- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अदालतमा मुद्दा विचाराधीन रहकै समयमा बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिरमा सुनको जलहरी अनावरण गरी फर्किएकी छन् । तर, उनी फर्किए लगत्तै सर्वोच्च अदालतले भने पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न सरकारका नाममा अन्तर कालिन आदेश दिएको छ ।
सर्वोच्चले स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्था अनुसार छलफलको टुङ्गो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु नगराउनु भनेको छ । आदेशमा सर्वोच्चले जलहरी राख्नु पर्ने लिखित कारण पनि सरकारसँग माग गरेको छ ।
बाग्मती प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुङ्गानाले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न नहुने भन्दै सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो । सो विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकारतर्फका दुवै पक्षलाई फागुन १७ गते छलफलमा बोलाइएको छ ।
राष्ट्रपतिले बुधवार ११ बजेपछि पूजा आराधना गरेपछि पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको थियो । शिवलिंगलाई १०८ किलोको सुनको जलहरीले ढाकिएको छ ।
पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । सो कार्यका लागि ८० करोड रुपैंया खर्च भएको छ ।