- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रियसभाको हिउँसो अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । सरकारले प्रतिनिधि सभा विघटन गरी बैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकेपछि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा बस्न लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन बस्दै गर्दा यो बिजेनशविहीन बनेको छ ।
प्रतिनिधि सभा नभएको अवस्थामा राष्ट्रियसभाको अधिवेशन हुनु आफैमा रोचक हो । तर यो बिजेनशविहीन बनेको छ । प्रतिनिधिसभा बिना राष्ट्रियसभा एक्लैले कानून बनाउन नसक्ने भएपछि यो बिजनेशविहीन भएको हो ।
तर यसले जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गर्न र सरकारका कामकारबाहीप्रति निगरानी गर्नका लागि भने महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । ६ महिनाभन्दा बढी समय संसद नबस्दा कानूनी जटिलता आउने भएकाले पनि असारदेखि रोकिएको राष्ट्रियसभा अहिले बस्न लागेको हो ।
प्रतिनिधिसभा पनि बिघटन नभएको भए शनिबार (पुस १८) भित्र जसरी पनि अधिवेशन बस्नुपर्ने हुने थियो ।
पहिलो दिन सांसदहरुकै भाषण
शुक्रबार पहिलो दिन विभिन्न दलका सांसदहरुकै भाषण हुनेछन् । जनताका प्रत्यक्ष सरोकारका विषय राखिने भएकाले सांसदहरुले राम्रो फोरम ६ महिनापछि पाउँदैछन् । सरकारको नियतका कारण लामो समयसम्म बस्न नसकेको संसदका कारण जनताका विषय छायाँमा परेका छन् ।
कोरोनाको महामारीलाई पन्छाउँदै सरकारले हरेक क्षेत्रलाई खोल्दै आए पनि संसद बैठकलाई भने टार्दै आइरहेको थियो ।
शुक्रबार अपरान्ह ४ बजेदेखि बस्ने बैठकमा सत्तारुढ नेकपाविरुद्ध प्रचण्ड–नेकपाको नेकपा, प्रमुख प्रतिपक्ष दल कांग्रेस र अन्य दलका सांसदहरुले सरकारको कटु आलोचना गर्ने बुझिएको छ ।
बिजनेशविहीन
हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । तर राष्ट्रियसभाको बैठक बोलाइए पनि प्रतिनिधिसभा नभएपछि विधेयकहरु अघि बढाउन सक्ने अवस्था छैन ।
प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभा एक्लैले कानून बनाउन सक्दैन । एउटा सदनले पास गरेको विधेयक अर्को सदनले पनि पारित गर्नुपर्ने कानूनमा स्पष्ट व्यवस्था भएकाले पनि प्रतिनिधिसभा बिनाको राष्ट्रिय सभा अपूरो छ ।
यो व्यवस्थाका कारण राष्ट्रियसभाबाट विधेयक पारित भए पनि कानुन बन्न सक्दैन । प्रतिनिधि सभा विघटन भएसँगै संसदमा रहेका विधेयक पनि निष्क्रिय भएका छन् । प्रतिनिधिसभा पुनःस्थापना भएपछि निष्क्रिय भएका विषयमा विधेयक पनि सरकारले पुनः ल्याउनुपर्ने हुन्छ । तत्काल कानुन बन्ने अवस्था नरहेपछि सभालाई बिजनेश दिन सरकारलाई दवाव हुने छैन ।
आखिर बिजनेश नै नभएपछि शून्य र विशेष समयको भरमा यो अधिवेशन लामो समय जाने सम्भावना छैन । केबल औपचारिकता पूरा गरेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन केही दिनमै सकिने निश्चित जस्तै छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि धेरै समय नलम्बिने संकेत गरेका छन् ।