arrow

नेपाल भारत सीमा खुला गर्न ७ दिनदेखि धर्ना, जनता समाजवादीको समर्थन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
sit-in-protest-open-boarder.jpg

काठमाडौं। कोभिड १९को महामारी पछि नेपालले अन्तराष्ट्रिय सीमा बन्द गरेको छ । यसको असर भारतसँग खुला सीमा रहेको तराई मधेशका नागरिकलाई परेको छ । लामो समयदेखि भारतसँगको सीमा बन्द हुँदा तराई मधेसका जनता कठिनाइ भोग्न वाध्य भएका छन् ।

भारतसँगको सीमाना खुला गर्न माग गर्दै तराई मधेसका स्थानीयबासीले ७ दिनदेखि सीमा क्षेत्रमा धर्ना दिन थालेका छन् । नेपाल भारत खुला सीमा संवाद समुहको आयोजनामा धर्ना कार्यक्रम सुरु गरिएको हो । यस समुहको नेतृत्व राजिव झाले गरेका छन् । झाका अनुसार धनुषा, महोत्तरी र सिराहमा ७ दिन देखि धर्ना कार्यक्रम राखिएको छ । बुधबारदेखि सप्तरीमा पनि धर्ना कार्यक्रम राखिने उनले जनाए । यसैगरी रौतहट र पर्सामा पनि धर्ना कार्यक्रम राख्ने तयारी भएको उनले जनाए । धर्नामा स्थानीयबासीहरुको समर्थन रहेको उनको भनाइ छ ।

भारतसँगको सीमा तत्काल खुला गर्न संवाद समुहले सरकारसँग माग राखेको छ । ‘भारतले एकतर्फी सीमा नाका खुला गरेको छ तर नेपालले भने सीमा बन्द गरेको छ । यसबाट  तराई मधेसका जनतालाई ठूलो कठिनाइ उत्पन्न भएको छ,’ झाले भने ‘सीमा नाका बन्द हुँदा तराइ मधेसका जनताका रोजगार, जनजीवन,औषधी उपचारमा समेत प्रभाव परेको छ ।’

सीमा क्षेत्रका स्थानीयबासीहरुको एक अर्को देशमा वैवाहिक सम्बन्ध छ । सीमा क्षेत्र बन्द हुँद पारिवारिक भेटघाट तथा मिलनमा समेत विचलन आएको धर्नाकारीहरुको भनाइ छ । धर्ना कार्यक्रमलाई जनता समाजवादी पाटीले पनि समर्थन गरेको छ । जनता समाजवादीका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल–भारत सीमा खुला गर्न माग गरेका छन् । सीमा बन्द हुँदा तराई मधेसका जनताका जनजीवन अत्यन्त कष्टकर भएको विज्ञप्तिमा जनाइएको छ । यसैगरी तराई मधेसका जनताको रोजगार तथा आर्थिक सामाजिक क्षेत्रमा गम्भिर असर पारेको ठाकुर र यादवले जनाएका छन् । भारतसँगको सीमालाई व्यवस्थित बनाइ तत्काल खुला गर्न जसपाले सरकारसँग माग राखेको छ । 

संवाद समुहको नेतृत्व गरेको झा जनता समाजवादी पार्टीका नेता पनि हुन् । उनलाई जसपाका जिल्ला तहका नेताहरुले साथ दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरुले भारतसँगको सीमानामा काँडेतार लगाउनु पर्ने आवाज कहिलेकाँही उठाउने गर्छन । यसबाट सरकारले स्थायी रुपमै सीमा बन्द गर्न खोजेको हो कि भन्ने आशंका स्थानीयबासीहरुको छ । स्थायी रुपमा सीमा बन्द गरेमा मधेसका जनताको समस्या झन कष्टकर हुने झाले बताए । करिब ९ महिनादेखि नेपालले भारत लगायत अन्तराष्ट्रिय सीमा बन्द गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ