arrow

विद्यालय भवन पुनर्निर्माण, हस्तान्तरणसंगै सामाजिक परिक्षण

logo
प्रकाशित २०७३ असार ६ सोमबार
school-new-ff.jpg.jpeg
काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले ‘भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण–मर्मत कार्यक्रम २०७२–०७३ अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका –१२ मकैबारीमा अवस्थित कुटीडाँडा उच्च माध्यमिक विद्यालयको दुई कोठे ट्रस भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ । जिल्ला शिक्षा कार्यालय दोलखाका विद्यालय निरीक्षक अर्जुन बहादुर कार्की मार्फत नवनिर्मित भवन उद्घाटन, हस्तान्तरण एवम् सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
 
कार्यक्रममा निरीक्षक अर्जुन बहादुर कार्कीले भुकम्पले क्षतिग्रस्त भएको अवस्थामा शान्ति शिक्षा अभियान नेपालले भुकम्प प्रतिरोधी भवन पुनर्निर्माण गरी विद्यालयका बालबालिका तथा शिक्षक शिक्षिकाहरुलाई पठनपाठन गर्न गराउन उपयुक्त वातावरण श्रृजना गरिदिएकोमा धन्यबाद व्यक्त गर्नुभयो । 
 
कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य राम बहादुर भुजेलले विनाशकारी भुकम्पले विद्यालयको लगभग सबै भवनहरु क्षतिग्रस्त भए यता विभिन्न संघसंस्थाहरुबाट सहयोग प्राप्त भई अस्थायी कक्षा कोठामा राखी पठनपाठन भईरहेको तर मौसमी परिवर्तन संगसंगै विभिन्न समस्याहरु आउने गरेको बताउनुभयो । शान्ति शिक्षा अभियान नेपालले २ कोठे पक्की भवन पुनर्निर्माण गरी विद्यालयलाई धेरै राहत मिलेकोमा संस्थालाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
 
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा शान्ति शिक्षा अभियान नेपालका कार्यक्रम संयोजक श्री सीता न्यौपानेले भवन पुनर्निर्माणमा लागेको कुल लागत रकम रु ११,५३,७४३।– मध्ये संस्थागत खर्च रु ९,०२,१४३।– र  विद्यालयको सहयोग बापत रु २,५१,६००।– बारे विस्तृत रुपमा समुदाय समक्ष सार्वजनिक परिक्षण प्रतिवेदन पेश गर्नुभयो । 
 
यसैगरी शान्ति शिक्षा अभियान नेपालका अध्यक्ष श्री रविन्द्र महर्जनले भुकम्प पछि विद्यालयहरुको भवन क्षतीग्रस्त भई विद्यार्थीहरुलाई असहज वातावरणमा पठनपाठन गराईरहेको अवस्थामा नेप्लिज एसोसिएसन अफ हुस्टन एन ए एच, अमेरिकाको आर्थिक सहयोगमा विद्यालय भवन पुनर्निर्माण गरी पठनपाठन कार्यमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
 
उहाँले देशमा नीजि विद्यालय भन्दा सामुदायिक विद्यालयको क्षमता, महत्व र अवसरहरुलाई उचाइमा ल्याउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनहरुमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक शैक्षिक कार्यक्रमहरु मार्फत संस्थाको सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले हालको जस्तै पुनर्निर्माण कार्य सुस्त गतिमा रहे आगामी पाँच वर्ष सम्म दस लाख भन्दा बढी विद्यार्थीहरु प्रभावित हुनेहुँदा अन्य संघ संस्थाहरु र समुदाय मिलेर पुनर्निर्माण कार्यमा लाग्न अनुरोध गर्नुभयो ।
 
शान्ति शिक्षा अभियान नेपालले स्थापना कालदेखि नै आफ्नो उद्धेश्य अनुरुप सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर र काठमाण्डौं जिल्लाहरुमा शैक्षिक गुणस्तर सुधार परियोजना अन्र्तगत बिद्यालय भवननिर्माण–मर्मत संभार, प्रारम्भिक बाल विकास र अंग्रेजी भाषा शिक्षण तालिम, खानेपानी, सेतोपाटी, फर्निचरको व्यवस्था, कक्षा कोठाहरुमा झ्याल ढोकाहरुको व्यवस्था गर्ने जस्ता विद्यालय केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
 
गत बर्ष बैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पले क्षतीग्रस्त विद्यालय भवनहरु र विद्यार्थीहरुको दयनीय अवस्थालार्ई मध्यनजर गर्दै यस संस्थाले ‘भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण–मर्मत कार्यक्रम २०७२–०७३ अन्तर्गत दोलखा जिल्लाका ५, काभ्रे जिल्लाका ४, काठमाण्डौं जिल्लाका ३ र ललितपुरका १० वटा गरी कुल रु २ करोड ७५ लाखको लागतमा २२ वटा विद्यालय भवन मर्मत तथा पुननिर्माण गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ