arrow

ठूला करदातामा सबैभन्दा बढी राजश्व तिर्ने बहुराष्ट्रिय कम्पनी, साढे २७ अर्बको योगदान

संख्यामा सबैभन्दा कम, योगदान बढी

logo
प्रकाशित २०७३ जेठ २४ सोमबार
large-tax-office.jpg.jpeg
काठमाडौं। नेपाल सरकारलाई आन्तरिक राजश्व अन्तर्गत् प्राप्त हुने राजश्वको हिस्सामा झण्डै आधा योगदान दिने ठूला करदाताहरू मध्ये कुन क्षेत्रका कम्पनीहरूको योगदान बढी होला त ? यो सबैको चासोको विषय बन्न सक्छ।
 
वार्षिक रूपमा ४० करोड भन्दा बढीको कारोबार गर्ने नेपालमा सञ्चालित कम्पनीको मात्रै तथ्याङ्क राख्ने ठूला करदाता कार्यालयको सूचीमा समावेश भएका करदाताहरूमध्ये ‘बहुराष्ट्रिय कम्पनी’ शीर्षकमा सबैभन्दा थोरै करदाता रहेर पनि सबैभन्दा धेरै योगदान भने यही शीर्षकबाट रहेको आन्तरिक राजश्व विभागले जानकारी दिएको छ। 
 
कार्यालयले आर्थिक वर्ष २०७१-७२ मा आन्तरिक राजश्वले तोकिएको लक्ष्यको ५० प्रतिशत राजश्व असुली गर्ने जिम्मा पाएकोमा लक्ष्यको तुलनामा १ सय १ प्रतिशत प्रगति हाँसिल गरेको थियो। जसमा ८० अर्ब ८ करोड ९४ लाख ९३ हजारको लक्ष्यमा ८१ अर्ब २ करोड १४ लाख ८५ हजार रूपैयाँ संकलन गरिएको भएको थियो। यसरी कार्यालयले उठाएको कूल राजश्वको ३४ प्रतिशत अर्थात् २७ अर्ब ५४ करोड रूपैयाँ बहुराष्ट्रिय कम्पनीबाट मात्रै अघिल्लो वर्ष राजश्व्मा योगदान भएको कार्यालयको तथ्याङ्कले देखाएको छ। 
 
विभागको तथ्याङ्क अनुसार ४० करोड भन्दा बढी कारोबार गर्ने ठूलाकरदाताहरूलाई विभिन्न ६ शीर्षकमा राखेर वर्गीकरण गर्दा अन्य शीर्षकमा भन्दा बहुराष्ट्रिय कम्पनीको योगदान बढी रहेको देखिएको हो। कुल राजश्वको झण्डै ५० प्रतिशत हिस्सा ओगट्ने ठूलाकरदाताबाट संकलन हुने राजश्वमध्ये पनि बहुराष्ट्रिय कम्पनीको हिस्सा मात्रै ३४ प्रतिशत रहेको हो। 
 
विभागका अनुसार ठूलाकरदाताहरूलाई बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी, संस्थान तथा सेवा, व्यापार, कृषिजन्य उद्योग र गैर कृषिजन्य उद्योग गरी ६ वटा क्षेत्रमा वर्गीकरण गर्नेगरिएको छ। जस अन्तर्गत अघिल्लो आर्थिक वर्ष २०७१-७२ मा रहेका कूल ७ सय ८९ वटा बहुराष्ट्रिय कम्पनी मध्ये सबैभन्दा कम संख्यामा रहेर पनि सबैभन्दा बढी योगदान दिने बहुराष्ट्रिय कम्पनीको अघिल्लो आर्थिक वर्षको कूल संख्या भने मात्रै ४६ वटा रहेको थियो। जुन अहिलेको आर्थिक वर्षमा ५१ वटा पुगेको छ। 
 
कार्यालयबाट संकलित राजश्वमा बहुराष्ट्रिय कम्पनीको योगदान भने ३४ प्रतिशत रहेको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख कर अधिकृत लोकराज पौडेलका अनुसार सबैभन्दा कम संख्यामा रहेर पनि बहुराष्ट्रिय कम्पनीले तिर्ने राजश्व बढी रहेकोले योगदान पनि बढेको हो। यससँगै बढी राजश्व संकलन हुने अर्को क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको योगदान २९ प्रतिशत रहेको छ जसको कूल संख्या १ सय २७ वटा रहेको छ।
 
त्यस्तैगरी, संस्थान, सेवा शीर्षकमा रहेको कूल १ सय २८ वटा कम्पनीको कूल २२ प्रतिशत योगदान रहेको छ । त्यसैगरी २ सय ५२ वटा कम्पनी रहेको व्यापार क्षेत्रबाट मात्रै ७ प्रतिशत योगदान राजश्वमा रहेको छ भने १ सय १४ वटा संख्यामा रहेको कृषिजन्य उद्योगबाट र १ सय २२ वटा कम्पनी रहेको गैर कृषिजन्य उद्योगबाट समान ४/४ प्रतिशत योगदान ठूला करदाताबाट संकलित राजश्वमा रहेको कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ