arrow

विदेशी लगानीको लागि नेपालमा कुन समय बन्यो स्वर्णकाल (विवरण सहित)

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ जेठ २३ आइतबार
काठमाडौं । रेमिट्यान्सले मुलुकको महत्वपूर्ण हिस्सा ओगटेको नेपाल आफैंमा आत्मनिर्भर बन्नको लागि नेपाली र नेपालसँगै विदेशी लगानीको आवश्यकता औल्याउन नेपालमा कुनैपनि विशेसज्ञता हाँसिल गरेका मानिस खोजीरहनु आवश्यक नहोला। तर, वर्षैदेखि हामीले विदेशी लगानीको प्रतिक्षा गर्दा पनि ठूला कारोबार गर्ने विदेशी लगानीकर्ताहरूलाई नेपालमा प्रवेश गराउन नसक्नु भने आफैंमा दुखद् विषय हो। 
 
नेपालमा आज भन्दा झण्डै चार दशक अगाडिदेखि विदेशी लगानीको औपचारिक सुरूवात भएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ। नेपालले बैदेशिक लगानीलाई भित्र्याएको चारदशकको अवधिमा ३५ सय वटाभन्दा बढी विदेशीको सहयोगमा खुलेका कम्पनीहरूले नेपालमा लगानी गरिरहेका छन्। संख्यात्मक हिसावले ३५ सयको बैदेशिक लगानीका कम्पनीहरू धेरै रहेपनि कारोबारका हिसावले त्यती ठूला कम्पनीहरू नेपालमा प्रवेश गर्ननसकेको यथार्थ हामीमाझ रहेको छ। 
 
वि. सं २०३३ सालमा भारतको मोहन मेकिङ ब्रिवेरीको लगानीमा नेपालमा हिमालयन ब्रिवेरीको स्थापना भएसँगै नेपालमा आधिकारिक रूपमा विदेशी लगानी भित्रीएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ। तात्कालीन समयदेखि आजसम्मको स्थितीमा आईपुग्दासम्म ३५ सय ३१ वटा विदेशी लगानीमा सञ्चालित कम्पनीहरू नेपालमा दर्ता भएका छन्। 
यस मध्ये पनि यावत् संस्थाहरू त बन्द भईसकेका छन्। कुन् र कस्ता संस्थाहरू बन्द भएका छन् र कुन् र कस्ता कम्पनीहरू सञ्चालनमा छन् भन्ने विषय भन्दा पनि कुन् कालमा नेपालले बढी विदेशी लगानीका कम्पनीहरू प्रवेश गरायो? यसलाई भने यसरी चर्चा गर्न सकिन्छ। 
 
पञ्चायती काल (२०१७–२०४६)
पञ्चायती शासन राजा महेन्द्रले सुरूवात गरेको भएतापनि महेन्द्रको देहान्नपछि राज विरेन्द्रको पालामा मात्र विदेशी लगानी भित्रिएको देखिन्छ। २०४६ सालसम्मको अवस्थालाई हेर्ने हो भने झण्डै डेढ दशकको समयावधिमा कूल १ सय ५ वटा विदेशी लगानी रहेको कम्पनी नेपालमा उत्पादन भएको उद्योग विभागले जनाएको छ। सो समयमा विशेषगरी जापान क्यानडा, भारत, जर्मनी, थाईल्याण्ड, बेलायत, अमेरिका, दक्षिण कोरीया, अमेरिका, चीन लगायतका मुलुकबाट विशेषगरी लगानी भित्रिएको थियो। यसमध्ये पनि यो समयावधिभित्र अधिकांश कम्पनीहरूको लगानी भारतीय कम्पनीबाट हुनेगरेको तथ्याङ्कले देखाएको छ। त्यसैले यो कालखण्डलाई सुरूवाती खण्ड मान्नुबाहेक यो समयमा धेरै लगानी बढेको भनेर भन्न सकिने अवस्था भने छैन। तर, यो समयावधिमा जति लगानी भित्रिए ती मध्येका अधिकांश, उत्पादनमूलक रहेको देखिन्छ। यो समयमा २०३३ सालमा एक, ३५ सालमा दुई, ३६ सालमा तीन, ३७ सालमा एक, ३८ सालमा दुई वटा कम्पनीहरू नेपालमा स्थापना भएका थिए। त्यससँगै ३९,४०,४१ सालमा क्रमशः छ,तीन र एउटा कम्पनी नेपालमा स्थापना भएका थिए। त्यससँगै ४२, ४३, ४४, ४५र ४६ सालमा क्रमशः तीन ,आठ, दस, सत्र र  तीस वटा कम्पनी नेपालमा स्थापना भएका थिए। 
 
प्रजातन्त्र पुनर्वहाली काल (२०४७–२०५९) 
प्रजातन्त्र पुनर्वहालीको यो एक दशकमा पनि धेरैहदसम्म विदेशी लगानी भित्र्याउने चेष्ठा भएको थियो र तुलनात्मक रूपमा यो कालखण्डमा पनि चित्त बुझाउन सकिने भएपनि उत्साहजनक रूपमा विदेशी लगानी भने विभिएको मान्न सकिँदैन। यो समयावधिभित्र, ७ सय २९ वटा विदेशी लगानीका कम्पनीहरू नेपालमा दर्ता भएका छन्। यो कालखण्डमा पनि माथि उल्लेखित मुलुकका कम्पनीहरूबाहेक, फ्रान्स, डेनमार्क, पाकिस्थान, बर्मुण्डा, भुटान, नर्वे, अस्ट्रेलिया, न्यूजिल्याण्ड, इटाली सिंगापुर लगायतका मुलुकहरूको लगानी रहेको थियो। जुन कालखण्डमा अर्को छिमेकी मुलुक चीनले पनि नेपालमा आफ्ना कम्पनीहरू मार्फत् लगानी भित्र्याएको पाईन्छ। जुन समयमा माओबादी द्वन्द्वको चरमोत्कर्षको समय रहेको भएपनि उक्त घटनाले कुनै असर पारेको पाईँदैन। सो समयमा खुलेका कम्पनीहरूको संख्या यस्तो छ। 
 
मिति स्थापित कम्पनी संख्या
वि. सं २०४७ – १८
वि. सं २०४८ – २५
वि. सं २०४९ – ६६
वि. सं २०५० – ४७
वि. सं २०५१ – १६
वि. सं २०५२ – ५३ 
वि. सं २०५३ – ६५
वि. सं २०५४ – ८३
वि. सं २०५५ – ४८
वि. सं २०५६ – ६६
वि. सं २०५७ – ९९
वि. सं २०५८ – ७९
 
राजाको प्रत्यक्ष शासन काल (२०५९–२०६३) 
राजाको प्रत्यक्ष शासनकालको समयलाई पनि लगानीका हिसावले विदेशीले खासै नकारात्मक रूपमा नलिएको देखिन्छ। विदेशी लगानीको लागि उक्त चार वर्षमा झण्डै चारसयको हाराहारीमा विदेशी लगानीका कम्पनीहरू नेपालमा स्थापना भएका थिए । उद्योग विभागको तथ्याङ्क अनुसार सो अवधिमा मात्रै ४ सय ६ वटा कम्पनीहरू नेपालमा स्थापना भएका थिए। यो समयमा अन्य मुलुकहरूसँगै चीनियाँ कम्पनीहरूले लगानी बढी भित्र्याएको भएपनि तुलनात्मक रूपमा भारतीय कम्पनीहरूको संख्या कम रहेको तथ्याङ्कले देखाएको छ। सो समयमा खुलेका कम्पनीहरूको संख्या यस्तो छ।
 
मिति स्थापित कम्पनी संख्या
वि. सं २०५९ – ६९
वि. सं २०६० – ७७
वि. सं २०६१ – ६२
वि. सं २०६२ – १११
 
लोकतन्त्र प्राप्तीपछिको युग (२०६३देखि हालसम्म) 
उद्योग स्थापनाको आधारमा भन्ने हो भने लोकतन्त्र प्राप्तीपछिको एक दशकको नेपालमा बैदेशिक लगानीको युगलाई स्वर्ण युग मान्न सकिने अवस्था छ। साना ठूला गरी झण्डै २३ सय भन्दा बढी कम्पनी स्थापना भएको यो युगमा उद्योग विभागको तथ्याङ्कलाई आधार मान्दा २३ सय ९ वटा कम्पनीहरू सो समयमा मात्रै नेपालमा दर्ता भएका थिए। सो समयमा खुलेका कम्पनीहरूको संख्या यस्तो छ।
 
मिति स्थापित कम्पनी संख्या
वि. सं २०६३ – १५५
वि. सं २०६४ – २०२
वि. सं २०६५ – २२५
वि. सं २०६६ – १९१
वि. सं २०६७ – १९८
वि. सं २०६८ – २२१
वि. सं २०६९ – २८८
वि. सं २०७० – ३०२
वि. सं २०७१ – ३५३
वि. सं २०७२ – ३२४
 
नेपालले खुल्लाबजार अर्थतन्त्रलाई अँगालेसँगै नेपालमा बैदेशिक लगानी भित्रिनुलाई कुनै नौलो मान्नुपर्ने अवस्था छैन र विज्ञहरूका अनुसार यो मुलुकको समृद्धिको लागि आवश्यक पनि रहेको छ। तर, नेपालमा ३५ सय वटा भन्दा बढी कम्पनी दर्ता हुँदा पनि बहुराष्ट्रिय ठूलाकरदाता भने मात्रै ५१ वटा हुनुले नेपालमा विदेशी लगानी आकर्षित भएपनि ती साना लगानी तथा सानो व्यवसाय गर्ने कम्पनी रहेको स्पष्ट हुन्छ। त्यसैले पनि हामिले विदेशी लगानी नेपाल भित्र्याउने भन्दैमा ठूला लगानीको वास्ता नगरी साना तिना लगानीको मात्रै कम्पनी नेपाल भित्रीएकोमा मख्ख परेर बस्नेहो भने मुलुकको आर्थिक विकासको गति अघि बढ्न नसक्नेतर्फ विज्ञहरूले सचेत गराउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ