काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय भेटघाटलाई तीब्रता दिएका छन् । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेपछि सत्ताधारीसंगको राजनीतिक दुरी कम गरेका सभापति शेरबहादुर देउवाले कुटनितिज्ञसंगको भेटघाटलाई समेत तीब्रता दिएका छन् ।
यद्यपि, देउवाले दिवंगत पूर्व सभापति सुशील कोइराला जस्तो भेटघाटका लागि पार्टी केन्द्रीय कार्यालयलाई प्रयोग भने गर्दैनन् । कोइराला सबै भन्दा बढी नेता कार्यकर्ता भेट्ने सभापति बनेका थिए । जसमा उनले शिष्टाचार भेटका लागि पार्टी कार्यालयलाई बढी प्रयोग गरेका थिए । देउवालाई भेट्ने जो कोही उनकै निजी निवास बुढानीलकण्ठ पुग्दछन् । पार्टी कार्यालय भने सुनसान जस्तै हुन्छ । जसमा २५ प्रतिशत पाहुना र ७५ प्रतिशत नेता कार्यकर्ता रहने गरेको बताइन्छ ।
मंगलबार मात्रै देउवालाई भेट्न बेलायती राजदूत रिजार्ड मोरिस र बेलायती परराष्ट्र मन्त्रालयका दक्षिण एसिया निर्देशक एवं नेपाल–भारत कोर्डिअनेटर एमएस लौउरा निजी निवास पुगे । देउवाको नीजि निवासमा भएको शिष्टाचार भेट करिब ४५ मिनेट चल्यो । भेटका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध र सहयोग तथा नेपालको राजनीतिक घटनाक्रम, आर्थिक विकास र आगामी गतिविधिहरुबारे छलफल भएको थियो ।
भेटका क्रममा देउवाले नेपालको सवैभन्दा ठूलो र पूरानो राजनीतिक दल भएका कारण आफुहरुको काँधमा मुलुकको ऐतिहासिक दायित्व र जिम्मेवारी रहेको सुनाए । उनले नेपाली कांग्रेसकै अगुवाईमा राजनीतिक, सामाजिक तथा आर्थिक विकास सम्भव भएको बताउँदै आगामी दिनमा सहमति, सहकार्य र एकताका साथ अघि बढ्नका लागि नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जानकारी गराए । भेटका क्रममा बेलायती कुटनीतिज्ञले नेपालको राजनीतिक अवस्था र आर्थिक विकासका सन्दर्भमा जिज्ञासा राखेका थिए ।
यसैबीच, पछिल्लो समय कांग्रेस पदाधिकारीहरुले औपचारिक तथा शिष्टाचार भेट समेत नीजि निवासमै गर्ने गरेको र पार्टी कार्यालयमा कोही जान नमान्ने टिप्पणी भएको छ । पदाधिकारीहरुले पार्टी कार्यालयलाई महत्व नदिएको गुनासो कांग्रेस भित्रैबाट आइरहेको छ । यस्तै, १३औं महाधिवेशन सकिएको तीन महिना वितिसक्दा समेत ३ पदाधिकारी र ११ सदस्यको अझै टुंगो लाग्न नसक्दा केन्द्रीय कार्यसमितिले समेत पूर्णता पाएको छैन ।