नेविसंघ के हो ?

प्रकाशित मिति : २०७३ असार ६ सोमबार
फाइल फोटो
काठमाडौं। हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो नेपाल विद्यार्थी संघ। तबत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा गरिएको थियो। 
 
नेपालको प्रजातान्त्रिक आन्दोलन जसले नेपालीलाई जहानीय राणा शासन, एकतन्त्रीय पञ्चायती शासन हुँदै तात्कलिन राजा ज्ञानेन्द्रको प्रजातन्त्र हत्याउने कदम विरूद्ध समेत लडेर नेपाललाई संघीय गणतन्त्रात्मक नेपाल बनाएको छ। प्रजातान्त्रिक आन्दोलनको यो कालसम्म आइपुग्दा विद्यार्थी राजनीतिको भूमिका अतुलनीय रहेको कुरा नकार्न सकिँदैन।
 
नेपाली राज्य व्यवस्थाले विद्यार्थीको साथ पाएर धेरै परिवर्तनको अनुभूति गर्न सक्यो। चाहे ‘जयतु संस्कृतम्’ को नामबाट होस् या त त्यसपछि भाँचिएका विभिन्न राजनीतिक विचारधारासँग सम्बन्धित विद्यार्थी संगठन नै किन नहोस्। परिवर्तनकारी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने र परिवर्तनको स्वाद चखाउने काम विद्यार्थीहरूकै मार्फत्बाट भएकोमा पनि कसैको दुई मत छैन। 
 
पञ्चायती शासनमा पिल्सिएका नेपालीहरू र त्यसमा पनि जागरूक विद्यार्थीहरूले प्रवासमा रहेर ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको प्रारूप चित्र कोर्ने प्रयास भएको देखिन्छ। त्यसँगै देशभित्रका पनि विभिन्न क्याम्पसहरूमा सम्मेलन तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको थियो। यसैबाट नेपाल विद्यार्थि संघले औपचारिक जन्म पायो। जसले प्रजातन्त्र पुनर्वहाली, लोकतन्त्र र गणतन्त्रसम्ममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। 
 
जयतु संस्कृतम्ः पृष्ठभूमिकाल 
जयतु संस्कृतम् अहिलेका विद्यार्थी संगठनको एउटा पृष्ठभूमि काल मात्रै हो। तात्कालीन समयमा दरबारमार्गमा रहेको तीनधारा संस्कृत छात्राबासमा रहेका विद्यार्थीहरूले राणा विरोधी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरे। २००४ साल असार १ गते गठन भएको विद्यार्थीहरूको संगठन नेपाली इतिहासमा पहिलो विद्यार्थी संगठनको हिसावले चिनिन्छ। त्यतिबेला पुरोहितहरूको बसोबास रहेको सो छात्राबासमा जो कोहीले आन्दोलन गर्दापनि प्रहरी हस्तक्षेपको खासै डर थिएन। एकातिर नेपाली काँग्रेसले सशस्त्र आन्दोलन चलाईरहेको थियो भने विद्यार्थीहरूले सरकारी भात खाएर नै सरकार विरूद्ध आन्दोलनको आँधिबेरी चलाईरहेका थिए। उनीहरूले गरेको गल्तीमा मृत्युदण्ड दिने प्रचलन नभएकोले पनि जतिसुकै आन्दोलन गर्दापनि कडा कारबाहीको डर नभएपछि धेरै भन्दा धेरै विद्यार्थीको सहभागिता भयो। अन्ततः विद्यार्थीको संलग्नताको केही समयपछि आन्दोलनले पूर्णता पनि पायो। तात्कालीन समयमा स्वतन्त्रता प्राप्तिको भनेर नै आन्दोलन केन्द्रित नभएको भएपनि पछि उनीहरू विस्तारै स्वतन्त्रता प्राप्तिको लागि आन्दोलन केन्द्रीत हुँदै गयो। त्यतिबेला संस्कृत मात्रै पढ्दै आएका विद्यार्थीहरूले भूगोल, इतिहास र नागरिक शास्त्र लगायतका विषय पढ्न पाउनुपर्ने माग राख्दै आन्दोलन सुरू गरेका थिए। यसैमा केन्द्रीत भएका वि सं २००५ मा त्रि–चन्द्र क्याम्पसका विद्यार्थीहरूले नेपाल छात्र संघ नामक विद्यार्थी संगठन खोली आफ्नो शत्तिःलाई प्रजातन्त्र प्राप्तिमा केन्द्रीत गरेका थिए। 
 
त्यससँगै वि सं २०१५ सालको आम निर्वाचनमा पनि नेपाली काँग्रेसलाई दुई तिहाई बहुमतको पार्टी बनाउन र २०१४ सालमा जनतालाई राणाहरूको क्रु शासनको अन्त्य गराउन पनि तात्कालिन समयमा प्राजातान्त्रिक विद्यार्थीहरूको भूमिका अहम् रहेको देखिन्छ। त्यसपछि वि सं २०१७ सालमा तात्कालीन राजा महेन्द्रले पञ्चायती शासन सुरूवात गरेपछि पनि प्रजातान्त्रिक विद्यार्थीहरू त्यसविरूद्ध लडि रहे। यसैलाई नेविसंघको पृष्ठभूमिकालको रूपमा लिन सकिन्छ।
नयाँ