arrow

योग नेपाली भूभागकै उत्पत्ति: प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
yoga.JPG.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले योग नेपाली भूभागकै उत्पत्ति भएको बताएका छन्।
 
नेपाल सरकारले आज बिहान दरबारमार्गमा आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली पुर्खा र विद्वान्ले योग सुरु गरेको उल्लेख गर्दै यो कुनै देशको सम्पत्ति नभई सबै मानवका लागि हो भने।
 
शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी नेपालमा ‘सामन्जस्य एवम् शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ पहिलो पटक भव्यतापूर्वक अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो। संयुक्त राष्ट्र सङ्घले ११ डिसेम्बर २०१४ मा हरेक २१ जुनलाई दिवस मनाउने प्रस्ताव पारित गरेको थियो।
 
उनले स्वस्थ शरीर र स्वस्थ विचारका लागि योगको अपरिहार्यता रहेको जनाउँदै संयुक्त राष्ट्र सङ्घबाट योग दिवसलाई मान्यता दिलाउन पहल गर्ने सबैप्रति आभार व्यक्त गरे।
 
शिक्षामन्त्री तथा समितिका संयोजक गिरिराजमणि पोखरेलले योग नेपालको विशिष्टतम् चेतना भएको जनाउँदै यसलाई विद्यालयस्तरमा फैलाउनुपर्ने बताए। स्वास्थ्यमन्त्री रामजनम चौधरीले केवल दिवसमा मात्र नभई नियमित योग गर्न पनि आग्रह गरे।
 
नेपालका लागि भारतीय राजदूत रणजित रायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवसका अवसरमा दिनुभएको सन्देश वाचन गरेका थिए।
 
कीर्तिमानी योगसाधक पुरस्कृत
कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘योग म्याराथन’ मा विश्व कीर्तिमान कायम गर्ने उत्तम मोक्तानलाई रु ५१ हजार राशिसहित पुरस्कृत गरे।
 
मोक्तानले २०७२ पुस २ देखि ४ गतेसम्म लगातार ५० घन्टा १५ मिनेट योग गरी ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा आफ्नो कीर्तिमान कायम गरे। उनले भारतका योगराज सिपीले कायम गरेको ४० घण्टा १५ मिनटको रेकर्ड तोड्नु भएको थियो।
 
तीन पुस्तक विमोचित
प्रधानमन्त्री ओलीले योगसम्बन्धी विभिन्न तिन पुस्तकको लोकार्पण पनि गरे। ती पुस्तकमा डा राजु अधिकारीद्वारा लिखित ‘तपाइँका लागि योग’, पतञ्जलि योगपीठ नेपालद्वारा प्रकाशित ‘विचार क्रान्ति’ र नेपालस्थित भारतीय दूतावासद्वारा प्रकाशित ‘योग सन्देश’ (योगा फर पिस एण्ड हार्मोनी) छन्।
 
विशिष्ट व्यक्ति योगाभ्यासमा
कार्यक्रममा प्रधानमन्त्री ओली, उहाँका धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद र उच्चपदस्थ व्यक्तिहरु र योग साधकबाट एक घन्टा योग अभ्यास गरिएको थियो। प्रधानमन्त्री ओलीले भने स्वास्थ्यका कारण केही अभ्यास गरी आराम गरेका थिए।
 
पतञ्जलि योग समिति नेपालका प्रमुख लवदेव मिश्र प्रभारी र पतञ्जलि योगपीठ नेपालका ट्रष्टी शालिग्राम सिंहले योग प्रदर्शन तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह ऐरले ध्यान गराएका थिए। सहभागीलाई शरीर र सोचलाई सदैव सन्तुलित राख्ने सङ्कल्प गराइएको थियो ।
 
दिवसका अवसरमा आज देशव्यापीरुपमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ