कक्षा ११ को पाठ्यक्रम अन्योलबाट विद्यार्थीमा परेको समस्याप्रति नेविसंघको गम्भीर ध्यानाकर्षण
प्रकाशित २०७७ पुष १४ मंगलबार
601
Shares
काठमाडौं । कक्षा ११ को पाठ्यक्रमको अन्योलता र त्यसबाट विद्यार्थीहरुमा पर्न गएको समस्याप्रति नेपाल विद्यार्थी संघ नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसै शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा ११ का केही पाठ्यक्रमहरू परिवर्तन भएको तर त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भइ त्यसलाई तत्काल लागू नगर्न अन्तरिम आदेश भए पश्चात नयाँ पाठ्यक्रम पढाउन रोकिएसंगै कुन पाठ्यक्रम पठाउने र पढ्ने भन्ने टुंगो नहुँदा यसले ठूलो अन्योलता खडा गरेको नेविसंघले जनाएको छ ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले शिक्षा मन्त्रालय यसप्रति बेखबर हुनु दुःखद भएको भन्दै तत्काल समस्या समाधान गर्न प्रेस विज्ञप्ति जारी गर्दै माग गरेका छन् । विज्ञप्तिमा ‘ मुद्दाको सुनुवाइ चल्दै आएपनि पटक पटक पेशी स्थगित हुनु, सम्मानित अदालतले फास्ट ट्रयाकबाट फैसला गर्न नखोज्नु र शिक्षा मन्त्रालयले आबश्यक पहल पनि नगर्ने र पुरानै पाठ्यक्रम पढाउने बाटो खुल्ला नगरिदिएको कारण विद्यार्थीहरु ठूलो मारमा परिरहँदा शिक्षामन्त्रालय, शिक्षा तथा मानव श्रोत बिकास केन्द्र,पाठ्यक्रम विकास केन्द्र लगायत सरोकारवाला निकायले तत्काल अन्तरिम निकास निकाल्न कुनै पहल नगरी रमिते बनेर किन बसेका छन् ? गम्भीर प्रश्न उब्जिएको छ ।’ भनिएको छ ।
त्यसैगरी विज्ञप्तिमा ‘लाखौं विद्यार्थीहरुको भविष्य जोडिएको बिषयलाई तत्काल निराकरण गर्न सरकारसँग माग गर्दै अन्यथा कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छु’ भनिएको छ ।