एजेन्सी । युरोकप फुटबलमा इङ्गल्याण्डले वेल्सलाई हराउँदै उत्कृष्ठ पुनरागमन गरेको छ । स्टेड बोलार्ट–डेलीमा भएको समूह बी को खेलमा इङ्गल्याण्डले बलियो वेल्सविरुद्ध २–१ को जित दर्ता गर्दैै उत्कृष्ठ पुनरागमन गरेको हो । पहिलो खेलमा रसियासंग १–१ को बराबरीमा रोकिएको इङ्गल्याण्डले जितसंग नकआउट चरणको बाटो तय गरेको छ । जितसंगै ४ अंक बटुलेको इङ्गल्याण्ड समूहको शीर्ष स्थानमा पुगेको छ । ३ अंक बटुलेको वेल्स भने तेस्रो स्थानमा धकेलिएको छ ।
पहिलो खेलमा वेल्सलाई जिताएका ग्यारेथ बेलले खेलको ४२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । यद्यपि, अग्रता धेरै बेर टिकेन । दोस्रो हाफमा इङ्गल्याण्डका जेमी भार्डीले गोल फर्काए । उनले ५६औं मिनेटमा गोल फर्काउँदै १–१ को बराबरी बनाए ।
पछि इन्जुरी समयमा ड्यानिएल स्टुरिजले निर्णायक गोल गर्दै शानदार जित दिलाए । पहिलो खेलमा रसिया र इङ्गल्याण्डका समर्थकले वितण्डा गरेकामा इङ्गल्याण्डलाई दोहोरो दबाब थियो । एकातिर प्रतिष्ठीत इङ्गलिश क्लबका खेलाडीले भरिएको टिम अर्कोतिर पहिलो खेलमा लागेको ठक्कर । त्यति मात्र नभई समूहको आफ्नो अन्तिम खेलमा बलियो भएर आएको स्लोभाकियासंगको भिडन्त । जसले इङ्गल्याण्डलाई जित्नैपर्ने दबाब थियो ।