इलाम । इलामको पशुपतिनगर नाकाबाट १८ किलो चरेस सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुबाट ७० हजार नेपाली र ४६ हजार पाँच सय भारतीय रुपैंयासमेत बरामद भएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक महेश खनाल नेतृत्वको टोलीले चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको डब्लुबी–७६–७४६६ गाडीमा १८ किलो चरेस फेला पारेको हो ।
पशुपतिनगरबाट चरेस बोकेर दार्जिलिङतर्फ जान लागेका एक भारतीय सहित ३ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी सुशील यादवले हाम्राकुरालाई जानकारी दिए । यादवका अनुसार पक्राउ पर्नेहरुमा धादिङका ३६ वर्षीय बुद्धिलाल तामाङ, रुपन्देहीका २० वर्षीय होमबहादुर पुन र भारत दार्जिलिङ सीमानाका चालक टासी शेर्पा रहेका छन् ।
१८ किलो चरेसको मूल्य करोडौं पर्ने बताइएको छ । केही दिन अघि समेत इलाम प्रहरीले ठूलो संख्यामा कर छलिको बहुमूल्य काठको गोलिया बरामद गरी वन कार्यालयलाई बुझाएको थियो । एसपी सुशील यादवले इलाम आए देखि प्रहरीको सक्रियता निकै बढेको छ ।