arrow

पदावधि सकिने बेला एनआरएनए अष्ट्रेलियामा तीन दर्जन टास्कफोर्स गठन

logo
प्रकाश हुमागाँई,
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
nrna-australia.jpg

सिड्नी । पदावधि सकिन केही महिनामात्र बाँकी रहेकै बेला गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले विभिन्न ३५ वटा टास्कफोर्स समिति गठन गरेको छ । अध्यक्ष केशव कँडेलले एनआरएनए अष्ट्रेलियाको नेतृत्व लिए लगत्तै नै सबै समिति र उपसमिति गठन गर्ने प्रतिवद्धता ब्यक्त गरे पनि यसले पूर्णता पाउन करिब १८ महिना लागेको हो । यसरी अन्तिम समयमा आएर महत्वपूर्ण नियुक्तिहरु गरिनुलाई आगामी एनआरएनए निर्वाचनमा आफ्नो पक्षको पल्ला भारी बनाउनेप्रति लक्षित गरिएको विश्लेषण एनआरएनए अभियन्ताहरुले गरेका छन् ।

कतिपयले एनआरएनएको नेतृत्वमा रहेकाहरु बीचको खिचातानीका कारण टास्कफोर्स गठनमा ढिलाई भएको आरोप लगाउदै अध्यक्ष कँडेलले  लोकप्रियताका लागि महासचिव ज्ञानेन्द्र रेग्मीसंगको मिलेमतोमा निर्णय गरेको आरोप समेत लगाएका छन् । पदावधि सकिनै लाग्दा गरिएको मनोनयनले जग हँसाउने काम गरेको भन्दै एनआरएनएका एक पदाधिकारीले हाम्राकुरासंग भने’ दुई वर्षमा गर्नुपर्ने काम तीन चार महिनामा गर भनेर कसैलाई नियुक्त गर्नु नै गलत निर्णय हो, त्यो पनि यत्रो प्यान्ड्यामिकको बेलामा।’

त्यसो त एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङ्ग ढिला भएपनि टास्कफोर्स गठन र यसको संयोजकहरु तोकिनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । ‘केही महिना ग्लोबल प्यान्डामिकको चपेटामा परेर भर्खर तंग्रिन लागेको अष्ट्रेलिया र यहाँ रहेका हामी नेपालीहरुले यतिबेला केही रचनात्मक कार्य गर्नुपर्ने थियो, यो समिति गठन भएपछि अझ जोशका साथ कार्यक्रमहरु अगाडी बढाउन पाइने भयो त्यसले हामीमा उत्साह थपेको छ’, गुरुङ्गको कथन थियो । 

त्यसो त प्रवक्ता गुरुङ्ग आगामी एनआरएनए नेतृत्वको लागि प्रजातान्त्रिक खेमाका तर्फबाट प्रवल दावेदार ब्यक्ति पनि भएकाले एनआरएनए अभियानमा उनको सकृयता अरुको भन्दा निक्कै बढिरहेको छ । न्यू साउथवेल्स राज्य संयोजक तथा एनआरएनए उपाध्यक्ष तथा हालको प्रवक्ताको भूमिका सफलतापूर्वक निर्वाह गरेका गुरुङ्ग बामपन्थी खेमाको तर्फबाट संभवत निर्विकल्प उम्मेदवार देव तमु गुरुङ्गसंग निर्वाचनको मैदानमा उत्रनका लागि सबैभन्दा उपयुक्त उम्मेदवार हुने विश्लेषण अष्ट्रेलियाका अधिकांशका कांग्रेसीहरुको रहेको छ । 

त्यसै कारण अहिले गठित विभिन्न टास्कफोर्सका संयोजकसंग हातेमालो गरेर अगाडि बढ्न र विभिन्न कार्यक्रमको घोषणा गर्न गुरुङ्गको ब्यस्तता बढेको छ । तर उता वर्तमान महासचिव रेग्मीमा पनि अध्यक्षको उम्मेदवार बन्ने आकांक्षा बढ्दै आएकाले टास्कफोर्समा आफु निकटका ब्यक्तिहरुलाई मनोनयन गर्न निक्कै कसरत गरेको र केही हदसम्म सफल भएको विश्लेषण गरिएको छ । 

एनआरएनए अष्ट्रेलियाले सार्वजनिक गरेको विभिन्न समितिका संयोजकहरुको नाममा विवाद नदेखिए पनि एनआरएनए फाउन्डेसन समितिको सदस्यमा नियुक्त एनआरएनए अभियन्ता डिला खरेलले भने आफ्नो नियुक्तिको विषयमा आपत्ति जनाउँदै अध्यक्ष कँडेललाई आफु सो पदमा नबस्ने जानकारी दिइएको हाम्राकुरासंगको टेलिफोन कुराकानीमा बताएका छन् । एनआरएनएका पूर्व प्रवक्ता खरेल आगामी कार्यकालका लागि प्रजातान्त्रिक खेमामा तर्फबाट पाए अध्यक्ष नत्र महासचिव बन्ने तयारीमा छन् । तर वर्तमान कोषाध्यक्ष अनिल पोखरेलले आफु महासचिव बन्ने तयारी गर्न थालिसकेको उनी निकटहरु बताउँछ्न् । 

कस्ता छन् टास्कफोर्स संयोजकहरु 
एनआरएनएले बनाएका विभिन्न टास्कफोर्स समितिका संयोजकहरु क्षमतावान र काम गरेर देखाउन सक्ने ब्यक्तित्वहरु नै रहेकाले यो नियुक्तीको विरोध नभएको अधिकांशको तर्क रहेको छ । नेपाल प्रमोसन टु मेनस्ट्रिम अष्ट्रेलियाका संयोजक हरिभक्त अधिकारी हुन् या खेलकुद संयोजक भिम बस्नेत, वाटर एन्ड ट्रान्सपोर्ट सेफ्टीका प्रज्ववल भट्टराई हुन् या कम्युनिटी सेफ्टी एण्ड अवेयरनेसका सुर्य खनाल छोटो पदावधिमा पनि केही गरेर देखाउन सकिन्छ भन्ने उदाहरण बन्ने प्रयासमा रहेको बताउछन् । 

कम्युनिटी सेफ्टी एण्ड अवेरनेसका संयोजक सूर्य खनालले भने, ‘हो यो निर्णय अलि अघि नै हुनुपथ्र्यो, अब हामीसंग समय कम छ, तर संगसंगै हामीसंग दृढ इच्छाशक्तिपनि छ । यो छोटो समयको सदुपयोग कसरी गर्ने भनेर मैले अन्य टास्कफोर्सका साथीहरुपनि छलफल सुरु गरिसकेको छु । यदि एउटै टास्कफोर्सले काम गरिहाल्ने स्थिति भएन भने हामी ज्वान्टभेन्चरमा अरु समितिसंग जोडिएर भएपनि काम गरेर देखाउछौं ।’ 
 
खनालको तर्कसंग सहमत छन् अर्का संयोजक हरिभक्त अधिकारी पनि । एउटा सफल रियल स्टेट ब्यवसायी हुँदै आफ्नो क्षेत्र सिड्नी साउथको समुदायमा समेत प्रभाव जमाएका अधिकारी एनआरएनएले दिएको जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने दावी गर्छन् । खेलकुद संयोजनको जिम्मेवारी लिएका भिम बस्नेत सिड्नीमा लामो समयदेखि खेलकुदका विभिन्न गतिविधिमा सकृय सहभागी भएका ब्यक्ति हुन् । उनले भने,  ‘मैले कम्युनिटीका सवै अग्रज र खेलाडी साथीहरुसंग छलफल अगाडि बढाएको छु । साथै आफ्नै समितिका साथीहरु पनि छलफल गरेर केही दिनमा ठोस निर्णय गर्नेछु ।’

टास्कफोर्समा अध्यक्ष कँडेलले एनआरएनए फाउन्डेसन र महासचिव रेग्मीले कन्स्टीच्युसन वाइ ल र वर्क अन डुअल सिटिजनसीपको जिम्मेवारी लिएका छन् । उता प्रवक्ता गुरुङ्गको भागमा हेल्प डेस्क मेनेजमेन्ट र मेड इन नेपाल ट्रेड सो परेको छ । पूर्व अध्यक्ष टोनु घतानेले पोलिसी इन्स्टीच्युटको जिम्मेवारी पाएका छन् भने सञ्चारकर्मी डा. भरतराज पौडेलले डिजास्टर रिलिफ म्यानेजमेन्ट संयोजनको जिम्मेवारी पाएका छन् । 

नेपाली भाषा तथा साहित्य विभागको जिम्मेवारी पुराना संचारकर्मी हेम दुलालले लिएका छन् भने वाक फर वेलफेयर समितिको संयोजनको जिम्मेवारी युवा ब्यवसायी एवं पुराना विद्यार्थी नेता रामजी बस्नेतको भागमा आइपरेको छ । गिभिङ्ग ब्याक टु अष्ट्रेलियन कम्युनिटीज विभागको जिम्मेवारी जनसम्पर्क न्यू साउथवेल्स अध्यक्ष तथा युवा नेता थानु (इथान) शाक्यले पाएका छन् । इमरजेन्सी रेपीड रेस्पोन्सको जिम्मेवारी पुरानी संचारकर्मी प्रतिज्ञा अधिकारीले पाएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ