arrow

दुई हप्ताभित्र चलचित्र हल खोल्न सरकारलाई दबाब, नदिए आफैं खोल्ने चेतावनी 

logo
 विवेक मिश्र, 
प्रकाशित २०७७ मंसिर २८ आइतबार
chalachitra-sanchalak-purba.jpg

मोरङ । गत चैतदेखि बन्द रहेका  ‘चलचित्र हल’ संचालन गर्न संचालकहरुले सरकारलाई दवाब दिएका छन् । नेपाल चलचित्र संघ पूर्वाअञ्चलको शाखा ईटहरीमा बसेको बैठकले हल संचालन गर्न सरकारलाई दबाब दिएको हो । 

कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि थलिएको सिनेमा घरका संचालकहरु यतिबेला हलमा लगाएको लगानी निल्नु न ओकल्नुको अवस्थामा पुगेको गुनासो गरिरहेका छन् ।

सरकारले अन्य सबै किसिमका व्यवसाय संचालन गर्न दिए पनि हललाई भने अहिलेसम्म कुनै पनि निर्णय नगरेको  सारदा चलचित्र हल बेलबारीका संचालक तथा नेपाल चलचित्र संघका निवर्तमान पूर्वाञ्चल सभापति विकास कोइरालाले बताए ।

यसैबीच ईटहरीमा शनिबार बसेको बैठकले अबको १५ दिनभित्र मुलुकभरका सम्पुर्ण हल संचालन गर्न दिनुपर्ने माग राखेका छन् । अबको १५ दिनभित्र हल संचालन गर्न राज्यले कुनै पनि निष्कर्ष ननिकाले पूर्वाञ्चल चलचित्र शाखाले केन्द्रसँग समन्वय गरेर हल आफैँ चलाउने नेपाल चलचित्र पूर्वाअञ्चल शाखाका संयोजक चैतन्य बरालले जानकारी दिए । 

अँग्रेजी महिनाको नयाँ बर्ष अगाडिदेखि नै हल संचालन गर्न दिए चलचित्र हल व्यवसायीहरुलाई केही राहत मिल्ने बरालले बताए । लामो समयदेखि बन्द रहेका सीमा नाका खोलिदिए नयाँ बर्षमा भारतबाट अधिकांश भारतीय पर्यटक आउने बरालको दावी छ । सरकारले हल संचालन दिए स्वास्थ्य प्रोटोकल पालना गरि हल संचालन गर्ने हल व्यवसायीहरुको भनाई छ ।

यता हल संचालक तथा चलचित्र व्यवसायीहरुले सरकारले हल संचालन गर्न दिएको समयदेखि २ बर्षसम्म राज्यलाई कर नबुझाउने समेत निष्कर्षमा पुगेका छन् । हाल पूर्वाञ्चलमा २३ वटा ठूला तथा साना सिनेमा हल संचालनमा छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ