arrow

गुणस्तरहीन खाद्य पदार्थ वितरण गर्नेलाई पाँच हजार जरिवाना

logo
राम धामी,
प्रकाशित २०७७ माघ २६ सोमबार
dadheldhura-court.jpg

डडेल्धुरा । डडेल्धुरा जिल्ला अदालतले अमरगढी नगरपालिका–५ बागबजारस्थित निर्मला खुद्रा किराना पसललाई न्यून गुणस्तरीय चनाको दाल बिक्री वितरण गरेको अभियोगमा पाँच हजार जरिवाना गर्ने फैसला गरेको छ ।  सोमबार जिल्ला अदालत डडेल्धुराका न्यायाधीश हरिप्रसाद शर्मा पङ्गेनीको इजलासले विपक्षी निर्मला खुद्रा किराना पसलकी प्रोप्राइटर निर्मला ठकुराठीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत डडेल्धुराले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले खाद्य पदार्थमा स्वच्छता कायम गरी सर्वसाधारण नागरिकको हित कायम गर्ने उद्देश्यले न्यून गुणस्तरीय र कमसल खाद्य पदार्थ बिक्री वितरण गर्ने डडेल्धुरा सदरमुकामका पाँच जना ब्यवसायीबिरुद्ध जिल्ला अदालत डडेल्धुरामा मुद्दा दायर गरेको थियो ।

सो कार्यालयले डडेल्धुरा सदरमुकामस्थित निर्मला खुद्रा किराना पसललाई न्यून गुणस्तरीय चनाको दाल बिक्री वितरण गरेको अभियोगमा यही माघ ७ गते मुद्दा दायर गरेको हो । सो कार्यालयले सदरमुकाम बागबजारस्थित मदन प्रकाश किराना पसललाई न्यून गुणस्तरीय गहत गेडा बिक्री वितरण गरेको अभियोगमा, सदरमुकाम बगरकोट रोडस्थित भागेश्वर स्टोरलाइ न्यून गुणस्तरीय खाद्य पदार्थ धनिया गेडा बिक्री वितरण गरेको अभियोगमा, खलङ्गास्थित रावल किराना पसललाई  न्यून गुणस्तरीय खाद्य पदार्थ चामल बिक्री वितरण गरेको अभियोगमा र बागबजारस्थित ओम बाबा स्टोरलाइ  न्यून गुणस्तरीय खाद्य पदार्थ मटर गेडा बिक्री वितरण गरेको अभियोगमा माघ ८ गते डडेल्धुरा जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

अन्य चार जना व्यवसायीहरूको मुद्दा विचाराधीन रहेको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, डडेल्धुराले खाद्य ऐन, २०२३ अनुसार अनुसन्धान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालय डडेल्धुराको राय निर्णयअनुसार मुद्दा दायर गरेको कार्यालय प्रमुख गणेशदत्त जोशीले जानकारी दिए ।

खाद्य ऐनमा दूषित वा न्यून गुणस्तरको खाद्य पदार्थ बिक्री वितरण गरेमा वा ढाँटी वा  झुक्यामा पारी  खाद्य पदार्थको स्वाभाविक गुण कमसल भएको खाद्य पदार्थ बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । सर्वसाधारणको गुणस्तरीय बस्तु तथा सेवा पाउने हक र गुणस्तरहीन बस्तु वा सेवाबाट हानी भएमा क्षतिपूर्ति पाउने सबैधानिक हकको रक्षाको लागी खाद्य पदार्थमा स्वच्छता कायम गर्न, होटेल रेस्टुरेन्ट होमस्टे आदिको सरसफाइको मूल्याङ्कन गरी होटेल स्तरीकरण गरेर  लोगो प्रदान गर्ने, खाद्य उद्योगहरूको निरीक्षण अनुगमन गरेर उत्पादनमा स्वच्छता कायम गर्ने, बजारमा बिक्री वितरण भई राखेको खाद्य पदार्थको खाद्य ऐन नियमावली अनुसार नमुना लिइ जाँच परीक्षणको लागी पठाउने र सर्वसाधारणको सचेतनाको लागी भेला, गोष्ठी, तालिम, विद्यालय सचेतना आदी कार्यक्रम गर्दै आइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ