arrow

सिडियोको नेतृत्वमा नौ बिगाहको गाँजा फाँडियो

logo
प्रकाशित २०७७ पुष २० सोमबार
gaja-bot.jpg

सर्लाही । प्रमुख जिल्ला अधिकारी (सिडियो)को नेतृत्वमा गएको प्रहरी टोलीले सोमबार सर्लाहीको नारायणखोलामा करिव नौं बिगाहमा लगाएको अवैध लागूऔषध गाँजा खेती नष्ट गरेको छ । चुरेक्षेत्रस्थित लालबन्दी नगरपालिका वडा नं. १४ मा पर्ने जिल्लाकै दुर्गम भेग नारायणखोलामा व्यावसायिक हिसावले ठूलो क्षेत्रफलमा गाँजा खेती भइरहेको सूचना पाएर सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडियो) सुरेन्द्र पौडेल नेतृत्वको सुरक्षाकर्मीको जम्बो टोली सोमबार त्यहाँ पुगेको हो ।

सिडियो पौडेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर, सशस्त्र प्रहरीका उपरीक्षक एसपी गङ्गाराम श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका एसपी दिलिपकुमार सिंहसहितको टोली गाँजाका बोट नष्ट गर्न त्यहाँ पुगेको थियो । मध्यान्ह नारायणखोला पुगेको टोली साँझ अबेर लालबन्दी आइपुगेको छ ।

प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले त्यस क्षेत्रमा गाँजाको व्यापक मात्रामा खेती हुने गरेको पाइएको जानकारी दिए । उनका अनुसार सोमबार नारायणखोलास्थित डाईनीखोला र त्यस आसपासका क्षेत्रमा लगाइएको तयारी हुनै लागेका गाँजा नष्ट गरिएको हो ।

एसपी राठौरले त्यस क्षेत्रमा गाँजा नष्ट गर्न प्रहरीले अब अपरेशन नै चलाउने बताए। फोन नै नलाग्ने त्यस क्षेत्रमा सोमबार गाँजा फडानी गर्न हातहतियारसहित ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी लगिएको थियो । केही दिनअघि पनि दुई पटक लालबन्दी र पत्थरकोटबाट गएका प्रहरीले नारायणखोलाको विभिन्न ठाउँमा लगाइएको गाँजा नष्ट गरेको थियो ।

गाँजाबाट राम्रो आम्दानी हुने देखेर नारायणखोलाका स्थानीयहरुले केही वर्षअघि देखि अरु बाली लगाउन छाडेर डाँडापाखाका बारीभरी गाँजाको खेती गर्दै आएका छन् । गत वर्ष पनि तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीको नेतृत्वमा प्रहरी टोली पुगेर नारायणखोलाका विभिन्न ठाउँमा लगाइएको गाँजा नष्ट गरेको थियो ।

सडक सञ्जालमा नजोडिएको नारायणखोला पुग्न पत्थरकोटस्थित छेडा गाउँदेखि खोलाको बगर प्रयोग गर्नुपर्छ । सुरक्षाकर्मीको बिरलै उपस्थिति हुने भएकाले नारायणखोलावासीले ढुक्क भएर गाँजा खेती गर्छन् । त्यहाँका पाखो बारी अहिले गाँजाले हरियै भएका छन् । स्रोतका अनुसार भारतीयहरुको सहयोगमा खेती गरिने गाँजा तयार पारेर बिक्रीका लागि लुकाईछिपाई भारत नै पुर्‍याउने गरिएको छ ।

त्यसरी लगिने गाँजा प्रहरीले बेलाबेलामा बरामद समेत गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ