arrow

नेकपामा आलोपालो कारवाही

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
sherdhan-rai-1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी भित्र अहिले आलोपालो कारवाहीको श्रृंखला केन्द्र देखि प्रदेश र जिल्लासम्म जारी छ । केन्द्रमा एउटा गुटले अर्को गुटलाई कारवाही गर्ने होडबाजी चल्दै गर्दा प्रदेश र जिल्लामा पनि यो श्रृंखला बढ्दै छ । बिहिबार मात्रै प्रचण्ड-माधव समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पार्टीको संसदीय दलको नेताको जिम्मेवारीबाट हटाएको छ ।

गत आइतबार सो समूहले राईलाई मुख्यमन्त्रीबाट हटाउन प्रदेश १ को संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।  केपी ओली अध्यक्ष रहेको नेकपासँग निकट रहेका कारण राईलाई अर्को समूहले कारवाही गरेको हो । अविश्वासको प्रस्ताव दर्ता भएसँगै राईको पद संकटमा परिसकेको छ भने नयाँ मुख्यमन्त्रीका लागि भीमप्रसाद आचार्यको नाम प्रस्ताव गरिएको छ । प्रचण्ड-माधव समूहले राईको स्थानमा आचार्यलाई नै दलको नेता समेत चयन गरिसकेका छन ।

बिहिबार मात्रै दलको नेताबाट राईलाई हटाएर आचार्यलाई चयन गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । भीमप्रसाद आचार्यलाई दलको नेता चयन गराइ पाउँ भनी दलका उपनेता टंक आङ्बुहाङले ल्याएको पत्र सचिवालयमा दर्ता भएको प्रदेशभसभा सचिव गोपालप्रसाद पाराजुलीले जानकारी दिए ।

सो पत्रमा ३६ जनाको हस्ताक्षर छ । गत आइतबार भने प्रदेश १ मा रहेका कूल ९३ सांसद मध्ये ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रदेश १ मा नेकपाका मात्रै ६७ जना छन ।

राई पनि एक्सनमा, गरे कारवाही
प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले पनि आफू १५ सांसदलाई संसदीय दलको सदस्यबाट कारवाही गरेका छन । मुख्यमन्त्री राईले आफ्नो विपक्षमा लागेर आफ्ना बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका १५ सांसदलाई दलको सदस्य पदबाट निलम्बन गरेका हुन ।

निलम्बनमा पर्ने सांसदहरुमा भीमप्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहाङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन ।

राई पक्षका दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई कारवाही स्वरुप निलम्बन गरिएको जानकारी दिए ।

अब कांग्रेस निर्णायक
प्रदेश १ का मुख्यमन्त्री राईले अब प्रदेशमा बन्ने सरकारमा कांग्रेस निणर्क हुने सम्भावना रहेको बताए ।  उनले आफूले अविश्वासको प्रस्तावको सामना गर्ने भन्दै नयाँ सरकारका लागि भने कांग्रेस निणर्यक हुने बताएका हुन । उनी प्रदेश संसदीय दलमा अल्पमतमा परिसकेका छन । नयाँ प्रस्तावित मुख्यमन्त्रीका दाबेदार भीम आचार्य पनि कांग्रेससँग सहकार्य गरी सबै दलको संयुक्त सरकार बनाउने बताउँछन ।

कांग्रेससँग सल्लाह हुँदैछ : आचार्य
प्रचण्ड-माधव समूहबाट प्रदेश १ का प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार भीम आचार्यले नेपाली कांग्रेस सहितका सबै दलसँग नयाँ सरकारबारे छलफल भइरहेको बताउँदै आउका छन ।  बिहिबार संसदीय दलको नेता बनेपछि समेत उनले नयाँ सरकारबारे कांग्रेससहितका दलसँग छलफल भइरहेको र सकेसम्म सर्वदलीय सरकार बनाउने बताएका छन । प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशन ७ माघका लागि बोलाइएको छ भने सोही बैठकमार्फत हालकै सरकार रहने कि नयाँ बन्ने भन्ने टुंगो लाग्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ