arrow

दुई दिनमा एनसेलका २४ बेस स्टेसनमा आक्रमण

नागरिकको संचारमा पहुँचको अधिकार सम्मान गर्न आग्रह

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
ncell.jpg.jpeg
काठमाडौं। देशकै प्रमुख मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले कम्पनीको बेस स्टेसनमा अज्ञात समूहले आक्रमण जारी राख्दै थप दूरसंचार पुर्वाधारमा भौतिक क्षति पुर्‍याउने कार्य गरेको घटनाको भत्सर्ना गरेको छ। उसले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको आक्रमणलाई नाम उल्लेख नगरि विरोध जनाएको हो।
 
संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने मोवाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भिर अपराध भए पनि केहि अज्ञात समूहले शनिवार देखि एनसेलको विभिन्न जिल्लाका ग्रामिण क्षेत्रमा रहेका २४ वटा बेस स्टेसनमा क्षति पुर्‍याएका छन्। यसले करिब ५ लाख ५० हजार नागरिलाई प्रत्यक्षरुपमा संचार विहिन बनाएको छ भने देशभरका नागरिकलाई असर गरेको एनसेलले विज्ञप्ती मार्फत जनाएको छ।
 
“हामी सम्बन्धित सबैलाई नागरिकको संचारमा पहुँच तथा प्रयोग जस्तो आधारभूत अधिकारको सम्मान गर्न आग्रह गर्दछौं। यस्तो गतिविधि गर्नेले हेक्का राखौं ति ग्रामिण ईलाकामा यतिखेर कति व्यक्तिलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको हुनसक्छ, र तपाईंको गतिविधिले उनीहरुलाई गंभिर अवस्थामा पुर्‍याएको हुन सक्छ,” एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने।
 
एनसेलले क्षति पुगेका टावरको यथासक्य चाँडो पुनस्र्थापनाका लागि प्रयत्नशिल रहेको जनाएको छ।
 
“अप्रत्यासित घटनाबाट सेवा अवरुद्ध भई ग्राहकमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं। यथासक्य छिटो नेटवर्क पुनस्र्थपना गरी सेवा सुचारु गर्ने प्रयास भईरहेको छ । यस क्रममा धैर्यधारण गरी सहयोग प्रदान गरिरहनु भएकोमा हामी आभार तथा धन्यवाद व्यक्त गर्दछौं,” भट्टचनले भने।
 
बेस स्टेशन जस्ता दूरसंचार पूर्वाधारको सुरक्षाका लागि थप सुरक्षाको व्यवस्थापन गरिरहेको एनसेलले जनाएको छ। कम्पनीले सरकारलाई अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रुपमा लिएको संचार सेवाको निर्वाध संचालनका लागि सहयोग गर्न अनुरोध गरेको छ।
 
“हामीले घटनाका विवरण लगायतका जानकारी नेपाल दूरसंचार प्राधिकरण र अन्य सरकारी निकायलाई दिईसकेका छौं । साथै सरकारबाट प्राप्त सहयोगको प्रतिबद्धताकालागि आभार पनि व्यक्त गर्दछौं,” भट्टचनले भने ।
 
साथै यस्ता खाले गैरकानूनी कृयाकलापले देश र जनता कसैलाई पनि सहयोग नपुग्ने जनाउँदै एनसेलले सबैलाई जिम्मेवार भएर काम गर्न र कसैलाई पनि उकास्ने काम नगरी विधिको पालनाका लागि सहयोग गर्न अपिल गरेको छ।
 
यसअघी शनिवार एनसेलको सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोर्खा जिल्लामा रहेका कम्पनीको १० वटा बेस स्टेसनमा विप्लव नेतृत्वको माओवादीले जेठ २९ गते बिहान आगो लगाई दूरसंचार पुर्वाधारमा भौतिक क्षति पुर्‍याएका थिए। 
 
यि क्षति पुर्‍याईएका संरचनाले ति जिल्लाका ग्रामिण क्षेत्रमा जनसमुदायलाई आधारभूत तथा आकस्मिक संचार सेवा प्रदान गरिरहेका थिए। यिनमा क्षति पुग्नाले यि जिल्लाका ग्रामिण क्षेत्रका करिब २ लाख ५० हजार ग्राहकलाई प्रत्यक्ष रुपमा र अन्य ठाउँबाट त्यहाँ रहेका आफन्तसँग सम्पर्क गर्ने थुप्रै व्यक्तिहरुलाई संचार विहिन बनाएको छ। 
 
“जनसमुदायलाई संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोवाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भिर अपराध हो। एनसेल सम्बद्ध सबैलाई यस्तो कार्य नगर्न नगराउन हार्दिक अनुरोध गर्दछ,” एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने। 
 
साथै, अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रुपमा लिएको संचार सेवाको निर्वाध संचालनका लागि सहयोग गर्न सम्बन्धित सबै निकायमा एनसेलले अनुरोध गरेको जनाएको छ।  
 
यस अप्रत्यासित घटनाबाट सेवा अवरुद्ध भई ग्राहकहरुमा पर्न गएको असुविधा प्रति एनसेलले क्षमा मागेको छ। यथासक्य छिटो नेटवर्क पुनस्र्थपना गरी सेवा सुचारु गर्न कम्पनी प्रयत्नशिल रहेको जनाउँदै, एनसेलले ग्राहकमा धैर्य तथा सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ। 
 
“साथै हामी आफ्ना १ करोड ४० लाख भन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्न सक्ने यस्ता दुर्घटना प्रति चनाखो रहन सबैलाई अनुरोध गर्दछौं,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ