arrow

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

logo
कल्पना पौडेल,
प्रकाशित २०७३ जेठ ३० आइतबार
Milk-of-women.jpg.jpeg
काठमाडौँ। मानिसमा देखिने क्यान्सरमध्ये आफँै जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ इक्ज्यामिनेसन भनिन्छ । 
 
चिकित्सकका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐना अगाडि उभिएर पनि जाँच गर्न सकिन्छ । ऐना अगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार, बनोट, निप्पलको अवस्था, छालाको रङ, स्तनको कुनै भागमा गिर्खा भए÷नभएको ध्यान दिनुपर्छ । 
 
त्यस्तैगरी आफैँ जाँच गर्दा नुहाउने समय निकै राम्रो मानिन्छ । नुहाउँदा पनि सरलताका साथ जाँच गर्न सकिन्छ । साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न अझ सजिलो हुन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्न सकिन्छ । यसरी जाँच गर्ने क्रममा कुनै भाग कडा लागेमा तुरुन्तै उपचार गराउनुपर्ने चिकित्सकको भनाइ छ । 
 
तर यसरी स्तनको जाँच आफँै गर्दा महिनावारी नियमित रूपमा भइरहेका महिलाले महिनावारी रोकिएको ४–५ दिनपछि यो जाँच गर्नुपर्दछ । किनकि महिनावारी भएका बेलामा स्तन अलिकति सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ । यसो भएमा तुरुन्त जाँच गराउनुपर्ने बताउनुहुन्छ स्त्रीरोग विशेषज्ञ डा ज्योति अग्रवाल । 
 
भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापति स्तन क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो नम्बरमा आउने बताउनुहुन्छ । 
 
उहाँका अनुसार महिला उमेर पार गर्दै बुढ्यौलीतिर लाग्दा स्तन क्यान्सरको सम्भावना बढ्दै जाने हुन्छ । विभिन्न तथ्याङ्कअनुसार विश्वमा औसत ५० वर्ष उमेर नाघेका महिलामा स्तन क्यान्सरको समस्या बढी देखापर्ने गर्दछ । 
 
उहाँले भन्नुभयो – “कतिपय स्तन क्यान्सर वंशाणुगत कारणले पनि हुन सक्छ । तर सबैमा यो समस्या हुन्छ भन्ने छैन । कुनै महिलालाई ढिलो महिनावारी सुरु भएर चाँढै सुकेको छ भने पनि स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ । ढिलो बच्चा जन्माएका महिला र आफ्नो बच्चा जन्माएर पनि स्तनपान नगराउने महिलालाई स्तन क्यान्सर हुने खतरा निकै बढी देखिएको छ ।” 
 
लामो समयसम्म परिवार नियोजनको चक्की खाने, हर्मोनको प्रयोग गर्ने, अनावश्यक विकिरणको (एक्सरे)सम्पर्कमा आउने, बोसोयुक्त खानेकुरा ज्यादा खाने, धेरै मदिरा सेवन गर्ने र अति मोटा महिलामा पनि स्तन क्यान्सरको खतरा हुने उहाँले बताउनुभयो । 
 
नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठ भन्नुहुन्छ– “स्तन क्यान्सर एक प्रकारको ट्युमर हो जुन व्यक्तिको स्तनका कोषिकाहरू अस्वाभाविक वृद्धि भएर हुन्छ । यसका कोषिकाहरू एकै ठाउँमा मात्र रहन सक्दैनन् । शरीरका अन्य तन्तुहरूमा सर्दै जाने गर्दछ । यसलाई समयमै नष्ट गर्न नसकेमा पूरै शरीरभरि पैmलिन गई बिरामीको मृत्यु पनि हुनसक्छ ।” 
 
नेपाल क्यान्सर सोसाइटीका अनुसार युवती तथा प्रौढ महिलालाई हुने क्यान्सरमध्ये ६० प्रतिशत स्तन क्यान्सर हुन्छ । 
 
डा प्रजापति नेपालमा ३० देखि ५० वर्षका सहरी महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको बताउनुहुन्छ । यकिन तथ्याङ्क नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान छ । 
 
आजभोलि फेरिएको जीवनशैलीका कारण स्तन क्यान्सरका बिरामी बढ्दै गएको चिकित्सकको भनाइ छ । स्तन क्यान्सर लागेको हो होइन भनी पत्ता लगाउन म्यामोग्राफी (स्तनको मात्र एक्स–रे) गर्नु पनि आवश्यक रहेको चिकित्सक बताउँछन् । 
 
यस रोगबाट बच्न समयमै विवाह गर्नुपर्ने, समयमै बच्चा जन्माई स्तनपान गराउनुपर्ने, व्यायाम गर्ने, मोटोपनबाट बच्ने र खानपानमा ध्यान दिनु आवश्यक भएको डा प्रजापतिको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ