arrow

ललितपुर साइकल शहर

ललितपुरलाई साइकलमैत्री शहर बनाउने चिरिबाबुको सपना साकार हुँदै

गतबर्ष १० किलोमिटर साइकल लेन, यसबर्ष साँढे २२ किलोमिटर थपिदै

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
lalitpur-cycle-city.jpg

काठमाडौं। पाटन अस्पतालका डाक्टर तथा प्रोफेसर पवन शर्मा अझै पनि साइकलबाटै कुपोण्डलदेखि कार्यालयसम्म आवातजावत गर्छन् । साइकलबाट यात्रा गर्दा अहिले उनले आफूलाई सुरक्षित महशुस गर्छन, कारण हो, ललितपुर महानगरपालिकाले बनाएको साइकल लेन । ललितपुर महानगरले बनाएको साइकल लेनको कारण शर्मा जस्ता साइकल चालक सुरक्षित महशुस गर्दै आएका छन् । महानगरपालिकाले बनाएको साइकल लेनले साइकल प्रयोग गर्न उनलाई थप उत्साहित गरेको छ । र  भन्छन, महानगरपालिकाले धेरै राम्रो काम गरेको छ । यो उदाहरणीय काम हो । यसको सिको अरु शहरले पनि गर्नु पर्छ ।’

साइकल स्वास्थ्यकोलागि मात्र फाइदाजनक भएको चर्चा गर्दै शर्माले भने, ‘वातावरणीय दृष्टिकोबाट पनि सबै शहरहरुले साइकललाई प्रोत्साहित गर्नु पर्छ । त्यसकोलागि हरेक सडकमा साइकल लेन बनाउनु पर्छ ।’ आफनो भावना ललितपुर महानगरपालिकाले बुझेकोमा उनी खुशी छन् । साइकल लेन बने पछि शर्मा मात्र खुशी छैनन, साइकल लेनबाट यस्ता धेरै साइकल पारखीहरु उत्साहित भएका छन् ।

‘साइकल लेन नबन्दा साइकल यात्रीहरुलाई अन्य सवारी साधनहरुले हेप्थे । पेल्न खोज्थे । तर अहिले त्यस्तो स्थिति छैन । जति अधिकार ती सवारी साधनको छ, त्यती अधिकार हाम्रो पनि छ भन्ने महशुस हामीलाई हुन्छ’ नेपाल साइकल सोसाइटिकीका उपाध्यक्ष सोमराज राणा भन्छन,‘साइकल लेनले साइकल यात्राीलाई सुरक्षित महशुस गराएको छ । साइकल लेनकोलागि छुट्टयाइएको बाटो मेरो हो भन्ने हामीलाई लाग्छ ।’ 

सामाखुशी बस्ने राणानको कार्यालय डिल्लीवजार हो । उनी निवासदेखि कार्यालयसम्म साइकलबाटै आउने जाने गर्छन । कामको सिलसिलामा उनी ललितपुर पनि पुग्छन । जब उनी साइकल लेनमा पुग्छन, त्यसपछि उनी धेरै खुशी हुन्छन् । साइकल लेनको अवधारणा ल्याएकोमा उनी ललितपुर महानगरपालिकाप्रति आभारी छन् । किनभने ललितपुर महानगरपालिकाले उनको भावना बुुझेको छ । शर्माको झैं उनको पनि सुझाव छ, ललितपुरले सुरु गरेको यस अभियानलाई अन्य महानगरपालिका तथा नगरपालिकाले पनि सिको गरुन ।

जब ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले चुनाव जिते । उनलाई लाग्यो महानगरपालिकालाई स्मार्ट सिटी बनाऔ । यसकोलागि उनले अध्ययन गर्न सुरु गरे । विश्वका विकसित स्मार्ट सिटीबारेमा उनले गहिरो अध्ययन गरे । स्मार्ट सिटीले कस्ता कस्ता विषयलाई प्राथमिकता दिएका हुन्छन, यसबारेमा उनले प्रारम्भिक अध्ययन गरे । ‘सबै स्मार्ट सिटीहरुले साइकल लेनलाई टप टेन प्राथमिकतामा राखेको पाएँ’ महर्जनले भने ‘क्यानडा लगायत केही शहरले त साइकल लेनलाई पहिलो प्राथमकितामा राखेको बुझे ।’ यसपछि उनले ललितपुर महानगरपालिकामा साइकल लेन बनाउने सोच बनाए र यसकोलागि कार्यक्रम तयार गरे । मेयर महर्जन भन्छन, ‘मेरो अभियान हो, ललितपुरलाई साइकलमैत्री शहर बनाउने ।’

ललितपुरलाई साइकलमैत्री शहर बनाउन उनले पोहोर साल ५० लाख रुपैयाँ छुट्टयाए । त्यसमध्ये करिब ३२/३३ रुपैयाँ खर्च भएको उनी बताउँछन् । त्यसबाट ललितपुर महानगरमा साढे १० किमि लामो साइकल लेन तयार भएको छ । यस वर्ष महानगरपालिकाले २२ दशमलब ५ किमि साइकल लेन बनाउन सुरु गरेको छ । यसकोलागि ५० लाख रुपैयाँ छुट्टयाएको छ । यसमध्ये ४८ लाख रुपैयाँमा टेण्डर स्विकृति समेत भएको उनले बताए । उनले भने,‘ललितपुर महानगरपालिकामा साइकल लेन बनाउने मेरो अवधारणा अव मूर्तरुप लिदै छ।’

चिकित्सकका अनुसार साइकल चलाउनु पौडी पछिको सबैभन्दा उत्कृष्ट व्यायाम हो । यसले धेरै रोगको निदान गर्छ । साइलबाट फाइदा यती मात्र सिमित छैन, वातावरणवीद्हरुले साइकललाई बढी भन्दा बढी प्रयोग गर्न अभियान नै सुरु गरेका छन् । अत्यन्त विकसित शहरहरुले सकेसम्म साइकल प्रयोग गर्न आफ्ना नागरिकलाई प्रोत्साहित गर्ने गरेका छन् । नेपालले हरेक वर्ष २सय २२ अर्व भन्दा बढी रुपैयाँ पेट्रोलियम पदार्थकोलागि खर्च गर्ने गरेको छ । ‘साइकललाई प्रोत्साहित गर्ने हो भने केही न केही रुपैयाँ बच्छ । ताकि पेट्रोलकोलागि खर्च गर्नु पर्ने यो रकम विदेशमा जाँदैन भने बचेको पैसाले देशको अन्य काममा खर्च गर्न सकिन्छ’ महर्जनले भने, ‘साइकलले अन्य सवारी साधन जस्तो कार्वन उत्सर्जन पनि गर्दैन । त्यसैले साइकललाई अभियानको रुपमा लैजानु पर्छ ।’

सडक साँघुरो भएको ठाउँमा एकतर्फी र अलि फराकिलो भएको सडकमा दुईतर्फी साइकल लेन बनाउने अभियानमा महर्जन लागेका छन् । महानगरपालिकाले यो अभियान २०७६ मंसिरबाट सुरु गरेको हो । २०७६ मंसिरमा महानगरका प्रमुख  महर्जन तथा  उपप्रमुख गीता सत्याल लगायतले कुपण्डोलस्थित सडक किनारामा पेन्ट गरेर साइकल लेन निर्माण कार्यको सुरुवात गरेका थिए । पहिलो चरणमा कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, मंगलबजार, पुल्चोकसम्म लेन निर्माण गरिएको छ । महानगरले साइकल लेन निर्माणकोलागि वडा नम्बर १३का वडा अध्यक्ष गणेश के.सीलाई समितिको संयोजक समेत तोकेको छ । 

महानगरपालिकाका सूचना अधिकारी रुद्र गौतमका अनुसार सुरुमा साइकल लेनलाई दुई खण्डमा बाड्ने अवधारण बनाइएको थियो तर अहिले एउटै खण्डमा मात्र राखिएको छ । उनका अनुसार सुरुमा शेयर लेन(अन्य सवारी साधनले पनि चलाउन पाउने) र डेडिकेटेड लेन (साइकलकोलागि मात्र छुट्टयाइएको, अरुले चलाउन नपाउने) गरी दुई वटा अवधारणा ल्याइएको थियो । तर अब शेयर लेन (अन्य सवारी साधनले पनि उक्त ठाउँलाई प्रयोग गर्न सक्ने) गरी साइकल लेन बनाइएको छ । महानगरले साइकल लेन निर्माणकालागि पोहर साल रमित कन्स्ट्रक्सन प्रा.लिसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार साढे १० किमि लामो पहिलो चरणको काम सकिएको छ । साढे २२ किमि लामो दोश्रो चरणको कामकोलागि प्रक्रिया सुरु भएको गौतमले बताए । महर्जनले साइकलकोलागि छुट्टै कानुन बनाउने घोषणा पनि गरेका छन् । यसकोलागि महानगरपालिकाको विधेयक समितिले कानुनको मस्यौदा बनाउन सुरु गरेको छ । आगामि नगर सभामा मस्यौदा प्रस्तुत गरिने गौतमले बताए । 

ललितपुरमा सितारामको प्रवेश
यसैवीच, ट्राफिक व्यवस्थापनमा निकै नाम कमाएका पूर्व प्रहरी अधिकृत सिताराम हाछेथुलाई मेयर महर्जनले ललितपुर महानगरपालिकामा भित्र्याएका छन् । महानगरपालिकाले उनलाई २०७७ भदौ १५ गतेदेखि ललितपुर महानगरको प्रहरी प्रमुखमा नियुक्त गरेको छ । नियुक्तीसँगै उनले तरकारी र फुटपाथ व्यापारीलाई सडकबाट उठाउने मात्र होइन, ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्थापन, महानगरभित्र होडिङ बोर्ड हटाइ शहरलाई सफा र सुन्दर बनाउने लगायतको जिम्मेवारी उठाएका छन्।  ‘मैले नगर प्रहरी प्रमुखको जिम्मेवारी पाए पछि कानुनमा के कस्तो व्यवस्था रहेछ त्यसको अध्ययन गरे’ हाछेथुले भने, ‘अहिले कानुनले तोकेको जिम्मेवरी सफलातापूर्वक कार्यान्वयन गर्न लागेको छु ।’

ललितपुरमा साइकल लेनको व्यवस्थापनको जिम्मेवारी पनि उनले पाएका छन् । साइकल लेनको व्यवस्थापन उनकोलागि नयाँ अनुभव हुनेछ । ट्राफिक व्यवस्थापनमा अब्बल सावित भएका उनी साईकल लेनलाई अनुकरणीय बनाउँदै महानगरका मेयरको स्मार्ट सीटी बनाउने अभियानमा असल सहयोगी हुने विश्वास महानगरवासीको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ