arrow

बीस देशमा कोरोना भाइरसबाट तीन सय बढी नेपालीको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर २१ आइतबार
corona-world.jpg

लण्डन । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ ।  गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा निधन भएको हो । यो साता  जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको  नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घट्ना हो ।

स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा  रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म  विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा  ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१  प्रतिशत रहेको हो ।  

हालसम्म नेपालमा मात्र २ लाख १६ हजार ५ सय ९४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये २ लाख ३४ हजार ७ सय ५६ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर  ९२ दशमलव ३ प्रतिशत रहेको छ ।  नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ५ सय २९ जनाको ज्यान गएको छ ।    

छिट्टै खोप आउने विश्वास
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाले कोरोना भाइरस विरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने संकेत देखा परेको भन्दै खुशी व्यक्त गरेका छन् । 

रुसले निर्माण गरेको स्पुत्निक ५ खोपको सामुहिक परिक्षण सुरु भएको र बेलायत र बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उनको भनाई छ । यद्यपी नेपाली समुदायको ठूलो आवादी रहेको अमेरिका लगायतका मुलुकमा खोप प्रयोगको लागि एफडीएद्वारा अझै मान्यता प्राप्त नभएको र संक्रमण दर समेत उच्च रहेकोले सावधानी अपनाउनुको विकल्प नरहेको उनले बताए ।

विश्वका कोरोना प्रभावित प्रत्येक मुलुकमा खोप उपलब्ध हुने आफ्नै समयरेखा तय भएको हुने हुँदा र खोपको पहुँचका लागि अझै केही समय प्रतिक्षा गर्नुपर्ने हुनसक्ने भन्दै डा. सापकोटाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे । 

खोपको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, जोखिमयक्त अवस्थाका  मानिस, कमजोर स्वास्थ्य अवस्थाका विरामी पर्ने भन्दै अन्य सबैले कोरोना लाग्नबाटै बच्ने उपाय अवलम्वन गर्न सकिने उनले बताए । विदेशमा रहेका नेपालीहरु संक्रमणको उच्च जोखिमबाट अझै मुक्त नभएको भन्दै डा. सापकोटाले उच्च स्वास्थ्य सावधानी अपनाएर जनजीवन सामान्य बनाउन आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ