arrow

त्रिवि दीक्षान्त : बगालेलाई चान्सलर पदकसहित तीन पदक

logo
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
tu-university-1.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४६ औँ दीक्षान्त समारोहमा चान्सलर पदक लिलाप्रसाद बगालेले प्राप्त गरेका छन् । मूल समारोह समितिका सदस्यसचिव डा धनश्याम ठाकुरले त्रिवि केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तह परीक्षामा प्रथम श्रेणीमा प्रथम हुने बगालेलाई सो पुरस्कार प्रदान गर्न थालिएको जानकारी दिए । वगालेले ४.० सिजिपिए प्राप्त गरेका छन् । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का सहनियन्त्रकसमेत रहेका ठाकुरले समारोहमा विभिन्न ३१ वटा पदक र पुरस्कार प्रदान गर्ने बताए । बगालले चान्सलरसहित त्रिवि प्राध्यापक सङ्घ स्वर्ग पदक र रामप्रसाद मानन्धर स्वर्ग पदकसमेत पाएका छन् । इन्द्रभक्त श्रेष्ठ स्वर्ग पदक स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत एमविए तहमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने प्रतीक्षा रिजालले प्राप्त गरेका छन् । उनले ३.९२ अङ्क प्राप्त गरेका छन् । 

यस्तै अङ्ग्रेजी केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरबाट ३.९४ अङ्क ल्याउनुभएका स्वर्णियराज लम्सालले नरेन्द्रमणि आचार्य दीक्षित स्वर्ण पदक र मोहनप्रसाद लाखे स्वर्ण पदक पाएका छन् । दुवै पदक अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तहमा सर्वप्रथम भएको वापत प्राप्त गरेका थिए । यसैगरी अर्थशास्त्र केन्द्रीय विभाग, केन्द्रीय क्याम्पसमा अध्ययनरत नरेन्द्रराज पनेरुले तारापद चौधरी पदक, खगेन्द्रमानसिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाएका छन् । उनले स्नातकोत्तर तहमा अर्थशास्त्र विषयमा ३.८५ सिजिपिए ल्याई सर्वप्रथम भएका थिए । 

यस्तै पत्रकारिता केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरबाट २०७४ सालको स्नातकोत्तर तहको पत्रकारिता विषयमा सर्वोकृष्ट अङ्कका साथ सर्वप्रथम भएका राष्ट्रिय समाचार समिति -राससका उपप्रमुख समाचारदाता शरदचन्द्र भण्डारीले दुई वटा पदक पाएका छन् । उनले त्रिवि दीक्षान्त पदक र नारायण शान्ति मिश्र पदक पाएका छन् । 

यसैगरी रसायनशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरबाट स्नातकोत्तर तह -एमएस्सी_मा सर्वप्रथम भएका रामलाल भुसालले अमृत पदक र पिएम सिंह पदक पाएका छन् । समारोहमा व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरबाट स्नातकोत्तर तह (एमविएस) परीक्षामा सर्वप्रथम भएकी पूजा भट्टराईले नेपाल बैंक लिमिटेड खरदार गुञ्जमानसिं स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाएकी छन् । 

यस्तै राजनीतिशास्त्र केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरबाट राजनीतिशास्त्रमा एमए गरेका चक्र बमले ललित चन्द पदक र बडाकाजी मरिचमानसिंह पदक पाएका छन् । 

२०० मात्र सहभागी
कोभिड–१९ को कारणले यसवर्ष दीक्षित हुने सीमित विद्यार्थीलाई मात्र समारोहमा सहभागी गराउने समारोह समितिका सदस्यसचिव डा ठाकुरले जानकारी दिए । उनका अनुसार समारोहमा पदक पाउने, विद्यावारिधि र एमफिलका दीक्षित हुने र अन्य अतिथि गरी करिब २०० जनालाई मात्र  सहभागी गराइने छ । सधँै पुल्चोकस्थित पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुँदै आएको दीक्षान्त समारोह यसपटक भने बल्खुस्थित पनिका कार्यालयको प्राङ्गणमा हुनेभएको छ । 

दीक्षान्त समारोहमा ५८औँ ग्रेडलिस्टका ५६ हजार ७१३  जना सहभागी हुने पाउने व्यवस्था भए पनि कोभिड–१९ को कारणले दीक्षित हुने विद्यार्थी अघिल्लो वर्षको तुलनामा घटेका छन् । यसवर्ष सात हजार ८७ जना विद्यार्थी दीक्षित हुँदैछन् । गतवर्ष करिब १० हजार विद्यार्थी समारोहमा सहभागी भएका थिए । समारोहमा २०७६ असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म उत्र्तिण भई ट्रान्सक्रिप्ट दिएका स्नातक, स्नातकोत्तर तह, एमफिल र विद्यावारिधि गरेका विद्यार्थी सहभागी हुने छन् । समारोह पुस ६ गते हुँदैछ । रासस



नयाँ