arrow

स्मरणः बुबालाई चोट पुर्याएँ कि भन्ने पश्चाताप भइरहन्छ 

logo
नवराज केसी,
प्रकाशित २०७७ पुष ९ बिहिबार
ranabahadur-khatri-nawaraj-.jpg

२०७४ साल चैत्र महिनामा आमाको न्यानो काख गुमाए पनि बुबा रणबहादुर खत्रीको आश्रय र आशीर्वादको छत्रछाँयामा थियौँ । तर गत मंसिर ३० गते बुबा रणबहादुरले पनि हामी सबैलाई छोडेर सदाको लागि बिदा लिएर जानु भएको छ । उहाँका सन्तान हामी सबैको शिरबाट मातापिताको साथ र माया खोसिएको छ । मेरा बुबा जीवनको लामो समय राजनीतिमा बिताउनु भएका निर्भिक, निडर र इमानदार व्यक्तित्व हुनुहुन्थ्यो । तत्कालीन रुपमा नेतृत्व गरिरहनु भएको गाउँ पंचायतका बुढापाकाहरु अहिलेसम्म पनि उहाँको नेतृत्वलाई संझेर तारिफ गरिरहनु भएको छ । आमाबुबाको रगतलाई पछ्याउँदै म पनि लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा नै सक्रिय छु । 

हाल म नेपाली कांग्रेस ओखलढुंगाको पार्टी सचिव तथा चम्पादेबी गाउँपालिका अध्यक्ष छु भने भतिज अजय नेपाली काँग्रेस जिल्ला कार्य समितिको सदस्य तथा चम्पादेबी गाउँपालिका वडा नं ८ को निर्वाचित वडाध्यक्ष हो । परिवारका अरु सदस्यहरुमा उच्च राजनीतिक सुझबुझ भएता पनि खासै सक्रिय नभएको परिस्थिति हो । मेरो दाइ नेत्र केसी सशस्त्र प्रहरीको वरिष्ठ उपरीक्षक हुनुहुन्छ । दाइ डिबी केसी रिटायर्ड इन्डियन आर्मीहो भने अरु आ–आफ्नो पेशा–व्यवसायमा कृयाशील हुनुहुन्छ ।

म एउटा राजनीतिकर्मी भएका कारण नेपाली कांग्रेस ओखलढुङ्गाको जिल्ला नेतृत्व तहमा छु । मेरो बिषयमा राम्रा नराम्रा टिकाटिप्पणी हुनु स्वभाविक हो । त्यसलाई मैले स्वभाविक रुपमा लिन्छु र लिएको पनि छु । फेरि एउटा राजनीतिक पार्टीको आस्था बोकेको मानिसले अर्को राजनीतिक पार्टीको आस्था बोकेको मानिसलाई होच्याएर हिलो छ्यापाछ्याप गर्नु हाम्रो नेपालको राजनीतिक संस्कार नै बनिसकेको छ ।

२०७७ आश्विन २८ गते मेरो फेसबुक आइडीमा मेरो पालिकाको एकजना भाइले विकासमा अगाडि चम्पादेवी भनेर मेरो फोटो राखेर मलाई ट्याग गरेर पोस्ट गरेछन् । त्यसै क्रममा एउटा कृष्ण तोलाचन नामको फेसबुक आईडीबाट केही वाक्यहरु उक्त पोस्टमा कमेन्ट गरेको देखियो । उक्त वाक्यहरु अध्ययन र विश्लेषण गर्दा मेरा आदरणीय पिता सम्मानित एवं वेदाग व्यक्तित्व पूर्व प्रधानपञ्च रणबहादुर खत्री उपर गम्भीर आरोप लगाएको छ ।

मेरा मातापिताको राजनीतिसंग मेरो राजनीतिक जीवनलाई जोडेर गरेको त्यो कमेन्ट अनर्गल मनगढन्ते कुरा नितान्त पूर्वाग्रहका साथ गरिएको विषबमन हो । मैले त झारपात भनेर वास्ता गरिन । तर मेरो परिवारका अरु सदस्यहरुले त्यो कमेन्टलाई सहजरुपमा लिन सक्नुभएन उहाँहरु त्यस्तो जेपायो तेही कमेन्ट गर्नेलाई केही गरेन भनेर सबैले उल्टो मसंग चित्त दुखाएका छन् । मैले सबैलाई राजनीतिमा यस्ता आरोप–प्रत्यारोप भइरहन्छन् । सामान्य कुरा हुन् । म नेपाली काँग्रेसको पार्टी सचिवको प्रशंसालाई नेकपाको कार्यकर्तालाई नपच्नु र विरोध गर्नु सामान्य कुरा हो । यसमा किन टाउको दुखाउनु रु मैले सामान्य रुपमा लिए पनि अरु दाजुभाइले यसलाई सहज रुपमा ग्रहण गर्न सकिरहेका थिएनन् ।

यो कुरा कसैले बुबालाई पनि देखाइ दिएछन् । बुबाले पनि यसलाई सामान्य रुपमा लिए जस्तो लाग्यो । ‘सत्य कुरा दुनियाँलाई थाहा छ भन्दे’ भन्नुभयो । तर बुबाले मलाई अरुसंग वादविवाद नगरोस् भनेर भन्नु भएको भए पनि त्यो गलत टिप्पणीले बुबालाई मनभित्र चोट त परेछ १ त्यस लगतै म १५–२० दिनपछि फेरि काठमाडौं आएँ । बुबालाई भेट्न गएँ । बुबाले ‘त्यो अस्ति मेरो बारेमा झुटो बनावटी कुरा गर्ने मान्छे कसको छोरो रहेछ रु’ भनेर सोध्नुभयो ।

मैले त बिर्सिसकेको थिएँ । तर बुबालाई त्यो कमेन्ट बिझिरहेको रहेछ । मैले फेरि ‘हा, छोडिदिनु बुवा त्यो जसको सुकै छोरा होस्’ भनिदिएँ । बुबा रणबहादुर परलोक भएको दशौँ दिन भइसक्यो । तर मलाई आशौच (किरिया) मा बसिरहँदा पनि त्यो कमेन्ट संझेर मेरो कारणले बुबाको स्वाभिमान र निष्ठामा ठेस लाग्यो । बुढेसकालमा मैले बुबालाई चोट पुर्याएँ भन्ने पश्चाताप भइरहेको छ।

म व्यवसायिक लेखक वा संचारकर्मी नभएता पनि केही कुराहरु राखेर बसिबियाँलो गर्ने प्रयास गरेको छु । राजनीतिकर्मीका नाताले ठीकै गरे पनि एक छोराको हैसियतमा सायद यी कुराहरु मैले बुबा जिउँदै हुँदा राख्नु पर्थ्यो कि जस्तो लागिरहेको छ ।

मैले यहाँ उल्लेख गरेका केही कुराहरुले पञ्चायती व्यवस्थाको महत्व बढाउन वा बढावा दिन खोजेको कदापि होइन र हालको लोकतान्त्रिक व्यवस्थालाई अवमूल्यन गर्न खोजेको पनि होइन । अहिलेको लोकतान्त्रिक व्यवस्थामा नेतृत्व तहमा रहेका व्यक्तिहरु असल नभएको कुरा पनि समय–समयमा सञ्चार माध्यममा आइरहेकै छन् । त्यसैगरी विगतको पञ्चायती व्यवस्थामा पनि नेतृत्व तहमा रहेका सबै व्यक्तिहरु निरंकुश शासक मात्र थिएनन् । 

जनप्रिय, जनप्रेमी, न्याय, नैतिकता, आचरण भएका र व्यवहारिक राजनीतिको नेतृत्व गर्ने सबालमा अब्बल रहेको उदाहरण धेरै नै पाइन्छ । त्यस्तै अब्बल जनप्रेमी र जनप्रिय थिए–आदरणीय मातापिता स्व। रण बहादुर खत्री तथा स्व। गायत्रादेवी खत्री । प्रधानपञ्च हुँदाको समयमा उहाँहरुको राजनीतिक जीवन र कार्यकालको स्मरण र समीक्षा गर्दै केही महत्वपूर्ण कुराहरु राख्ने जमर्को गरेको छु ।

२०२१–२२ सालदेखि नै रणबहादुर खत्री तत्कालीन बिलन्दु गाउँ पञ्चायतको प्रधानपञ्च रहँदा उहाँको कार्यकालमा सबै जनता, स्कूलका शिक्षक र विद्यार्थी तथा उक्त समयमा पञ्चायती संरचना अन्तर्गत गाउँ पञ्चायतमा कार्यरत कर्मचारीहरुसमेत सबै जना सन्तुष्ट थिए । उहाँले सम्पादन गर्नु भएका कार्यहरु, आचरण र व्यवहारमा समेत कहीँ कसैले खोट लगाउने ठाउँ नै थिएन । २०३३–३४ सालमा ओखलढुंगा जिल्ला सदरमुकाममा जिल्ला सभा हुँदा सबै पञ्चायतका प्रधानपञ्चहरु, प्रमुख जिल्ला अधिकारी र पञ्चायत विकास अधिकारी सहितका जिल्लाका नेताहरुसमेत सहभागी भएको सभा बैठकमा बिलन्दु गाउँ पञ्चायतमा पर्ने पात्ले खोलामा निर्माण गर्नु पर्ने झोलुङ्गे पुलको योजना राख्ने कि नराख्ने भन्ने विषयमा आफ्ना कुराहरु राख्ने क्रममा तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग केही कुरामा प्रधानपञ्च रणबहादुर खत्रीको मतभेद भएको थियो । 

यसैको फलस्वरुपः २०३४ सालको गाउँ पञ्चायतको निर्वाचनमा निज प्रमुख जिल्ला अधिकारीले केही आरोपहरु लगाएर प्रधानपञ्च पदमा उम्मेदवारी दिनको लागि रणबहादुर खत्रीको अनुमोदन रोक्का गरिदिएका थिए । तत्कालीन पञ्चायती निर्वाचन कानून अनुसार प्रधानपञ्च पदमा उम्मेदवार हुनका लागि गाउँफर्क राष्ट्रिय अभियानको जिल्ला स्तरीय कार्यालयबाट अनुमोदन पत्र लिनु पर्ने कानूनी व्यवस्था थियो र उक्त समितिमा प्रमुख जिल्ला अधिकारी पनि रहने हुनाले रणबहादुर खत्रीको अनुमोदन रोक्का भएको थियो । यसैको परिणाम स्वरुप बिलन्दु गाउँ पञ्चायतमा प्रधानपञ्च पदमा कसैको पनि उम्मेदवारी परेन ।

बिलन्दु गाउँ पञ्चायतका जनता सबैले रणबहादुर खत्री बाहेक अरुलाई प्रधानपञ्च बनाउन चाहेनन् । तर जिल्ला स्तरीय गाउँ फर्क राष्ट्रिय अभियानको कार्यालयले भने तत्कालीन प्रमुख जिल्ला अधिकारीको दवावका कारण उम्मेदवारीको अनुमोदन दिन सकेन । त्यस समयमा बिलन्दु गाउँ पञ्चायतमा एक प्रकारको शून्यता अथवा नेतृत्व रिक्तताको अवस्था आइपरेको थियो । 

त्यस्तो अवस्थामा स्थानीय जनताले नै विकल्पका रुपमा  ‘रणबहादुर खत्रीलाई अनुमोदन नदिएर के भयो त  उहाँको सट्टामा उहाँकै धर्मपत्नी श्रीमती गायत्रादेवी खत्रीलाई हामी (जनता) प्रधानपञ्चको रुपमा निर्वाचित गराउँछौ’ भनेपछि गायत्रादेवी खत्रीको नाममा अनुमोदन प्राप्त भएर उहाँले उम्मेदवारी दिएपछि अरु कसैको पनि उम्मेदवारी परेको थिएन । यसरी उहाँको बाहेक अरु कसैको पनि उम्मेदवारी नपरेको हुँदा बिलन्दु गाउँ पञ्चायतको प्रधानपञ्च पदमा गायत्रादेवी निर्विरोध निर्वाचित हुनु भएको थियो र जनता आफैंले उक्त रिक्तताको निकास दिएका थिए ।

उहाँको विरुद्धमा अरु कसैले पनि उम्मेदवारी नदिएको अवस्थाबाट स्पष्ट हुन्छ कि तत्कालीन समयमा ओखलढुंगा जिल्लाको बिलन्दु गाउँ पञ्चायतमा रणबहादुर खत्री र गायत्रादेवी खत्रीको छवि कतिसम्म स्वच्छ, सम्मानित र उच्च थियो भन्ने कुरा अनुमान गर्न सकिन्छ । यस आधारमा भन्नुपर्दा न्याय, नैतिकता, इमानदारी, आचरण, व्यवहार र जनताको सेवा गर्ने सवालमा स्व। गायत्रादेवी र रणबहादुर खत्रीको नेतृत्वको कार्यकाल अब्बल र अतुलनीय थियो । सानो वा ठूलो जुनसुकै तहको पदमा निर्वाचनमा उम्मेदवारी दिँदा विरोधीहरु खडा भएपछि भोट माग्ने काममा दौडधुप गरेर बढी मत ल्याएर जितेको अवस्थाभन्दा निर्विरोध निर्वाचित भएर विजय हासिल गर्नुको महत्व बेग्लै रहन्छ ।

यद्यपि म यहाँ पिता रणबहादुर खत्री उपर लगाएको मनगढन्ते र कपोकल्पित आरोपको विषयमा प्रसंग जोड्ने धृष्टता गर्दैछु । अर्थात् तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारीले आदरणीय रणबहादुर खत्री उपर सबै आरोपहरु पूर्वाग्रही सोच राखेर लगाएको हुनाले पुष्टि हुन सकेनन् र सबै झुठा ठहरिएको इतिहासमात्र साक्षी छैन स्थानीय बिलन्दु गाउँ पञ्चायत ९हाल–चम्पादेवी गाउँपालिका वाडनं ८ का जनताले निर्विरोध आफ्नो नेतृत्व चयन गरेको दशी प्रमाणका रुपमा अनेक लिखतहरु पर्याप्त मात्रामा सुरक्षित छन् । 

शायद सोको अभिलेख हालसम्म पनि जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा सुरक्षित नै हुनुपर्छ । यस विषयमा जिज्ञासा राख्ने व्यक्तिले खोजी गरेको खण्डमा अवश्य पाउन सक्ने छन् । प्रमुख जिल्ला अधिकारीले आरोप पुष्टि गराउन नसकेपछि पुनः अर्को जिल्ला सभाको बैठकमा रणबहादुर खत्रीले आफ्नी धर्मपत्नी प्रधानपञ्च गायत्रादेवी खत्रीलाई लिएर सहभागी हुन जाँदा निज प्रमुख जिल्ला अधिकारीले भनेको कुरा बिलन्दु गाउँका कतिपय वृद्ध व्यक्तित्वहरुलाई अहिलेसम्म पनि सम्झना ताजै छ । निज प्रमुख जिल्ला अधिकारीले भनेका थिए–‘रणबहादुरजी, ओखलढुंगा जिल्लाका ५४ वटा गाउँ पञ्चायतमध्ये बिलन्दु गाउँ पञ्चायतबाट महिला प्रधानपञ्च निर्वाचित हुनु भएको र त्यो पनि निर्विरोध रुपमा, यो खबर केन्द्रमा पुग्दा त्यति दुर्गम र पिछडिएको स्थानबाट महिला प्रधानपञ्च निर्विरोध निर्वाचित हुनु भएको रहेछ, यो कुरा साँच्चै नै महिलाहरुको उत्थान र सशक्तिकरणको सवालमा धेरै राम्रो उपलब्धी हो र यो उदाहरणीय कुरा पनि हो भनेर प्रशंसा भएको छ ।’ भन्दै खुशी भएका थिए ।

तत्पश्चात २०३९ सालको निर्वाचनमा बिलन्दु गाउँ पञ्चायतको प्रधानपञ्चमा पुनः रणबहादुर खत्री नै निर्वाचित भएर लगातार उहाँ नै प्रधानपञ्च रहनु भएको थियो । उहाँ स्वच्छ छवि¸ वेदाग र शालिन व्यक्तित्व अनि न्याय¸ नैतिकता¸ इमान्दारी र निष्ठाको राजनीतिको पक्षधर हुनुहुन्थ्यो । उहाँको विषयमा कृष्ण तोलाचन नामको फेसबुक आईडी भएको व्यक्तिले झुठा‚ निराधर एवं भ्रामक कुराहरु राखेर मेरो फेसबुक आइडीमा कमेन्ट पोष्ट गरेको कुराले मेरा पिता स्व। रणबहादुर खत्री लगायत मेरो परिवारलाई मात्र नभइ साबिक बिलन्दु पंचायतका जनतालाई अत्यन्तै दुःखी एवं मर्माहत बनाएको छ । यस विषयमा खण्डन गर्न वा आफ्ना केही कुराहरु राखेर चोटिलो जवाफ दिनको लागि मलाई मेरो परिवार आफन्तजन तथा शुभचिन्तकहरुले गाउँपालिका अध्यक्ष एवं रणबहादुर तथा गायत्रादेवी खत्रीको सन्तति भएको नाताले आग्रह गर्दा पनि मैले यसलाई सामान्य रुपमा लिएर विस्मृतिमा राखेको थिएँ । जुन व्यक्तिले यो झुठा र भ्रामक कुरा राखेर पोष्ट गरेको छ त्यस व्यक्तिको सम्बन्धमा निर्णय गर्ने अधिकार जनतालाई सुम्पियौं । जनताबाट जे आदेश प्राप्त हुन्छ, त्यसैलाई शीरोधार्य गरौं भनिदिएँ । सबैले त्यो तोलाचन भन्ने ब्यक्तिको कमेन्टमा विरोध जनाएर स्टाटस लेखे तर म चुपचाप बसेँ । मेरो पदीय जिम्मेवारीले एउटा सामान्य मनगढन्ते कुरा लेखेर अरुलाई खसाल्ने प्रवृत्तिको मनोरोगीसँग पौठाजोरी खोज्ने अनुमति दिएन ।

मैले यस्तो निकृष्ट आरोपलाई पनि सहजतापूर्वक सहन गर्नुपर्यो । त्यसपछि मात्रै मलाई बोध भयो कि जिम्मेवार पदमा रहेर देश र जनताको सेवा गर्दै जनताको सुख दुःखमा साथ दिनका लागि तत्पर रहने व्यक्तिले आफू र आफ्नो परिवारको विरुद्धमा आएका आलोचना र लान्छनाहरु धैर्यताका साथ सुन्ने¸ मनन् गर्ने र साँच्चै सुधार गर्नु पर्ने कुराहरु रहेछन् भने सुधार गर्ने अनि गलत र भ्रामक कुराहरु भएमा त्यस्तो कुरा गर्ने व्यक्तिलाई माफी मिनाहा दिन सक्ने सहनशीलता हुनु पर्ने रहेछ । ‘आखिरीमा झुठो तग्दैन र सत्य डग्दैन’ भन्ने कुरा सबैले बुझेका छन् । यो गलत कुराको पोष्ट गर्ने व्यक्ति आफैंले आत्मालोचना गर्दै आफु र आफ्नो परिवारको पृष्ठभूमि‚ आचरण र व्यवहारको बारेमा स्मरण गर्ने नै छन् । तिक्तताका साथ गलत र भ्रनमक शब्दहरु राखेर घोचपेच गरेर निम्न स्तरको व्यवहार गर्ने बानी स्व रणबहादुर तथा गायत्रादेवी खत्रीका सन्ततिहरुमा छैन र हुँदैन पनि ।

अन्त्यमा स्व रण बहादुर र स्व गायत्रादेवी खत्रीको विरासत थाम्नका लागि उनकै सन्ततिहरुमध्ये म छोरा नवराज केसी चम्पादेवी गाउँपालिका अध्यक्षको रुपमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनताबाट निर्वाचित भई हाल कार्यरत छु । त्यसैगरी उहाँहरुकै सन्तति नाति अजय लुइटेल चम्पादेवी गाउँपालिकाको वडा नं ८ को वडाध्यक्षको रुपमा सोही निर्वाचनमा जनताबाटै निर्वाचित भई हाल कार्यरत रहेको अवस्था छ ।

स्व रणबहादुर तथा गायत्रादेवीबाट दीक्षित निष्ठाको राजनीति गरेर जनताको सेवा गर्न तत्पर अझै एक जना सवल व्यक्तित्व उहॉहरुकै सुपुत्र हाल सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र केसीको निकट भविष्यमा नै राजनीतिमा आगमन हुँदैछ । आवश्यक परेको खण्डमा रणबहादुर तथा गायत्रादेवी खत्रीका सन्ततिहरु आफ्नो योग्यता र क्षमतालाई दर्शाएर न्याय, नैतिकता अनि राजनीतिक मूल्य र मान्यतालाई शिरोधार्य गर्दै अरु पनि राजनीतिमा होमिन पछि पर्ने छैनन् । जय नेपाल । जय चम्पादेवी माता ।। 



नयाँ