arrow

निलम्बित क्यानलाई आइसीसीको पत्र

logo
कुमार चौलागाई,
प्रकाशित २०७३ जेठ २४ सोमबार
ICC-and-CAN.jpeg.jpeg
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी साउनमा नेदरल्याण्डसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणमा हुने खेलको तयारी थाल्न निलम्बित क्यानलाई पत्र पठाएको छ । 
 
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आगामी साउन २९ र ३१ गते नेदरल्यान्डसँग हुने खेलको तयारी थाल्न आइसिसीले क्रिकेट सङ्घको निर्वाचित समिति, तदर्थ समिति, राष्ट्रिय खेलकुद परिषद् राखेप र क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई यही जेठ २२ गते पत्र पठाएको क्यानले जनाएको छ । पत्रमा नेदरल्याण्डसँगको खेलका लागि आफ्नो मातहतमा रहेर स्थानीयस्तरमा समन्वय गर्ने जिम्मेवारी सीइओ घिमिरेलाई दिइएको उल्लेख छ । 
 
नेदरल्यान्ड टुरका लागि आवश्यक रकम आइसिसीले नै उपलब्ध गराउने पत्रमा उल्लेख छ । आइसिसीले सन् २०१४ देखि नै नेपाललाई दिँदै आएको सहयोग रोकेको छ । आइसिसीले पत्रमा खेलाडी छनोटको जिम्मा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई दिएको छ । 
 
यसअघि काठमाडौँमा भएको नामिबियासँगको खेलमा पनि आइसिसीले यही प्रक्रिया अपनाएको थियो । विश्व क्रिकेट लिग च्याम्यिनसीप प्रतियोगिताको चौथो चरणमा हुने नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउन २९ र ३१ गते नेदरल्यान्डमा हुने खेलतालिका आइसिसीले गत वैशाख १४ गते सार्वजनिक गरेको थियो । त्यसपछि अर्को वर्षसम्ममा नेपालले हङकङ, केन्या र यूएईसँग होम एन्ड अवेको आधारमा दुई–दुई खेल खेल्नेछ । 
 
गत वैशाख ४ र ६ गते घरेलु मैदानमा नामिबियाविरुद्धका दुई खेल जित्दै नेपाल अङ्कतालिकाको पुछारबाट पाँचौ स्थानमा उक्लिएको हो । नेपालको अङ्कतालिकामा अहिले चार अङ्क छ । घरेलु मैदानको फाइदा उठाउँदै नेपालले नामिबियालाई वैशाख ४ गते शनिबार पाँच विकेट र वैशाख ६ गते सोमबार तीन विकेटले हराएर विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारभित्र रहने सम्भावना जीवितै राखेको थियो । 
 
नेपाल यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्यान्ड र पपुवान्युगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो । विश्व क्रिकेट लिगको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग १० अङ्क छ । उसले अहिलेसम्म खेलेका छ मध्ये चारमा जित हात पारेको छ भने दुई खेलमा अङ्क बाँडेको छ । त्यस्तै नौ अङ्क भएको हङकङ दोस्रो, सात अङ्क भएको स्कटल्यान्ड तेस्रो तथा छ अङ्क भएको केन्या चौथो स्थानमा छ । नेपालकै जति समान चार अङ्क भएको पपुवा न्युगिनी रनरेटको आधारमा पाँचौ स्थानमा छ । २÷२ अङ्क भएका नामिबिया र युएई क्रमशः सातौं र आठौँ स्थानमा छन् । 
 
सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाललगायत आठ एसोसियट मुलुकका टोलीबीच होम एन्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन् । त्यसमध्येका शीर्ष चार टोलीले सन् २०१९ मा इङल्यान्डमा हुने एकदिवशीय विश्वकपको छनौट चरण खेल्न पाउनेछन् । आन्तरिक विवादमा फसेको क्यानलाई नेतृत्व बिहीनताको अवस्था आएका कारण देखाउँदै आइसिसिको बोर्ड बैठकले गत वैशाख १२ गते निलम्बित गरेको थियो । 
 
आइसीसीले क्यान स्वतन्त्र निकायका रुपमा स्थापित नहुँदासम्म निलम्बन कायमै रहने विज्ञप्तिमार्फत उल्लेख गरेको थियो । क्यान निलम्बनमा परेपनि नेपाली क्रिकेट टोलीले आइसीसीको अन्तर्राट्रिय प्रतियोगिताहरू भने खेल्न पाउने जनाएको कारबाहीका बेला नै जनाएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ