- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आज पुस १० गते हाम्री ममतामयी माता स्व. टंककुमारीले ९० वर्षको उमेरमा हामीलाई सदाको लागि छोडेर जानुभएको सात दिन बितेको छ । हामीलाई परेको मातृशोकमा हजारौं इष्टमित्र, नातागोता र शुभचिन्तकले कोभिड–१९ को प्रकोपका बावजूद घरमा वा आर्यघाटमा आएर, टेलिफोन वा सामाजिक सञ्जालमार्फत हामीप्रति व्यक्त गर्नुभएको गहिरो समवेदना र स्वर्गीय मुमाप्रति हार्दिक श्रद्धाञ्जली तथा दिवंगत आत्माको चीर शान्तिको लागि गर्नुभएको शुभकामनाको लागि म लगायत समस्त परिवारजन आभारी छौं र कृतज्ञतापूर्वक धन्यवाद व्यक्त गर्दछौं । उहाँहरूको समवेदना र श्रद्धाञ्जलीबाट म लगायत समस्त परिवारले असाधारण आत्मीयता, उर्जा र उत्साह पाएको अनुभूति गरेका छौं ।
निधनभन्दा अघि उहाँको उपचारको क्रममा आदरणीय प्रतिष्ठित डाक्टरहरूको उच्चस्तरीय चिकित्सक सेवा, नर्स बहिनीहरू र स्वास्थ्य सहायकहरूको व्यावसायिक निष्ठा र हार्दिकतापूर्ण सेवाको अथक प्रयासका बाबजूद मुमा संसारबाट विदा हुनुभयो । उहाँहरूको आत्मीय र स्नेहशील सेवाप्रति म लगायत समस्त परिवारजन कृतज्ञताका साथ हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
जुनसुकै धर्मावलम्बी वा संस्कृतिको मानिसका निमित्त जीवनको अन्तिम संस्कार अन्त्येष्टि संस्कार मानिन्छ । मृत्युलाई जीवनको अन्तिम सत्यमात्र होइन, जीवनकै एक चरणको रुपमा धर्मगुरूहरू अर्थ लगाउँछन् । मृतकलाई सुख र कल्याण होस् र दिवंगत आत्माले चीर शान्ति पाओस् भन्ने भक्तिभावले मृत्यु संस्कार गरिने हो ।
तर प्रियजनको निधनमा गरिने काज–क्रिया कति दिनको हुनुपर्छ भन्नेमा हिन्दू धर्मभित्रै एकरुपता छैन । धर्मगुरूहरू वा ब्राम्हण परम्परामा पनि एकरुपता छैन । सबैका आ–आफ्नै चेतना, विवेक, परम्पराअनुरुपका मान्यता र तर्कहरू छन् । कसैले १३ दिन काजक्रिया गर्छु र वर्षैभरि यससम्बन्धी अन्य नियम पालन गर्छु भन्ने नैसर्गिक हक र स्वतन्त्रता छ । गुरूहरूलाई पनि शास्त्रोक्त विधिमा निष्ठा राख्ने हक छ । कतिपय पण्डित वा गुरूहरूले आधुनिक युगका सम्पूर्ण भोजन आफैंले चलाएर कर्मकाण्ड गराउँदा पनि जजमानबाट गुनासो गरेको नसुनिएको हुनाले यसलाई सहज रुपमै लिईएको मान्न सकिएला । अर्कातिर यसलाई सरलीकृत, ब्यावहारिक र युगसापेक्ष बनाउन चाहनेहरूको लागि पनि आफ्नो मान्यताको पालन गर्ने मौलिक हक तथा स्वतन्त्रताको कुरा हुनुपर्छ भन्ने मलाई लाग्छ ।
वैदिककालदेखि मात्र पार्थिव शरीरलाई जमीनमा गाड्ने वा जलाउने काम विश्वब्यापी प्रचलनका रुपमा विकसित भयो । पारिवारिक सन्तति र नातेदारहरूको मायाको कारणले मृतात्मा स्वर्गलोक नगएर घरको वरपर नै प्रेतको रुपमा बसिरहने र हानि पुर्याउन सक्ने हुनाले ‘राम्रोसँग जानु’ (सद्गति) भनेर पुरानो जमानामा अन्त्येष्टि संस्कार थालियो । अग्निमा दाहसंस्कारद्वारा पार्थिव शरीरलाई पञ्चतत्वमा बिलिन गराएर मृतात्मालाई पवित्र बनाउनुको साथै पितृलोकतिर बिदा गरेको मान्यता विकसित गरियो । परलोक प्रस्थान गर्दा कुनै अभाव नहोस् भन्नका लागि खाद्यान्न, कपडा र वैतरणी पार गर्न गाईदानको धार्मिक उपाय रचियो । यो अकाट्य सत्य नभएर मानिलिएको कर्मकाण्ड हो, जो आजकाल आफ्नो आस्था र निष्ठा नभए पनि ‘जोरीपारीलाई देखाउन’ बाध्यतापूर्वक अपनाईयो ।
हिन्दु परम्परामा मध्ययुगदेखि आएर आयुर्वेदिक शिक्षाका आधारमा मृत्युसंस्कार गर्ने वा आशौच बार्ने चलन स्थापित भयो । परम्परागत हिन्दु मान्यताबाट हामीले पाएको चेतनाले मानिसको हातमा ‘हातेविष’ हुने बताउँछ । आजको महामारीमा ह्यान्ड सानिटाईजरको अनिवार्यताले उक्त मान्यतालाई पुष्टि गर्दैछ । गाईको गोबरले घर लिप्नु पुरानो युगको स्टरीलाईजेशन वा डिसइन्फेक्सन (किटाणुशोधन) विधि हो । हिन्दु काजकिरिया पनि मूख्यतः क्वारेन्टाईन र किटाणुशोधनको प्रक्रियामा आधारित छ । पुरानो जमानामा रोग नै पत्ता नलागी मृत्यु हुने आफ्नो प्रियजनको सम्भावित संक्रामक रोगसँग संसर्ग हुनपुगेका छोराछोरीले शारीरिक दूरी कायम गर्दै १२/१३ दिन कसैलाई नछोई अलग रहनुपर्ने धार्मिक नियमको रुपमा काजक्रिया विकसित भयो, आजको चिकित्सकीय परिभाषामा यही नै १४ दिनको क्वारेन्टाइन वा आईसोलेशन भयो । आईसोलेशन र सेनिटाईजेशनको विधि नै काजक्रियामा अपनाईयो ।
पुरानो युगको वैज्ञानिक पद्धतिलाई आजको युगसापेक्ष वैज्ञानिकीकरण गर्नुको साटो हामीले पुरातन वैज्ञानिक दृष्टिकोणलाई पनि अन्धविश्वासी, कर्मकाण्डी र अब्यावहारिक बनाएका छौं । १३ दिनको काजक्रिया अवधि लामो भयो भन्ने महसुस सबैको हो, तर भन्नसक्ने आँटको अभाव र जोखिम ठानेर किरियापुत्री विवश र लाचार मानसिकतामा रहन बाध्य भयो । प्रियजनको वियोगको दुःख त छँदैछ, त्यसमाथि आफू कर्मकाण्डी लाचारी र विवशताको बन्दी किन हुने ? यो आज सबैको मनमा रहेको अनुत्तरित प्रश्न हो ।
हाम्रो व्यावहारिक जीवनमा पनि आधुनिक युग अनुरुप ठूलो फेरबदल आएको छ । बाबु वा आमाको आशौच बारेको मानिसले एक वर्षभरि सेतो बस्त्र लगाउनुपर्ने, आफैंले पकाएकोमात्र खानुपर्ने, खाटमा सुत्न वा कुर्सीमा बस्नु नहुने जस्ता परम्पराको पालन गर्न खोज्नु आजको जमानामा पुरातन युगका मान्यता लाद्नु अन्याय हुन्छ । त्यसैले काजक्रियाको विधि र अवधि यति नै वा यस्तै हुनुपर्छ भन्ने कुरा आजको जमानामा धार्मिक हठमात्र हुनसक्छ । नयाँ पुस्ताका ब्राम्हण जातिभित्र पनि धर्मशास्त्रको दिनचर्या र जीवनशैली त्यागेर खानपान र रहनसहनमा असाधारण परिवर्तन आएको छ । माछा–मासु, मदिरा जस्ता खानपानहरू सबै जातिमा समान रुपले प्रचलित छ । यसलाई स्वाभाविक र सहज रुपमा लिनुपर्छ । अर्कातिर पछिल्ला युगमा यसका अनेक विधि–विधानहरू थपिँदै आए । मृत्यु–संस्कार महत्वपूर्ण भए पनि आज आएर विविधतापूर्ण जटिल पनि भएको छ ।
आजभन्दा करिब सवासय वर्षअघि राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा १३ दिन आशौच बार्नुपर्ने नियमलाई अनिवार्य बनाइएको भेटिन्छ । त्यस बखतको नेपालमा बाबुआमाको काजक्रिया नगर्ने छोरालाई ठूलै अपराध मानेर दण्ड–सँजाय दिने चलन थियो । तर आजको पुस्ताले चन्द्र शम्शेरकालीन शासनले लादेका परम्परालाई मानेर हिंड्न सक्दैन । बाँचेका सन्ततिहरूले आफ्नो जीवन सुचारु गर्न पनि हिन्दु काजक्रियालाई युगसापेक्ष, सरलीकृत, लचिलो, ब्यावहारिक तथा संस्कृति र सभ्यताले सुसज्जित बनाउनुपर्छ । सबभन्दा अविष्मरणीय र ठूलो कुरा आफ्नो प्रियजनसँग सदाको लागि वियोग हुने कुरा हो । बाँकी गरिने कर्मकाण्ड लौकिक पदार्थसँग खेल्ने कुरामात्र हो ।
यही मान्यता र चेतनाको आधारमा हाम्रो पारिवारिक सरसल्लाह अनुसार १३ दिन आशौच बार्ने परम्परागत विधिलाई छोट्याएर सात दिनमा सीमित गर्ने निर्णय लियौं । तर यसबीचमा ध्यान गर्ने, पवित्र वचनहरू सुन्ने, दिवंगत प्रियजनका असल कार्य, स्वभाव, शिक्षा, उहाँहरूले छोडेका असल प्रभाव, प्रेरणा र योगदानहरूलाई श्रद्धापूर्वक सम्झिने अवसरको रुपमा पनि हामीले यस अवधिलाई लियौं ।
स्वर्गवासी मुमाको नाममा हामीले उहाँ जिवित छँदा नै सामाजिक सेवाका अनेक कार्यक्रम गर्दै आयौं । सामाजिक सेवामा सक्रियता, दोलखाका हामी राजभण्डारी परिवारको परम्परागत गतिविधिको रुपमा पनि स्थापित छ । मुमाको स्वर्गे भएपछि पनि यस कार्यलाई हामीले निरन्तरता दिने अठोट लिएका छौं । यो नै सच्चा पुत्रधर्म, बुबा–मुमाप्रतिको सच्चा श्रद्धाञ्जली र समाजको लागि उदाहरणीय संस्कार हुन्छ भन्ने हाम्रो दृढ मान्यता हो ।
मृत्यु संस्कार र १३ दिनको कर्मकाण्ड आजको युग तथा पुस्ता सुहाउँदो भएको छैन । यसलाई सरलीकरण, छरितो, लचिलो बनाउनुपर्छ भन्नेमा मेरो दृढ धारणा छ । यसबाट हुने वचतलाई सामाजिक सेवामा लगाउन सकेमा मृतक प्रियजनको लागि सच्च श्रद्धाञ्जली हुने मेरो विश्वास छ ।
१०–९–०७७ (सात दिनमा आमाको मृत्यु संस्कार सकेपछि राजभण्डारीका तर्फबाट सार्वजनिक भनाई)