arrow

नेपालगञ्जमा राप्रपाका युवा नेता नेत्र शाहसहित तीन सय जना नेपाली कांग्रेसमा प्रवेश

logo
सौरभ गिरी,
प्रकाशित २०७७ मंसिर १४ आइतबार
netra-sahi1.jpg

नेपालगञ्ज । नेपालगञ्जमा तीन सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा कार्यसमिति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ ले आइतबार गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तीन सय जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री हृदयराम थानीले नवप्रवेशीहरुलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । वडा नम्बर १२ का प्रभावशाली युवा नेताहरु समेत राप्रपा परित्याग गरी कांग्रसमा प्रवेश गरेका छन् । राप्रपाका युवा नेता नेत्रजंग शाह, वडा सदस्यका उम्मेदवार सुनिल केसी, दिपेश मल्ल, गौरी परियारसहित तीन सय जना कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशी सबै वडा नम्बर १२ कै हुन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य हृदयराम थानीले नेकपा सरकारको गैरजिम्मेवारपन र अकर्मण्यताका कारण नेपाली जनता निराश भइरहेकाले कांग्रेसप्रति उनीहरुको भरोसा बढ्दै गएको बताए । जनता र मुलुकका पक्षमा केही गर्न नसकेपछि सर्वत्र सरकारको आलोचना भइरहेको भन्दै उनले अहंकार, दम्भ र कमजोर कार्यसम्पादनले सरकार इतिहासकै सर्वाधिक अलोकप्रिय बनेको टिप्पणी गरे ।

विशिष्ट अतिथि कांग्रेस बाँके जिल्ला सभापति किरण कोइरालाले ठूलो आशा भरोसा गरेर जनताले नेकपालाई दुई तिहाई बहुमत दिएपनि त्यसको लाज राख्न नसकेर जग हँसाएको बताए । जनताका आकांक्षामाथि तुषारापात गर्दै आपसमै कुसीको लडाईं गरेर जात्रा देखाइरहेको टिप्पणी गर्दै सभापति कोइरालाले नेपाली कांग्रेस नै जनताको पार्टी भएको फेरि एक पटक पुष्टि भएको बताए ।

वडा सभापति रामु चिडिमारको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, प्रदेशतर्फका क्षेत्रीय सभापति शिवप्रसाद बर्मा, नगर सभापति प्रशान्त विष्ट, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमाल, युवा नेता अमृत आचार्य, कांग्रेस वडा सचिव हरिबाबु घिमिरे लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा कांग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणा, सचिव कपिलदेव शर्मा, प्यूठान कांग्रेसका पूर्व पार्टी सभापति दिवाकर गौतम, कांग्रेस बाँकेका युवा नेता सुधांशु कोइराला लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ