arrow

अदालतले सजाय तोकेका चौबीस जना भागे

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
courts.jpeg

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा तीन आर्थिक वर्षमा २४ जना प्रतिवादी फरार भएका छन् । आर्थिक वर्ष २०७५/२०७६ को साउनदेखि यस चालू आर्थिक वर्षको पुस २३ गतेसम्म बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला अदालत लमजुङले विभिन्न मुद्दामा कैद तथा जरिवाना सुनाई गरेका यतिका सङ्ख्यामा फरार रहेको अदालतका श्रेस्तेदार उदयराज काफ्लेले बताए ।

उनका अनुसार लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका २४ पुरुष प्रतिवादी फरार छन् । अदालतका अनुसार यस चालू आवको साउनदेखि पुस २३ गतेसम्म चार पुरुष प्रतिवादी फरार रहेका छन् । जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका प्रतिवादी फरार रहेको अदालतले  जनाएको छ ।

अदालतका अनुसार गत आव २०७६/२०७७ को एक वर्षको अवधिमा नौ जना विभिन्न मुद्दाका प्रतिवादी पुरुष फरार रहेका थिए । लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैध रुपमा काठ ओसारपसारलगायत मुद्दाका नौ जना पुरुष प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार काफ्लेले बताए ।

त्यस्तै अघिल्लो आव २०७५/२०७६ मा  विभिन्न मुद्दाका ११ जना प्रतिवादी फरार रहेका थिए । फरार रहेकामध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, नकबजनी चोरी, अवैधरुपमा काठ ओसारपसार, जबर्जस्ती करणीलगायत मुद्दाका प्रतिवादी फरार रहेको अदालतले जनाएको छ । फरार प्रतिवादी प्रहरीले पक्राउ गर्न सक्रिय देखाउँदै आए पनि सबै प्रतिवादी पक्राउ गर्न भने नसकेको अदालतका श्रेस्तेदार काफ्लेको भनाइ छ ।

उनले भने, “ढिलो चाँडो सबै फरार रहेको विभिन्न मुद्दाका प्रतिवादी प्रहरीले पक्राउ गर्ने छन् । केही फरार प्रतिवादी प्रहरीले पक्राउसमेत गर्दै आइरहेको छ । यस आर्थिक वर्ष २०७७/२०७८ मा ३८ जना फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा अधिकतम नौ वर्ष छ महिना २१ दिन कैदी भुक्तानी गर्नुपर्नेदेखि २० रुपैयाँ जरिवाना तिर्नुपर्नेसमेत रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार गत आवमा १४ जना फरार प्रतिवादी पक्राउ गरेको थियो ।

गत आवमा ४० हजारदेखि १८ दिन कैदी भुक्तानी गर्न बाँकी रहेका प्रतिवादी पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक पुनले भने, “प्रहरी प्रशासन निकाय फरार प्रतिवादी पक्राउ गर्नका लागि परिरहेका छौँ । यसमा हामीले मात्र नभई स्थानीयको निकाय, जनप्रतिनिधि, स्थानीयको समन्वयमा र प्रविधि प्रयोग गर्दै प्रतिवादी पक्राउ गर्न सफल भइरहेकाले आगामी दिनमा पनि पक्राउ गर्नसक्ने उनको भनाइ छ ।

जिल्ला अदालतबाट कैद तथा जरिवानाको फैसला गरिसकेपछि विभिन्न देशमा रोजगारका लागि गइसकेकाले प्रतिवादी पक्रउ गर्न समय लागिरहेको प्रहरीको भनाइ छ । उनीहरु विदेशबाट स्वदेश फर्किएपछि पनि कानूनको दायरामा भने ल्याइरहेको प्रहरी निरीक्षण पुनले बताए । उनले भने, “हामीले फरार रहेको प्रतिवादी ३०/३१ वर्षपछिसमेत पक्राउ गरेका छौँ ।” यसरी ढिलै भए पनि फरार व्यक्तिलाई कानूनी दायरामा ल्याउँदा पीडितलेसमेत केही राहतको महसुस गर्ने गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ