arrow

प्रवीण हत्या प्रकरणमा घरधनी समातिए

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
prabin-bastola-hatya1.jpg

विवेक मिश्र, मोरङ । मोरङको उर्लाबारीका प्रवीण बास्तोला हत्या प्रकरणमा मोरङ प्रहरीले घरधनी उर्लाबारीका रमेश गिरीलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई सोमबार ११ बजे मोरङ अदालत उपस्थित गराउने मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रवीणको हत्या भएको रात उर्लाबारी नगरपालिका-७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा उनी सुतेका थिए । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रवीण बिहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । स्थानीय गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृत्यु भएको दिन प्रवीण आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दिलीप पौडेलको डेरामा सुतेका थिए । त्यहाँ ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए ।

प्रवीण बास्तोलाको हत्या आरोपमा पक्राउ परेका दुई जना मध्ये एक जनालाई मोरङ अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । बिहीबार थुनछेक बहसपछि रतुवामाई-१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो भने होटेल सञ्चालक कुमार राईलाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न मोरङ अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले यस्तो आदेश दिएको हो ।

हत्यामा संलग्नमध्ये ३ जना फरार छन् । सरकारी वकिलको कार्यालय गत मङ्गलवार पक्राउ परेका दुई र त्यसबाहेक चार जनालाई फरार प्रतिवादी बनाएर मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ