arrow

पुस १३को तयारीमा बाँके कांग्रेस

नेपालगञ्जमा गगन थापाले सम्बोधन गर्ने

logo
सौरभ गिरी,
प्रकाशित २०७७ पुष ११ शनिबार
bake-congress.jpg

नेपालगन्ज। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले बाँके लगायत देशभर प्रदर्शनको तयारी तीब्र पारेको छ। कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार पुस १३ गते नेकपा सरकारको असंवैधानिक कदमविरुद्ध बाँके लगायत देशभर प्रदर्शन हुँदैछ। कांग्रेसले ७७ वटै जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। सोही कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसले बाँकेमा पनि सरकारविरुद्ध प्रदर्शनको तयारी तीब्र पारेको छ। बाँकेमा हुन लागेको प्रदर्शनमा कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री गगनकुमार थापा लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले जानकारी दिए।

उक्त कार्यक्रममा अनिवार्य सहभागी भएर सरकारको भण्डाफोर गर्न कांग्रेस कार्यकर्ता तथा सर्बसाधारणलाई उनले अपिल गरेका छन्। यही पुस १३ गते सोमबार दिउँसो १ बजे नेपालगञ्जको त्रिभुवन चोकमा नेता थापाले सम्बोधन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रमलाई सफल पार्न नेपाली कांग्रेस क्षेत्र नम्बर २ले आज पार्टी कार्यालयमा बृहत् छलफल गरेको छ। क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले पुस १३ गते दिउँसो त्रिभुवन चोकमा पुगेर सरकारी कदमको विरोधमा उत्रन सम्पूर्ण नेता, कार्यकर्तालाई आग्रह गरे।

प्रदर्शन कार्यक्रमको तयारीका लागि क्षेत्र नम्बर २ क्षेत्रीय समितिले एक तयारी समिति गठन गरेको क्षेत्रीय सचिव सुनिलसिंह हमालले जानकारी दिए। उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न क्षेत्रिय सभापति रमेश गुप्ताको संयोजकत्वमा आर्थिक समिति, नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगर सभापति प्रशान्त विष्टको संयोजकत्वमा अतिति सत्कार, तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र शाहको संयोजकत्वमा मञ्च ब्यवस्थापन र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको छ।

क्षेत्रिय सभापति गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, उपसभापति सुनिलनरसिंह राणा, प्रदेश सांसदद्वय सुरेन्द्र हमाल र मोहम्मद याकुव अन्सारी, कांग्रेस नेताहरु राजकुमार बर्मा, डा.सुरेशकुमार कनोडिया, पूर्व सांसदहरु, कांग्रेसका जिल्ला कार्यसमितिका पूर्व पदाधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, डुडुवा गाउँपालिकाका उपप्रमुख साहिदा बानो, कांग्रेस जिल्ला र क्षेत्रिय कार्यसमिति सदस्य, वडा अध्यक्षहरु, वडा सदस्य, विभिन्न भ्रातृ तथा शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

छलफलमा बोल्ने अधिकांशले वर्तमान सरकारले चालेको कदमको भण्डाफोर गर्नुपर्ने, अदालतको निर्णय पर्खिँदै जनतामाझ जानुपर्ने सुझाव दिएका थिए। पार्टी निर्वाचनमा जानुपर्ने स्थिति आएमा नेकपासँग कुनै पनि हालतमा चुनावी एकता गर्न नहुने अधिकांश नेता, कार्यकर्ताको सुझाव छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ