काे सुविधाको मोहमा फस्दै गएका छन् ।
‘फोर्ड’ र ‘टाटा’का गरी २ वटा गाडी प्रयोग गर्दै आएका सभामुख घर्तीलाई कोरोना भाईरस महामारीकै बीच राज्यकोषबाट पुन.१ करोड रुपैयाँमा ‘स्कोडा’ गाडी किनिएको छ । प्रदेश सभा सचिवालयका स्टोरकिपर दिपेन्द्र पन्थीका अनुसार बा १ झ २२८४ नम्बर टाटा र बा १ झ ९७२९ नम्बरको फोर्ड गाडी प्रयोग गर्दै आएका सभामुख घर्तीलाई हालै प्रदेश ३–०१–००२ झ ५२४४ नम्बरको स्कोडा गाडी ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा खरिद गरि दिइएको छ ।
प्रदेशसभाका सभामुखलाई तेस्रो गाडी किनिएको बिषयमा प्रदेशसभाका सुचना अधिकारी दिनेश अधिकारीले आफु अहिले विदामा रहेको भन्दै सभामुखले गाडी किनेको आफुलाई आधिकारिक रुपमा जानकारी नभएको उल्लेख गरेपनि, तर संसदमा एउटा नयाँ सवारी साधन किनिएको भने बताए । उनले, सो विषयमा प्रदेशका प्रवक्ता श्याम प्रसाद श्रेष्ठलाई जानकारी हुनसक्छ भन्दै, पन्छिए ।
यता प्रदेशका प्रवक्ता श्रेष्ठले आफुलाई केहि जानकारी नभएको वताए । एउटा मन्त्री वा सभामुखले कति वटा सवारी प्रयोग गर्न पाउँछ ? यो आवश्यक्ता होकी, वाध्यता भन्ने जिज्ञासामा आफुलाई कानुनी कुराको ज्ञान नभएको जनाउँदै, सुचना अधिकारीलाई सोध्नुपर्ने भन्दै पन्छिए ।
प्रदेश सभा सचिवालयका लागि चालु आर्थिक वर्ष २०७७/०७८ मा सवारी साधन खरिदका लागि ५७ लाख ५० हजार रुपैयाँ छुट्ट्याईएको जनाईएको छ । हाल ३ वटै गाडी चालू अवस्थामा रहेको प्रदेश सचिवालयको स्टोर किप्पर शाखाले जनाएको छ ।