arrow

कोरोना महामारीमा काम गरेको रकम नदिएपछि चिकित्सकहरुले दिए राजिनामा

logo
नारायण वली,
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
butwal-corona-hospital.jpg

रुपन्देही । बुटवलमा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना मेडिकल अफिसरहरु जोखिम मोलेर गरिएको कामको मुल्याङ्कन नहुँदा अन्ततः जागिर छोड्न वाध्य भएका छन् ।आफूहरुले जोखिम मोलेर काम गरेको कामको मूल्याङकन नगरिएको र ३ महिनादेखि कुनै हिसाव गर्ने चासो पनि नदेखाइएपछि राजिनामा दिएको उनीहरुले जनाएका हुन् । 

सरकारद्धारा कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने निर्णय गरेको थियो । तर बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले ३ महिना देखि जोखिम भत्ता नपाएको र जोखिम भत्ता प्राप्तीका लागि अस्पतालका सुपरिटेण्डेण्ट डा.राजेन्द्र खनाल लगायतलाई पटक–पटक भन्दा पनि सुनुवाई नभएपछि जागिर छोड्न वाध्य भएको उनीहरुको भनाई छ । 

जोखिम भत्ता समयमा नपाएपछि राजीनामा दिएर हिँडेको वताउँदै उनीहरुले एकातिर आफुहरुले काम छाडेर हिड्दा आईसियु र भेन्टिलेटरमा राखिएका विरामीहरुको अवस्था अव के होला भन्ने चिन्ता पनि लागेको वताएका छन् । मेडिकल अफिसरहरु हिडेपछि कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचार सेवा प्रभावित हुने भएको छ ।

राजीनामा दिएपछि उनीहरुको मागको विषयमा लुम्विनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको थियो । छलफलमा मन्त्री बरालले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि चिकित्सकहरुले काममा फर्कन सहमति जनाएपनि उनीहरु अहिलेसम्म काममा फर्केका छैनन् ।

यता काम छोडेका चिकित्सकहरुले भने मौखिक प्रतिवद्धता नभई लिखित रुपमा चाहिएको भन्दै, त्यसपश्चात् काममा फर्कने बताएका छन् । अहिले मेडिकल सेवा नहुँदा कन्सल्टेन्ट र नर्सिङ स्टाफहरुले मात्रै अस्पताल धानेका छन्  भने काम छाडेर चिकित्सक हिड्दा आइसियु कक्षको उपचारमा समस्या भएको जनाईएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुचना अधिकारी डा.विष्णु गौतमले चिकित्सकहरुले काम छोडेको पुष्टि गर्दै, अस्पतालको सेवा प्रभावित हुन नदिनका लागि वैकल्पिक व्यवस्था गर्ने जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ