काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघको चौथो राष्ट्रिय महाधिवेशन फेरी स्थगित भएको छ । प्रतिनिधि विवादका कारण संघका कोषाध्यक्ष डा. विष्णुप्रसाद पोखरेल पक्ष नेतृत्वको असन्तुष्ट पक्षले विवाद नमिल्दासम्म महाधिवेशनमा भाग लिन नसकिने बताएपछि महाधिवेशन स्थगित भएको हो ।
यसअघि गत जेठको अन्तीम हप्तामा पोखरामा गर्ने भनिएको संघको महाधिवेशन पनि स्थगित भएको थियो । असन्तुष्ट पक्षको सहभागीता विना केही हप्ता पहिले पोखरामा बसेको केन्द्रीय समितिको बैठकले यही असार १० र ११ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
संघका अध्यक्ष प्रा. बासुदेव घिमिरेले सूचना प्रकाशित गरी अनिश्चितकालका लागि महाधिवेशन स्थगित भएको जानकारी दिएका छन् । संघको मातृ पार्टी नेपाली काँग्रेसका नेताहरुसंगको परामर्श र निर्देशनलाई गंभिरतापुर्वक ध्यान दिई महाधिवेशन स्थगित गरिएको घिमिरेले सूचनामा उल्लेख गरेका छन् ।
अध्यक्ष घिमिरेले विवाद थप चर्किन नदिन महाधिवेशन स्थगित गर्नुलाई असन्तुष्ट पक्षले सकारात्मक रुपमा लिएको छ । असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका कोषाध्यक्ष पोखरेलले अव विधान बामोजिम प्रतिनिध कायम गरेर निर्वाचनको वातावरण बनाउनु पर्नेमा जोड दिए ।
संघका साधारण ससदस्यहरुको नामावलीलाई विधानतः अन्तीम रुप दिई विधान बमोजिम नै महाधिवेशन प्रतिनिध कायम भएपश्चात अधिवेशनको मिति तोकिने उनको भनाई छ । उनले महाधिवेशन गर्न ढिला भईसकेकाले जतिसक्दो चाडो विवाद मिलाएर महाधिवेशन गर्नु पर्नेमा जोड दिए ।
संघको अघिल्लो अधिवेशन २०६९ साल पौष १३ र १४ गते नेपालगञ्जमा भएको थियो । त्यसबेला ३ सय ५० क्याम्पसकका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । तर, यो वर्ष विधानले तोकेको मापदण्ड नै नपुगेका समेत गरी ७ सय ५० वटा क्याम्पसको प्रतिनिधि सहभागी रहेकोले उनीहरूको विषयमा छानविन गर्नुपर्ने तर्क असन्तुष्ट पक्षको छ । उनीहरू पूर्णकालीन, करार या त हप्ताको १५ पिरियड कक्षा लिने र संघको साधारण सदस्य भएको तीन वर्ष नपुगी केन्द्रीय प्रतिनिधि बन्न नसक्ने विधानको व्यवस्था लत्याएर केही प्रतिनिधि छनोट गरिएको र १८ सय ६३ जना प्रतिनिधि भनिएपनि उनीहरू सबैको नामबाट बैंकमा पैसा पनि जम्मा नभएकोले छानविन आवश्यक रहेको दाबी पनि गर्छन् । यही विवादका कारण महाधिवेशन स्थगित हुदै आएको हो ।