arrow

ईश्वरानुभूति कसरी हुन्छ ?

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
antarichha-god.jpg

काठमाडौँ ।  एक जिज्ञासु थिए। जो ईश्वरको खोजमा भटकिरहेका थिए । उनले पूजा-पाठ, व्रत-उपवास, यज्ञ-हवन, तीर्थाटन,दान-पुण्य आदि अनेक कर्मकाण्डहरू गरे, तर उनलाई ईश्वरको अलिकति पनि अनुभूति भएन । एक दिन उनको भेट एक जना आत्म ज्ञानी साधुसँग भए । उनले आफ्नो व्यथा साधुलाई सुनाए। साधु ती जिज्ञासु व्यक्तिको जिज्ञासा देखेर धेरै प्रभावित भए अनि मनै-मन उनलाई आत्म-कल्याणको मार्गमा ल्याउने निश्चय गरे ।

साधुले त्यो जिज्ञासुलाई भने, “तिम्रो इच्छा त राम्रो रहेछ, कहाँ बस्छौ तिमी? म तिम्रो घरमा आउन चाहन्छु अनि त्यो दिनको भोजन-प्रसाद पनि तिनै घरमा गर्न चाहन्छु ।”

जिज्ञासुले साधुलाई आफ्नो घरको बारेमा बताए अनि खुसी भएर घरमा आएर भोजन-प्रसाद ग्रहण गर्ने निमन्त्रण पनि दिए ।  निश्चित समयमा साधु त्यो जिज्ञासुको घरमा पुगे ।जिज्ञासु र उनकी पत्नीले साधुको स्वागत-सत्कार गरेपछि आसनमा बसाएर भोजन गराए। भोजनको थालीमा अनेक प्रकारका व्यञ्जन थिए, तर रोटी सुक्खा थिए । जिज्ञासुकी पत्नीले घिउ लगाएको (दलेको) रोटी साधुले खान्छन् कि खाँदैनन्, यदि खान्छन् भने पछि सोधेर लगाइदिन्छु भनेर रोटीमा घिउ लगाएकी थिइनन्। साधुले सुक्खा रोटी देखेर जिज्ञासुलाई  घिउको बदलामा एक गिलास दूध मागे। केही नसोची-नबुझी जिज्ञासुले एक गिलास दूध लगेर साधुको अगाडि राखिदिए। साधुले चम्चीले दूध उठाएर रोटीमा घस्न थाले ।

जिज्ञासुले अचम्म मानेर साधुले रोटीमा दूध घसेको हेरिरहे। उनी नबोली बस्न सकेन र उनले भने, “साधु महाराज! तपाईँले यो के गरिरहनु भएको छ? रोटीमा पनि कहीँ दूध दलेर खान्छ, जो कि तपाईँले रोटीमा दूध लगाइरहनु भएको छ? तपाईँले भन्नु भएको भए म घिउ ल्याएर दिने थिएँ।"

साधुले भन्छन्, “हेर भाइ! घिउ दूधबाट नै त निस्कन्छ । घिउ दूधमा व्याप्त छ, यही सोचेर मैले रोटीमा दूध लगाइरहेको छ।" जिज्ञासुले भन्छन्, “साधु महाराज! म जान्दछु कि घिउ दूधमा हुन्छ, तर त्यसलाई दूधबाट निकाल्नु पर्दछ, प्रकट गर्नु पर्दछ। घिउ घिउ हुन्छ अनि दूध-दूध हुन्छ । जुन स्वाद हामीलाई रोटीमा घिउ दलेर खाँदा आउँछ, त्यो स्वाद दूध लगाउँदा आउन सक्तैन ।”

साधु महाराज मौन रहेर कहिबेर भोजन गरिरहे,त्यसपछि मुस्कुराएर जिज्ञासुलाई सम्झाउन थाल्छन्, “हेर भाइ! तिमीले फलाना दिन मलाई ईश्वर प्राप्तिको बारेमा सोधेका थियौ।  तिमीलाई सम्झाउनकै लागि आज मैले तिम्रो घरमा भोजन गरेँ । अनि घिउको बदला रोटीमा दूध लगाएँ। मेरो यस कार्य द्वारा  तिमीलाई तिम्रो प्रश्नको उत्तर मिल्यो होला। जसरी दूधको कण-कणमा घिउ व्याप्त छ, तर त्यसलाई पाउन जतन गरेर त्यसलाई प्रकट गर्नु पर्दछ । उस्तै गरी ब्रह्माण्डको कण-कणमा  व्याप्त त्यस ईश्वरीय शक्तिलाई पनि प्रकट गर्नको निम्ति तिमीले ध्यान-साधना गर्न पर्ने छ। दूधबाट घिउ प्राप्त गर्नका लागि उचित तरीका द्वारा हामीले पहिले दूधलाई दही अनि दहीलाई मधेर मक्खन निकाल्नु पर्दछ, त्यसपछि मक्खनलाई उमालेर घिउ मिल्छ । उस्तै प्रकार सतत साधना द्वारा, उचित विधिद्वारा ध्यान गर्नाले ईश्वरलाई आफ्नो हृदयमा प्रकट गर्न सकिन्छ, ईश्वरको साक्षात्कार गर्न सकिन्छ ।

सन्त ब्रह्मानन्दजीले आफ्नो एक भजनमा सम्झाउँदै भनेका छन्।
जिमी दूध के मथने से, मिलता है घी जतन से।
तिमी ध्यान की गलन से, पारब्रह्म लो निहारा।।

जसरी हावामा आर्द्रताको रूपमा पानी भएर पनि कसैको तिर्खा तबसम्म मेटन सक्तैन, जबसम्म त्यो पानीलाई गिलासमा प्रकट गरिने छैन अथवा जसरी गोजीमा मिचिसको डिब्बा भएर पनि तबसम्म आगो बल्न सक्तैन, जबसम्म त्यो मिचिसको सिन्का रगडेर आगो प्रकट गरिँदैन । उस्तै प्रकार कण-कणमा ईश्वरको शक्ति व्याप्त भएर पनि हाम्रो कल्याण तबसम्म हुन सक्तैन, जबसम्म त्यसलाई प्रकट गरिँदैन ।

जिज्ञासुको समस्या समाधान भइसकेको थिए। अब साधुले सुपात्र सम्झेर त्यो जिज्ञासुलाई ध्यान-साधनाको त्यो विधिको ज्ञान गराए जसको अभ्यास र वैराग्य द्वारा ईश्वरलाई प्रकट गर्न सकिन्छ। आत्म ज्ञान पाएर जिज्ञासु धन्य भए अनि जिज्ञासुबाट भक्त बने ।

यस दृष्टान्तको तात्पर्य ईश्वरलाई साधना द्वारा प्रकट गर्न सकिन्छ भन्ने हो। ईश्वरको अनुभूति बिजुलीको तारमा प्रवाहित करेन्ट समान गर्न सकिन्छ। जसरी बिजुलीको तारमा करेन्ट भएर पनि हामीलाई तबसम्म अनुभव हुँदैन,  जबसम्म  ढाकेको प्लास्टिकको कबरलाई हटाइँदैन। उस्तै प्रकार हामीले ध्यान साधना द्वारा आफ्नो आत्मालाई ढाकेको संस्कारहरूलाई हटाउने छैनौँ, तबसम्म हामीलाई परम आनन्दको, परम शान्तिको अनुभूति हुन सक्तैन । जसले ईश्वरलाई प्रकट गरेको छ, उनको जीवन सार्थक, धन्य छ।
कबीरदास जीले भनेका छन्-
सब घट मेरे साईयां, सूनी सेज न कोय।
चलिहारी वह घट की, जामें प्रगट होय।।



नयाँ