arrow

पाँच करोडको लागतमा पोखरा–बागलुङ सडक मर्मत हुँदै

logo
प्रकाशित २०७३ असार ४ शनिबार
pokhara-baglung-highway.jpg.jpeg
फलेवास (पर्वत)। लामो समयदेखि जीर्ण पोखरा–बागलुङ राजमार्गको मर्मत कार्य सुरु गरिएको छ । आर्थिक वर्ष सकिनै लाग्दा झन्डै रु पाँच करोडको लागतमा उक्त सडक मर्मत गर्न लागिएको हो । अधिकांश स्थानमा कालोपत्र उप्केको र धेरै सडक पहिरोका कारण भत्केकाले उक्त सडकलाई मर्मत गर्न लागिएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । 
 
भूकम्पका कारण क्षति पुगेको सडक संरचना निर्माणका लागि रु एक करोड ५० लाख र सडकको स्तरवृद्धिका लागि झन्डै रु साढे तीन करोड खर्चिने भएको छ । चीन सरकारले निर्माण गरेको सडकमा लामो समयदेखि ठूलो स्तरको मर्मत कार्य हुन सकिरहेको थिएन । प्रसिद्ध मुस्ताङको मुक्तिनाथ दर्शनका लागि दिनहुँ कैयौँ स्वदेशी तथा विदेशी पर्यटकले यात्रा गर्ने उक्त सडक मर्मतको अभावमा लामो समयदेखि जीर्ण थियो । 
 
चालु आवमा विनियोजित रु पाँच करोड रकमले पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि पर्वतको बालढुङ्गासम्मको सडकको स्तर सुधार हुने भएको छ । पोखरादेखि बागलुङसम्मकै सडक सबै ठाउँमा मर्मत सम्भार गर्नुपर्ने भए पनि चालु आवमा २६ किलोमिटर लामो सडकको स्तर सुधार (सोल्जर रिपेयर)को काम भइरहेको कार्यालयले जनाएको छ । अहिले उक्त सडकखण्डमा भत्केको ठाउँमा कालोपत्र गर्ने, भिर पहरामा सडक चक्लाउने काम भइरहेको छ । अहिलेसम्म मर्मत योजनाको ६० प्रतिशत काम सकिसकेको कार्यालयले जनाएको छ ।
 
सडक मर्मतसँगै दुई स्थानमा बस–डे पनि निर्माण गरिने भएको छ । यात्रुलाई सवारीसाधनबाट सुरक्षित रुपमा ओर्लिने र चढ्ने व्यवस्था गर्न र सवारीसाधन चढ्ने निश्चित स्थान बनाउन बस–डे निर्माण गरिने कार्यालयका इन्जिनियर अनन्त बरालले जानकारी दिए । 
 
झन्डै चार वर्षअघि पोखरादेखि कास्कीको काँडेसम्मको २५ किलोमिटरभन्दा बढी सडक सामान्य मर्मत भए पनि पर्वत खण्डमा भने हालसम्म पनि मर्मत कार्य हुन सकिरहेको थिएन । धौलागिरि अञ्चललाई सडक सञ्जालमा जोड्ने मुख्य राजमार्गको रुपमा रहेको यो सडकलाई हाल नेपाल सरकारले बजेटमार्फत दुईतर्फी यातायात गुड्न मिल्ने गरी टु लेनको सडक बनाउने घोषणा भने गरिसकेको छ । 
 
दैनिक सयौँ सवारीसाधन गुड्ने पोखरा–बागलुङ राजमार्गले पर्वत, बागलुङ, म्याग्दी, र मुस्ताङ जिल्लालाई केन्द्रीय सम्पर्कमा जोड्ने काम गरेको छ । पोखरादेखि बागलुङसम्मको ६८ किलोमिटर दूरीमध्ये झन्डै ७० प्रतिशत सडक मर्मत गर्नुपर्ने गरी भत्केको छ । सडक मर्मत कार्य आगामी आवमा पनि जारी रहने कार्यालयले जनाएको छ ।
 
 केही स्थानको भिर काट्ने कामका लागि आह्वान गरेको टेण्डरबमोजिम ठेकेदार कम्पनीले भिर उच्च जोखिममा रहेको भन्दै काम गर्न नमानेपछि सोचेजति उपलब्धि हासिल गर्न नसकिएको कार्यालयका इन्जिनियर बरालले बताए । वर्षायाम सुरु हुँदासाथ मर्मत कार्य अगाडि बढाउँदा त्यसको गुणस्तर नरहने कुरामा भने स्थानीयवासीले शङ्का गरिरहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ