arrow

मर्मत पछि गाउँमा नियमित सिंचाई

किसानले गरे तरकारी खेतीमा बृद्धि

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
20160531_123744.jpg.jpeg
रुकुम । रुकुमको मग्मा गाविस वडा नं. ३ र ४ मा रहेको रेरेखोला सिंचाई आयोजना मर्मत गरिएपछि त्यस क्षेत्रमा उत्पादनमा बृद्धि भएको छ । निर्माण भएको लामो समय वितिसकेको पनि सिंचाई मर्मत नहुदा समस्या झेल्दै आएका स्थानीयहरुको समस्या सिंचाई मर्मत गरेपछि हट्नुका साथै उत्पादनमा समेत बृद्धि भएको छ । गाउँ नजिकै पानीको मुहान नहुँदा निकै टाढा खोलाबाट गाउँसम्म सिंचाई ल्याएको थियो भएपनि निर्माण भएको लामो समयसम्म सिंचाई मर्मत नहुँदा ठाउँ ठाउँमा पानी चुहिएर गाउँमा पानी नै पुग्दैन्थ्यो ।
 
 सिंचाई कुलो मर्मत गरिदिनको लागि त्यहाँका स्थानीयले विभिन्न निकायमा माग गर्दा पनि कुनै ठाउँबाट सुनुवाई भएको थिएन । तर जिल्ला विकास समिति रुकुम अन्तरगत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा सिंचाई कुलो मर्मत भएपछि त्यस वडामा रहेका किसानको खेतवारी हरियाली हुनका साथै तरकारी तथा अन्य वालीमा समेत उत्पादन बृद्धि भएको सिंचाई निर्माण उपभोक्ता समितिका सचिव खम्बे खत्रीले बताए । 
 
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको २ लाख ५० हजार रुपैयाँको सहयोगमा २ सय मिटर सिंचाई कुलो मर्मत गरिएपछि त्यहाँका स्थानीयहरु खुशी भएका छन् । सिंचाई कुलो मर्मत भएपछि बेला बेला स्थानीयले मर्मत गर्नुपर्ने समस्या हट्नुका साथै सिंचाई नहरमा पानी छिर्ने समस्या समेत हटेको सचिव खत्रीको भनाई रहेको छ । सिंचाई कुलोमा खोलाबाट लगाएको पानी गाउँसम्म पुग्न थालेपछि स्थानीयलाई धानको ब्याड राख्न, खेतवारीमा सिंचाई गर्न, तरकारी खेती गर्न, गाई बस्तुलाई पानी खुवाउन, कपडा धुन, नुहाउन निकै सहज भएको वडा नं. ४ का वडा नागरीक मञ्चका संयोजक शेरबहादुर पुनले बताए । 
 
नियमित रुपमा सिंचाई गाउँमा आउने गरेपछि अहिले त्यहाँका स्थानीयले तरकारी खेती गर्न सुरु गरेका छन् । सिंचाई नियमित आउँदा वडा नं. ३ र ४ का २ सय ५० भन्दा वढि घरधुरीलाई प्रत्येक्ष फाईदा पुगेको छ । सिंचाई कुलो मर्मत नहुँदा स्थानीयलाई यि सबै समस्याहरुले सताउने गरेको थियो । जिल्लाका धेरै ठाउँमा स्थानीयको माग अनुसार सिंचाई मर्मत तथा निर्माणको कार्यक्रम सञ्चालन गरिरहेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला जलवायु परिवर्तन संयोजक भक्त भण्डारीले बताए ।
 
 उनका अनुसार जिल्लाका विभिन्न आठ गाविसका विभिन्न ठाउँमा सिंचाई मर्मत तथा नयाँ सिंचाई निर्माणको कार्यक्रम सञ्चालन गरिएको छ । लामो समय पहिले निर्माण भएका सिंचाई कुलो मर्मत गर्दा र नयाँ सिंचाई निर्माण हुँदा गाउँमा नियमित रुपमा पानी आएर कृषि उत्पादनमा समेत बृद्धि भएको उनको भनाई छ ।
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ