arrow

सूचनाको भरमा बागमती

बैठक स्थगित गरेर सभामुख बेपत्ता, विरोधपत्र बुझाउने तयारी 

logo
रबिन्द्र गौतम, 
प्रकाशित २०७७ फागुन ५ बुधबार
bagmati-pradesh-sabha-final.jpg

हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक फेरि स्थगित भएको छ । यसअघि गत माघ १९ गतेका लागि बोलाइएको बैठक विशेष कारणले भन्दै १८ गते राति एक सूचना निकालेर स्थगित गरिएको थियो । 

फागुन ५ गते बुधबार दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभा बैठक बिहान अचानक अर्को सूचना नभएसम्मको लागि भन्दै स्थगित गरिएको थियो । विशेष कारणले गर्दा अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्ण हरि खड्काले बताए ।

मूख्यमन्त्री डोरमणि पौडेलविरूद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि बुधबारबाट छलफल शुरु हुने जनाइएको थियो । यसअघि पनि मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावको सामना गर्न नसकेकै कारण स्थगित गरिएको बैठक दोस्रो पटक अन्तिम समयमा पुनः स्थगित गरिएको छ । 

बैठक स्थगित भएपछि प्रदेशसभा सदस्यहरुले विरोध पत्र बुझाउने तयारी गरेका छन् । ‘पटक पटक सभामुखले यसरी मनलाग्दी गर्नु सह्य हुन्न त्यसैले हामीले बिरोधपत्र बुझाउने तयारी गर्दैछौं’ प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले बताइन् ।

नेकपा प्रचण्ड–नेपाल पक्षबाट मुख्यमन्त्रीको प्रस्ताव समेत गरिएकी शाक्यले बुधबार अविस्वासको प्रस्तावमाथि छलफल गर्ने मंगलबारै राति सहमति भएको तर अन्तिम समयमा सभामुखले सबैलाई धोका दिएको बताएकी छिन् । 

हाम्राकुरासँग उनले भनिन्, ‘सरकार पक्षका माननीय रामेश्वर फुयाल, प्रतिपक्षका नेता इन्द्र बानिया, सभामुखलगायत सबैसँग हिजै राति छलफल गरी सभामुखसँग हामीले सहमति गरेका थियौं । आजको बैठकमा अविस्वासको प्रस्तावमाथि छलफल गर्ने भनी सभामुखले सहमति पनि जनाउनुभएको थियो । तर अन्तिम समयमा आएर उहाँले धोका दिनुभयो ।’

बैठक स्थगित गरेर सभामुखले गैरजिम्मेवार र नैतिकहिन कार्य गरेको प्रदेशसभा सदस्य युवराज दुलालले बताए । सभामुखको यो नैतिकहिन कार्यविरुद्ध सबै दलहरुसँग छलफल गरेर अघि बढ्ने उनले बताए ।
  
प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भइ स्थगित गरिएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध गत माघ १० गते अविस्वासको प्रस्ताव दर्ता गरिएको थियो  ।

नेकपा संसदीय दलका ८० सांसदमध्ये ४५ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पौडेल अप्ठेरोमा परेका छन् । 

प्रदेशसभामा सत्तारुढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ