arrow

‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’

logo
प्रकाशित २०७७ मंसिर ८ सोमबार
pregnent.jpg

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि ‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ । नगरपालिकाले गत वर्षबाट शुरु गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्ष २०७७-७८ मा निरन्तरता दिएको हो ।  

परिमार्जित कार्यक्रमअनुसार गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था मिलाइएको छ । सोअनुसार गर्भवतीले चार महिनामा स्वास्थ्य जाँच गराउँदा सुपानेट झुलसहित सन्देशमूलक क्यालेण्डर, ६ महिनामा पोषण सेट, आठ महिनामा सरसफाइ सेट र नौ महिनामा मसला सेट प्राप्त गर्नेछन् । 

यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिनेले शिशु–स्याहार सेट तथा सङ्घीय सरकारले उपलब्ध गराउने यातायात रकमको अतिरिक्त थप एक हजार रुपैंयाँ प्रोत्साहन रकम प्राप्त गर्नेछन् । यस्तै नगरपालिकाले सङ्घीय सरकारबाट प्राप्त हुने आइरन चक्कीसँगै आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर गर्भवतीलाई निःशुल्क रुपमा क्यालसियम समेत दिने गरेको छ । 

गर्भावस्था विशेष अवस्था भएकोले यो समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार र सरसफाइ आवश्यक हुने हुँदा त्यसको सन्देश प्रवाहको लागि यो कार्यक्रम शुरु गरिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिनुभयो । यो कार्यक्रमले गर्भवती महिलाको स्वास्थ्यमा विशेष ख्याल राख्न सबैको ध्यानाकर्षण गराउने र त्यसबाट गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य राम्रो हुने उहाँको विश्वास छ । 

कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको सङ्ख्यामा वृद्धि भई मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा मिल्ने उहाँले बताउनुभयो । नगरपालिकामा वार्षिक तीन हजार महिलाले गर्भवती सेवा लिने अनुमान छ । यो कार्यक्रमले सरकारी स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउने नगरपालिकाको भनाइ छ । 

तिलोत्तमा नगरपालिकाले ‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’ कार्यक्रम नगरका सबै सरकारी स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जनाएको छ । सबै वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था प¥ुयाउने नीतिअनुसार हाल तिलोत्तमाका १४ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । नगरपालिकाको मधबलिया स्वास्थ्यचौकीमा आज गर्भवतीलाई उपहार  प्रदान गरी कार्यक्रमको शुभारम्भ गरिएको छ । कार्यक्रममा नगर प्रमुख वासुदेव घिमिरेले स्वास्थ्यनैं मानिसको पहिलो धन भएकोले नागरिकको स्वास्थ्यसेवा प्रवद्र्धनको लागि यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ