arrow

सत्ताधारी दलभित्रको व्यक्तिगत स्वार्थ विवादले लोकतान्त्रिक गणतन्त्रसँग साइनो राख्दैन

logo
रमेश बस्ताकोटी, 
प्रकाशित २०७७ मंसिर १४ आइतबार
ramesh-bastakoti-nebisangh1.jpg

सत्ता र शक्तिको लागि एकले अर्कालाई ठेगान लगाउने खेलले नेकपाभित्र कुन नेतालाई के असर गरोस् आम सरोकारको बिषय होइन । तर आफ्नो पद र सत्ता जोगाउन हिजो नगरेको काम आज गरियो र त्यसले अस्थिरता निम्तियो भने देश र नागरिकलाई ठूलो क्षति पुर्याउँछ । 

साथै सत्तासिन पात्रका कारण व्यवस्थाप्रति नागरिक आक्रोश बढिरहेको सन्दर्भमा पुरानो पञ्चायतले खेल्ने अवसर पाएको छ । जुन कुरालाई अहिलेको नेकपाको विवाद र सरकारको गलत काम कार्वाहीले मलजल गरिरहेको छ । साथै प्रमुख प्रतिपक्ष दलको शीर्षस्थ नेताको मौनता र खबरदारीको कमी उत्तिकै छ।

अहिलेका सत्तासिन र अन्य शीर्षस्थ नेताले आफ्नो लागि पटकपटक प्रमाणित गर्ने अवसर पनि पाइसक्नु भएको छ । अब केही समय देश र नागरिक अनि व्यवस्थाप्रति सोचिदिन आग्रह छ । अब समयमै सोच्न र कार्यान्नयन गर्न ढिला गर्नु भयो भने तपाईहरुकै भाषामा प्रतिगामी शक्तिले नागरिक समर्थन प्राप्त गरी फाइदा उठाउने छ । 

यसो भनिरहँदा उनीहरुले राजनैतिक फाइदा उठाउन मिल्दैन पाइँदैन भन्ने होइन तर हिजोको राजालाई हामीले पटकपटक हेरेकै हो तत्कालीन राजाले संविधानलाई निलम्बन गरी आफैले सरकार चलाउने महत्त्वाकांक्षा र कदमका परिणामसंगै देश गम्भीर द्वन्दमा भएका कारण सोबाट मुलुकलाई राजनैतिक व्यवस्थापन गरी हिंसाबाट मुक्त गराउनु तत्कालीन आवश्यकता थियो । 

तत्कालीन राजा शान्ति कायम गर्न र राजनैतिक स्वतन्त्रता प्रदान गर्न चाहँदैन थिए । राजनैतिक अधिकार र नागरिक स्वतन्त्रता फिर्ता ल्याइ आर्थिक र सामाजिक रुपमा देशलाई अघि बढाइ द्वन्द्व व्यवस्थापनका लागि राजालाई पटकपटक गरिएको आग्रहलाई बेवास्ता गरिएको फलस्वरूपः तत्कालीन राजा ज्ञानेन्द्रलाई अवकाश दिई गणतन्त्र ल्याइएको थियो । 

यदि आम नागरिकको साथ हुँदैन थियो भने उक्त काम राजनैतिक दलहरुले मात्रै सम्भव थिएन । यसो भनिरहँदा राजा आउ देश बचाउ भन्दै उफ्रिनुभएका साथिहरुलाई मेरो के आग्रह छ भने यो देशको भूगोल यहाँका नागरिक साथै हाम्रा इतिहास, रीतिरिवाज, कला, धर्म, संस्कृति सबैको साझा थलो हो । राष्ट्रिय गान र राष्ट्रिय झन्डासमेत साझा हो ।  ब्यक्ति वा समूह विशेषको निहित स्वार्थका निमित्त प्रयोग हुन सक्दैन । 

यो साझा थलोलाई थप नवनिर्माण गर्दै विकसित देश बनाउने कुरा हामी सबैको दायित्व र जिम्मेवारीभित्र पर्दछ । लोकतान्त्रिक गणतन्त्रमा तपाईहरुको समेत उत्तिकै राजनैतिक र अन्य अधिकार सुरक्षित छ जुन अहिले सत्ता र प्रतिपक्षमा रहेका राजनैतिक दल र ब्यक्तिहरुसंग छ ।

यसो सम्झनुहोस् त तत्कालीन राजाले राजनैतिक कु गरेपछि सार्वजनिक भेला हुन कसरी रोक लगाइएको थियो । राजनैतिक गतिविधि गर्न र अभिव्यक्ति स्वतन्त्रतालाई कसरी रोक लगाइएको थियो । राजनैतिक अधिकार स्थापित गर्न र बहुदलीय प्रजातान्त्र पुनर्स्थापना गर्न हुने कार्यक्रमहरुलार्इ तत्कालीन सरकारले कसरी दमन र रोक लगाउँथ्यो ?

आज तपाईहरुले खुलेआम सरकारका विरुद्ध चर्का नारा लगाउन पाउनु भएको छ । र्याली निकाल्न पाउनु भएको छ । मनमा लागेको अभिव्यक्ति दिन पाउनु भएको छ । उल्टै तपार्इहरुको सभा, र्याली, जुलुस र धर्नामा सरकारले सुरक्षा प्रदान गरेको छ । किनकि यो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हो । सबैलाई उत्तिकै अधिकार प्रदान गरिएको छ । 

भोलि निर्वाचनमा नागरिक मत जित्नुभयो भने शासन गर्न पनि पाउनु हुनेछ। हामी प्रत्येक १०–१२ वर्षमा व्यवस्था परिवर्तनका लागि मात्रै लड्ने त्यो भित्र ५–७ बर्ष संक्रमण कालमा रहने हो भने देशलाई कहिले विकासको उचाइमा पुर्याउने ? नागरिकर्ला सुख र सुविधा कहिले प्रदान गर्ने ? अन्तराष्ट्रिय मुलुकहरुसंग विकास, मानव अधिकार, विभिन्न प्रविधि,कला र व्यापारमा कहिले प्रतिस्पर्धा गर्ने ?

त्यसैले व्यवस्था परिवर्तन होइन संघीय लोकतान्त्रिक गणतन्त्रमा आवधिक हुने निर्वाचनमार्फत गलत पात्रलाई हराउँदै आर्थिक, सामाजिक र राजनैतिक लगायतका मुद्दामा प्रतिस्पर्धा गर्दै देश र नागरिकलाई समृद्धिको दिशामा अगाडि बढाउनु आजको टड्कारो आवश्यकता हो । 

जुन कुरा नागरिक र देशको हितमा छ । भोलि नागरिकहरु अनियन्त्रित हुँदै कुनै प्रतिगामी शक्तिसँग जोडिएर व्यवस्था दुर्घटनामा पर्नु पूर्व नै मुलुकप्रति बफादार बन्नु नेकपाको पहिलो जिम्मेवारी र कर्तव्य हो । साथै गलत दिशामा रहेको नेकपा र सरकारलाई निरन्तर खबरदारी र राम्रो कामको लागि दवाब सृजना गर्नु प्रतिपक्ष दल र नेताको दायित्व हो । (लेखक नेपाल विद्यार्थी संघ गोरखाका पूर्व उपाध्यक्ष हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ