arrow

हाम्राकुराकर्मी प्रकाश हुमागाँई मल्टिकल्चरल सोसाइटी उपाध्यक्षमा मनोनित 

logo
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
australia-nepali-society.jpg

सिड्नी । मल्टिकल्चरल सोसाइटी क्याम्पबलटाउन अष्ट्रेलियाले नेपाली समुदायको तर्फबाट उपाध्यक्ष पदमा हाम्राकुरा डटकमका अष्ट्रेलिया सहयोगी पत्रकार प्रकाश हुमागाँई र कोषाध्यक्षमा समाजसेवी हरिभक्त अधिकारी (ह्यारी) लाई मनोनयन गरेको छ । हुमागाँई ल्यूमिया नेपलिज कम्युनिटीका अध्यक्ष हुन् भने अधिकारी साउथवेस्ट नेपलिज कम्युनिटीका जनसम्पर्क संयोजक हुन् । 

त्यस्तै सोसाइटीको सल्लाहकारमा साउथवेस्ट नेपलिज कम्युनिटीका अध्यक्ष डाक्टर देवेन्द्र सापकोटालाई नियुक्त गरिएको सोसाइटीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । अष्ट्रेलियाको ब्यापारिक सहर सिड्नीको नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्र हो क्याम्पबलटाउन । करिव ३५ सय नेपालीहरु स्थायी बसोवास गर्ने क्याम्पबलटाउन क्षेत्रमा दिनानुदिन नेपालीहरु बसाई सर्ने क्रम बढेसंगै नेपालीहरुको सामाजिक र राजनीतिक दायरा पनि फराकिलो हुँदै गएको परिप्रेक्षमा मल्टिकल्चर सोसाइटी जस्तो महत्वपूर्ण संस्थामा माथिल्लो पद पाउनु गर्वको विषय भएको समुदायका अगुवाहरुले बताएका छन् । 

लामो समयदेखि पत्रकारितामार्फत समाजमा आफ्नो छुट्टै पहिचान बनाएका हुमागाँई पछिल्लो समय सामुदायिक क्रियाकलापमा पनि त्यतिकै सकृय रहँदै आएका छन् । नेपाल पत्रकार महासंघको अन्तराष्ट्रिय समन्वय समिति सदस्य, नेपाल अष्ट्रेलिया डेमोक्रेटिक फोरमको मिडिया संयोजक लगायतका सामाजिक संस्थामा रहँदै आएका हुमागाँईले संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो पहिचानलाई स्थापित गर्न लागिपर्ने आफ्नो सोचलाई यो मनोनयनले थप टेवा पुगेको बताए  ।

त्यस्तै कोषाध्यक्षको जिम्मेवारी पाएका ह्यारी अधिकारी सिड्नीका नेपाली माझ लोकप्रिय विस रियल स्टेटका डाइरेक्टर हुन् । एनएडिएफ उपाध्यक्ष, एनआरएन अष्ट्रेलियाको नेपाल प्रमोसन टु मेनस्ट्रिम अष्ट्रेलिया टास्कफोर्स संयोजक लगायतका भूमिकामा रहेका अधिकारी नेपालीको सामाजिक र सांस्कृतिक पहिचानलाई दरिलो बनाउन यो मनोनयनले थप सहयोग पुग्ने बताउँछन् ।      

विभिन्न देशबाट बसाई सरी अष्ट्रेलियालाई कर्मभूमि बनाएका सामाजिक ब्यक्तित्वहरुले प्रतिनिधित्व गर्ने गरेको मल्टिकल्चर सोसाईटीमा नेपालीका अलावा बंगलादेश, भारत, पाकिस्तान, फिलिपिन्स, टोरेसस्टेट आइल्यान्डर, अष्ट्रेलियन एवोरजिनल, श्रीलंका, मलेसिया लगायतका देशको प्रतिनिधित्व रहेको छ । 

सोसाइटीले विभिन्न सांस्कृतिक कार्यक्रम, मेला र महोत्सवहरुको आयोजना गर्दै आएको छ । जसमा विभिन्न देशका सांस्कृतिक र मौलिक पहिचान सहित बर्सेनि हजारौँलाई सहभागी गराउने गरी कार्यक्रम आयोजना हुँदै आएको छ । गत वर्ष ल्यूमियामा गरिएको बैशाखी महोत्सवमा करिब ४० हजार सहभागी उपस्थित भएका थिए भने अष्ट्रेलियन सरकारका केन्द्रीय मन्त्रीदेखि सांसदसम्म कार्यक्रममा उपस्थित थिए । 

सोसाइटीको अध्यक्षमा बंगलादेशी समुदायको तर्फबाट इनाम हकले नेतृत्व गर्दै आएका छन् । वरिष्ठ उपाध्यक्षमा मोहोम्मद जहागिर अलाम,उपाध्यक्षमा प्रकाश हुमागाँई, अमर सिंह, महासचिवमा सफिकुल अलाम, उपमहासचिवमा रौनक मिया, सदस्यमा ब्रायन ल्यूल, मोहम्मद जामन तितु, मोवारक हुस्सैन लगायतका रहेका छन् । 

क्याम्पबलटाउन काउन्सीलमार्फत हुने विभिन्न सामुदायिक कार्यक्रममा सकृय भूमिका निर्वाह गर्दै आएका सल्लाहकार सापकोटा यस क्षेत्रमा नेपालीहरुको पहिचान स्थापित गर्न सकृयरुपमा सहभागि हुने गरेको जानकारहरु बताउँछन् । आफ्नो कम्युनिटीका अध्यक्षले मल्टिकल्चर जस्तो लोकप्रिय र अग्रणी संस्थामा उपाध्यक्ष जस्तो नेतृत्वदायी भूमिका पाउनुले आफुहरु निक्कै हर्षित भएको ल्यूमिया नेपलिज कम्युनिटीका उपाध्यक्ष प्रमोद धितालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ