arrow

लिबियाली सामुद्रिक तटमा एक सय सत्र आप्रवासी मृत भेटिए

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
libya-migrants.jpg.size.custom.crop.1086x654.jpg.jpeg
त्रिपोली (लिबिया) । लिबियाली सामुद्रिक तटीय इलाकामा अवस्थित ज्वारा सहर नजिकैबाट ११७ जना आप्रवासी शरणार्थीको मृत शरीर भेटिएको लिबियाली नौसेनाले शुक्रबार जनाएको छ । 
 
सामुद्रिक तटमा मृत शरीर यत्रतत्र छरिएर आएपछि तिनीहरुलाई सङ्कलन गरी व्यवस्थापन गरिएको लिबियाली नौसेनाका प्रवक्ता कोलोनेल अयोब आओसेमले बताए । 
 
सामुद्रिक तटमा बिहीबार बेलुकीदेखि मृत शरीर देखिन थालेका र बिहानसम्म त्यस्ता शवको सङ्ख्या १०४ पुगेको उनले बताए । 
 
उनले थपे, सामान्यत एउटा डुङ्गाले ११५–१२५ मानिस बोक्ने हुँदा मृत शरीरहरु एक डुङ्गा दुर्घटनापछि त्यहाँ आइपुगेको हुनसक्छन् । यसबाट मृतकको सङ्ख्या यो भन्दा बढी पुग्नसक्ने देखिन्छ, प्रवक्ता आओसेमले बताए । 
 
आओसेमका अनुसार पश्चिमी लिबियाबाट छुटेका आप्रवासी चढेका डुङ्गाहरु साबराथा र ज्वारा हुँदै इटालीका लागि जाने गर्छन् । मृत शरीरबाट प्राप्त सङ्केतबाट मृतकहरु प्राय अफ्रिकी वा मोरक्कोबाट आएका अरबी नागरिक हुनसक्ने बताइएको छ । 
 
लिबियाबाट इटालीका लागि करिब ३०० किलोमिटरको दूरीमा आप्रवासीका रुपमा युरोप तथा अमेरिकी मुलुक हिँडेका मानिस समुद्रियात्राका लागि असुरक्षित मानिने साना डुङ्गाको सहारामा पुग्ने गरेका अध्ययनहरुले जनाएका छन् । 
 
संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्थाले गएको मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१६ को जनवरी यता दुई लाख चार हजार आप्रवासी भूमध्यसागरिय क्षेत्र हुँदै युरोप छिरेका छन् । 
 
उक्त खतरानाक यात्राका क्रममा करिब दुई हजार पाँच सय आप्रवासी शरणार्थीले यस वर्षमात्रै ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । 
 
सिरिया, अफगानिस्तान, कतिपय खाडी मुलुक र केही अफ्रिकी देशबाट मानिस द्वन्द्व र गरिबीबाट बच्न लिबिया र इटालीको बीचमा पर्ने सामुद्रिक इलाकामा डुङ्गाको यात्रा गर्दै युरोप छिर्ने क्रममा ज्यान गुमाउने गरेको राष्ट्रसङ्घले बताएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ