- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । प्रतिनिधि सभाको विघटन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन केही प्रदेशमा पनि देखा परिसकेको अवस्थामा लुम्बिनी प्रदेश सरकारमा विभाजनको कुनै असर नपर्ने दावी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार पार्टी विभाजनसँगै संकटमा पर्ने चर्चा चलिरहेको भएपनि टुक्रिने अथवा मन्त्रीमण्डल परिवर्तन हुन्छ भन्ने कुरा विल्कुलै गलत रहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताएका छन् ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका प्रवक्ता चौधरीले बाहिर हल्ला गरिएको जस्तो मुख्यमन्त्री पोखरेलले कसैलाई पदबाट हटाउने वा कारबाही गर्ने र कुनै पक्षले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने संकेतसमेत नरहेको दावी गरे ।
साथै उनले सरकार ढाल्ने वा परिवर्तन गर्ने भन्ने विषय नहुने भन्दै सबै मन्त्रीहरु मुख्यमन्त्री पोखरेलकै पक्षमा रहेको स्पष्ट पारे । सोमवार बसेको लुम्विनी प्रदेश मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चौधरीले अन्य प्रदेशमा जस्तो सरकार ढाल्ने खालका कुनै गतिविधि नहुने जिकिर गरे ।
लुम्बिनी प्रदेश सरकारको क्याबिनेटमा हाल (प्रचण्ड–नेपाल) समूहमा आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल रहेका छन् । सभामुख पूर्णबहादुर घर्ती भए पनि उनलाई गणना गर्न मिल्दैन । उता भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल बामदेव गौतम पक्ष हुन् ।
बाँकी भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री लिला गिरी र मुख्यमन्त्री शंकर पोखरेलसहित प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट रहेका छन् ।
अहिलेसम्म प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । दुवै प्रदेशका मुख्यमन्त्री ओली निकटका हुन् ।