arrow

वर्तमान राजनीतिक परिस्थितीले मध्यावधि निर्वाचन माग्दैछ : पूर्वमन्त्री बलायर

logo
प्रकाश बम,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
doti-union-bir-bahadur.jpg

डोटी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्वमन्त्री वीरबहादुर बलायरले देशमा मध्यावधि निर्वाचन आवश्यकता परेको बताएका छन्। नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्बमन्त्री बलायरले यस्तो बताएका हुन्। झण्डै दुईतिहाई बहुमतसहितको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकार पूर्ण असफल भएको उनले बताए। उनले भने, ‘सरकार हरेक दृष्टिकोणबाट असफल भईसक्यो। यो हामीले मात्रै होईन्, सत्ताधारी पार्टीकै नेताहरु बताईरहेका छन्।’

जनताले दिएको जनमतमाथि चरम खेलवाड गरिएको नेता बलायरले बताए। ‘जनताले राजनीतिक अस्थिरताबाट आजित भएर स्थिर सरकारका लागि नेकपालाई दुईतिहाई दिएका हुन्। जुन म्याण्डेट अनुसार हामी(कांग्रेस) पूर्ण समय प्रतिपक्षमा छौ,’ उनले भने, ‘त्यो जनमतमाथि नेकपाले खेलवाड गरेको छ।

ऐतिहासिक राजनीतिक वेईमानी र अपराध गरेको छ।’ यस्तो परिस्थितीमा कांग्रेसलाई सत्ता सञ्चालनको निम्तो आउनुसमेत दुखद रहेको उनले बताए। ‘दुईतिहाईको निर्लज्जताले हामीलाई सत्तामा आउन निम्तो गर्‍यो। योभन्दा जनमतको उपहास अर्को के हुन्छ ?’, उनले भने। देशको यस्तो विषम परिस्थितीमा कांग्रेस चुप लागेर भने नबस्ने नेता बलायरले बताए। ‘लोकतन्त्रलाई बचाउन, समृद्ध गर्न नेपाली कांग्रेस सदैब तत्पर छ। देशको परिस्थितीले मागेको भूमिका निर्वाह गर्न तयार हुन्छ,’ उनले भने।

नेकपाको आन्तरिक कलह, विकसित हुदै गएको परिस्थिती, सरकारको गैह्रजिम्मेवारी र संसदको अवस्था सबै दृष्टिकोणबाट मध्यावधि निर्वाचनको आवश्यकता देखिदै गएको पनि उनले बताए। ‘कम्युनिष्टहरु देश चलाउन सक्दैनन भन्ने देखिईसक्यो। देशको अवस्थाले कांग्रेसको नेतृत्व माग्दैछ। तर संसदको स्वरुपले अवस्था जटिल छ,’ उनले भने,‘यस्तो अवस्थामा देशले फ्रेस जनादेश लिदा नै उपयूक्त हुन्छ।’

यद्यपी नेकपाको जोडाई र फुटाईसंग कांग्रेसको कुनै भूमिका नरहेको उनले प्रष्ट्याए । उनले भने,‘कम्यूनिष्ट पार्टी मिलेर पुरै पाँचवर्ष सत्ता चलाओस्। देश र जनताको पक्षमा काम गरोस् । अनि त्यसपछिको आवधिक निर्वाचनमा आफ्ना कामहरु देखाउदै हामीसंग प्रतिस्पर्धा गरोस भन्ने हाम्रो चाहना हो। यसले लोकतन्त्र बलियो हुन्छ।’ पत्रकार सम्मेलनको अध्यक्षता नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ