arrow

कोरोनाको उपचारमा अब्बल देखिएको 'एपिएफ' अस्पताल

महामारीमा २३ सय ११ जनाले पाए निःशुल्क उपचार

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
apf-hospital-balambu.jpg

काठमाडौं । कोरोना संक्रमण विश्वव्यापी रूपमा फैलिरहँदा सो महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । महामारीको सन्त्राससँगै विभिन्न अस्पतालहरूलाई सरकारले कोभिड १९ को उपचारार्थ 'डेडिकेटेड' अस्पतालहरूको रूपमा रूपान्तरण गर्दै गयो । ति मध्ये नै एक थियो सशस्त्र प्रहरी अस्पताल बलम्बु ।

नयाँ भाइरस भएको कारण एकातिर त्रास फैलिएको थियो भने अर्का तिर संक्रमण भइहाले के गर्ने, के नगर्ने भन्नेमा नागरिकहरू रनभुल्लमा थिए । संक्रमणले गाह्रो बनाए कुन अस्पताल जाने भन्नेमा पनि राम्रो सूचना नागरिकहरुसँग थिएन । निजी अस्पतालहरूले महंगो शुल्क लिइरहेका थिए । सर्वसाधारणले त ती निजी अस्पताल जान त के सोच्न सक्ने अवस्था पनि थिएन । शुल्क तिर्छु भन्दा पनि निजी अस्पतालमा बेड पाउन सकसै थियो । स्वास्थ्य मन्त्रालयको सिफारिस लिएर जानेहरू अस्पतालको पहिलो रोजाइमा पर्थे । महामारीको संक्रमण बढिरहेको बेला एपिएफ अस्पतालले सङ्क्रमितहरूको लागि निःशुल्क आफ्नो सेवा सुरु गरेको थियो ।    

सरकारले आवश्यक सावधानीका लागि जनतामा सचेतना फैलाउँदै गयो । संक्रमित थपिदैं गए । स्वास्थ्यकर्मीको मनोबल बढाउनु पर्छ भन्नेतर्फ देश नै अग्रसर भयो । ज्यानलाई बाजी राखेर स्वास्थ्यकर्मीहरू सरकारले दिएको निर्देशनलाई पालना गर्न तर्फ लागे । संक्रमितको संख्या बढ्दै गएपछि संक्रमितको कसरी उपचार गर्ने भन्ने विषयमा अस्पतालहरूले पूर्व तयारी अभ्यास गरे । यस्तै मध्येको एक अस्पताल हो, सशस्त्र प्रहरी अस्पताल जसलाई एपिएफ अस्पतालका नामले चिनिन्छ ।

संक्रमित बढ्दै जाँदा यो अस्पताल कोभिड-१९ युनिफाइड अस्पतालकै रूपमा तोकियो । अस्पतालले दिएको राम्रो सुविधाको कारण सर्वसाधारण मात्र हैन कतिपय नेता देखि कलाकारसम्मले कोभिडको उपचारको लागि एपिएफ अस्पताललाई नै रोजे । कलाकार मनोज गजुरेलले त एपिएफ अस्पतालमा कोभिडको उपचार गराएपछि गुणस्तरीय सेवा तथा उपचारको कारण निको भएको बताएका थिए ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी राजु अर्यालले संक्रमण उच्च रहँदा डरैडरका बीचमा पनि उच्च मनोबलका साथ काम गर्न सशस्त्र प्रहरीलेसमेत मनोवैज्ञानिक रूपमा आफूलाई तयार पारेर राष्ट्र र जनताको हितमा समर्पित गरेको बताए । ‘दुःखद अवस्था आउँदा सङ्गठनलाई उच्च मनोबलका साथ मनोवैज्ञानिक रूपमा तयार गर्न धेरै असहज भयो, तर असहजताका बीच पनि कोरोना संक्रमितको उपचारका लागि तयार भएर सशस्त्र प्रहरीले सङ्गठनको साख उँचो बनाएको छ, यो समय हाम्रालागि चुनौती र सशस्त्र प्रतिको विश्वास बढाउने अवसर पनि बन्यो,’ सशस्त्र प्रहरीका प्रवक्ता अर्यालले भने । कोरोना संक्रमण दर नेपालमा बढ्दै गर्दा सशस्त्र प्रहरीले अस्पताल परिसर भित्रै रहेको उपत्यका हेर्ने पशुपति बाहिनीलाई सानो गौचरण सारेर सो स्थानलाई अस्पतालका लागि प्रयोगमा ल्याएको थियो ।

‘संक्रमितहरु दिनदिनै थपिंदै गए, अस्पतालमा तयार गरिएका बेडहरू भरिन लागे, त्यस बेला राज्य नै त्रसित थियो, फोन बजेको बज्यै हुन्थ्यो र आफन्त, प्रहरी परिवार र सर्वसाधारणलाई सबैलाई व्यवस्थापन गर्न चुनौती बढ्दो थियो ।

अस्पताललाई कोभिड-१९ को ‘डेडिकेटेड’ अस्पतालका रूपमा तोक्ने निर्णय  गत साल चैत्र १९ गते भएसँगै पहिलो संक्रमितको आशंका गरिएको बिरामी भर्ना ३१ गते वैशाखबाट सुरु गर्‍यो । पहिलो संक्रमण पुष्टि भएका बिरामीलाई १ जेठमा भर्ना गरेर उपचार सुरु गरेको थियो । हालसम्म यो अस्पतालबाट १ हजार ९ सय ८५ जना कोरोना संक्रमित र ३ सय २६ जना शंकास्पद बिरामी गरी २ हजार ३ सय ११ जनाले उपचार पाएका छन् । अस्पतालका प्रमुखसमेत रहेका सशस्त्र प्रहरीका एसएसपी डा. रूपक महर्जनले कोरोनाका कारण राज्य नै त्रसित भएको अवस्थामा सरकारले दिएको जिम्मेवारीलाई अवसरको रूपमा लिएर काम गरेको बताए ।  

 ‘संक्रमितहरु दिनदिनै थपिंदै गए, अस्पतालमा तयार गरिएका बेडहरू भरिन लागे, त्यस बेला राज्य नै त्रसित थियो, फोन बजेको बज्यै हुन्थ्यो र आफन्त, प्रहरी परिवार र सर्वसाधारणलाई सबैलाई व्यवस्थापन गर्न चुनौती बढ्दो थियो, तर पनि हामीले हरेस खाएनौं,’ कोरोना संक्रमणका ती अस्तव्यस्त दिन सम्झंदै एपिएफ अस्पतालका प्रमुख डा. महर्जनले भने ।

संक्रमण बढ्दै जाँदा यस अस्पतालमा १ सय २० बेडको कोभिड वार्ड, आइसियु बेड २०, सशस्त्र प्रहरीका लागि मात्रै छुट्टै ६० बेडको तयार गरेर सेवा दिएका थियौ । यसै गरी आइसियु आवश्यक नपर्ने बिरामीका लागि ५० बेडको मनिटर जडित बेडसमेत राखिएको छ । सो ५० बेडको वार्डमा आइसियुमा तत्कालै राख्न नपर्नेहरूलाई राखिने गरेको छ । अस्पतालका प्रमुख डा. महर्जन भन्छन्,‘पहिले बेड नपुगेर संक्रमित राख्नै नसकिने अवस्था थियो, अस्पतालमा आएका संक्रमितहरु निको भएर घर फर्कंदै गर्दाको खुसी नै फरक हुन्थ्यो, अन्य संक्रमितलाई पनि हौसला दिने आँट आउँथ्यो ।

अस्पतालका प्रवक्ता एवं कोभिड इन्चार्ज डा. प्रवीण नेपालले हाल अस्पतालमा ७ जना उपचाररत रहेको जानकारी दिए । ती मध्ये तीन जना संक्रमित, दुई जना शंकास्पद र दुई जना आइसियुमा उपचाररत छन् ।  डा. नेपालका अनुसार हालसम्म सशस्त्र प्रहरी अस्पतालबाट २ हजार २ सय ३९ जना बिरामीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् । जसमध्ये १ हजार ९ सय २० संक्रमित, ३ सय १९ जना शंकास्पद छन् ।  यसै गरी अस्पतालमा उपचारका क्रममा ६५ जनाले ज्यान गुमाएका छन् । जसमा कोरोना संक्रमित ६० तथा पाँच जना शंकास्पद बिरामीको मृत्यु भएको थियो ।

डा. नेपालका अनुसार अस्पतालमा संक्रमण देखिएर उपचार भएका मध्ये ५ सय ९२ जनामा कोरोना संक्रमणसँगै अन्य विभिन्न प्रकारका रोगहरूसमेत रहेको पाइएको थियो । उनका अनुसार अस्पतालमा आएका मध्ये २ सय ६२ जना कोरोना संक्रमितमा कोरोना संक्रमणसँगै हाइपर टेन्सन, १ सय ५१ जनामा डाइवेट्स मेलिटस्, ५२ जनामा आस्थमा, ६ जनामा पल्मोनरी टीवी, १३ जनामा स्केमिक हर्ट डिजिज्, ६ जनामा भल्वर हर्ट डिजिज्, ८ जनमा ग्याँस्ट्रोइन्टेसनल डिजिज् लगायतका ५ सय ९२ जनामा विभिन्न प्रकारका रोग देखिएका थिए ।

गत चैतदेखि अस्पताल व्यवस्थापनले कोभिड र अन्य बिरामीलाई सहज उपचार सेवाका लागि अलगअलग नयाँ मापदण्ड नै लागू गरेको थियो । यसले अस्पतालको सेवा अझ छिटोछरितो र चुस्त पारेको थियो । यस्तै अस्पतालले भर्ना भएका कोरोनाका बिरामीलाई चिकित्सकीय सेवा, खानपान तथा अन्य बन्दो बस्ती निःशुल्क उपलब्ध गराएको थियो ।

सोही अस्पतालबाट संक्रमण निको भएर फर्किएका टंक गजुरेल भन्छन्, 'अस्पतालले दिने उपचार सेवा त उत्कृष्ट थियो । अस्पतालले दिने खाना, भित्र हुने सरसफाइ र स्वास्थ्यकर्मीको बोली तथा व्यवहारले हामीलाई सहज बनायो । सरकारी अस्पताल पनि व्यवस्थापन राम्रो हुँदा अब्बल हुँदो रहेछ ।’

वि.सं. २०६२ मा स्थापित अस्पतालले पछिल्लो समय आफ्ना चिकित्सक, नर्स, प्रयोगशालाकर्मी, प्यारामेडिक्स, सरसफाइ र अन्य कर्मचारी लगायत ४ सय ४८ जनशक्तिलाई तालिम प्रदान गरी कोभिडमा केन्द्रित गराएको थियो । ‘अस्पतालबाट कोरोना जितेर घर फर्किन लाग्दा बिरामीले व्यक्त गरेका खुशी नै हामीलाई सम्पत्तिका रूपमा प्राप्त भयो । सामाजिक संजाल र फोनबाट आएका बधाइका शब्दले झन् उत्साह दिन्थ्यो' डा. नेपालले भने।

डा. नेपालका अनुसार पहिलो संक्रमित निको भएर १६ दिनपछि घर फर्किएका थिए । यसै गरी अस्पतालमा आएका मध्ये १५ दिनको नवजात शिशु, ९२ वर्षीय वृद्ध, गर्भवती तथा सुत्केरीले कोरोनालाई जितेर सशस्त्र प्रहरी अस्पतालबाट घर फर्किएका छन् । अस्पतालले पहिलो पटक गत २ असोजदेखि हेमोडायलिस उपचार सेवा पनि शुरुआत गरेको छ । कोभिडका गम्भीर बिरामीका लागि सो सेवा अति महत्त्वपूर्ण मानिन्छ ।

यसै गरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँगको समन्वयमा प्लाज्मा थेरापी तथा रेम्डीसिभिर औषधि जस्ता पछिल्लो आधुनिक उपचार सेवासमेत अस्पतालले प्रयोग गर्दै आएको छ । पुन : कोरोनाको दोस्रो वेभ आउन सक्ने आंकलनका साथ अझ बढी तयारी गरेर बसेको समेत डा. नेपालले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ